मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

असारमा एकता महाधिवेशन गर्नेगरी सचिवालय बैठक बोलाउने तयारीमा नेकपा

बिहीबार, ०५ चैत २०८२, १६ : ००
बिहीबार, ०५ चैत २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले लज्जास्पद हार बेहोरेको छ, जसले सचिवालय बैठक बोलाउने तयारी गरेको छ।
  • माओवादी केन्द्रसहितका वामपन्थी घटकसँगको एकता र चुनावी नतिजाको समीक्षा गर्दै पार्टीले आगामी महाधिवेशनको तयारी गर्ने भएको छ।
  • पार्टी प्रवक्ताका अनुसार, चुनावमा पार्टीले खाएको धक्का, पार्टी रुपान्तरण र महाधिवेशनबारे निर्मम समीक्षा हुनेछ।

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।

अहिले नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध मुख्य घटक माओवादी केन्द्र एक्लैले २०७९ सालको निर्वाचनमा ३२ सिट जितेको थियो । नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकताका बाबजुद फागुन २१ मा भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी १७ सिट जितेर चौथो स्थानमा पुगेको छ ।

साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वामपन्थी घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । तर पार्टीले अनुमान गरे विपरीत चुनावी परिणाम आएपछि फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रारम्भिक समीक्षा गरेको  थियो ।

सातै प्रदेशका निर्वाचन परिचालन समितिका संयोजकसहित बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाप्रति देखिएको जनलहरका कारण पार्टीले धक्का खाएको निष्कर्ष सुनाएका थिए । यद्यपि पार्टीले जित्ने सुनिश्चित भएको स्थानमा पनि आफ्ना उम्मेदवार कसरी पराजित भए भन्ने सन्दर्भमा अर्को बैठकमा गम्भीर समीक्षा हुने नेता राजेन्द्र श्रेष्ठले बताएका थिए ।

यसै विषयमा समीक्षा गर्न एक÷दुई दिनमा सचिवालय बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘चुनावमा पार्टीले धक्का खाएको विषयमा गम्भीर समीक्षा गर्न एक/दुई दिनमा सचिवालय बैठक बस्दैछ । त्यस बैठकमा पार्टीले हरेक निर्वाचनमा किन धक्का खाँदै आयो ? योपटक पनि अघिल्लो जनमत किन जोगाउन सकेनौँ ? पार्टी रुपान्तरण, पुनर्गठन तथा विचारको संश्लेषणबारे निर्मम समीक्षा हुन्छ’, रातोपाटीसँग उनले भने ।

पार्टीलाई क्रियाशील तथा बलियो बनाउने सम्बन्धमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीबारे छलफल गर्ने सापकोटाले बताए । आगामी असारसम्म महाधिवेशन तयारी गर्नेबारे पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।

‘पार्टीलाई विचार संश्लेषण सहित पुनर्गठन र रुपान्तरण गरी बलियो बनाउनका लागि हामी महाधिवेशन गर्ने तयारीमा छौँ । सायद असारसम्म महाधिवेशन गर्नेगरी केन्द्रीय समिति बैठक बोलाउने तयारी सचिवालय बैठकले गर्छ’, सापकोटाले भने । 

अघिल्लो निर्वाचनको तुलनामा समानुपातिक मत केही खस्किए पनि प्रत्यक्षतर्फ निर्णायक सिट जित्ने नेकपाले दाबी गरेको थियो । माओवादी आधार क्षेत्रमा समेत पराजय भोगेको नेकपाले प्रत्यक्षमा ७ र समानुपातिकमा आठ लाग ११ हजार ५७७ मतसहित ९ सिट प्राप्त गर्‍यो । अघिल्लो निर्वाचनमा माओवादीले प्रत्यक्ष १८ र समानुपातिकमा ११ लाख ७५ हजार हाराहारी मतसहित १४ सिट जितेको थियो ।

२०६४ सालमा २२० सिट, २०७० सालमा ८० सिट, २०७४ सालमा ५३ सिट, २०७९ सालमा ३२ सिट जितेको माओवादी जनमतमा निरन्तर खस्किँदै गएको थियो । माओवादीले विभिन्न दलसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी नाम गरेको दल गठन गरी हालै सम्पन्न निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । यद्यपि योपटक प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेर पहिलो दल बन्दा नेकपाले इतिहासमै ठुलो धक्का खाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप