‘व्यापार विस्तार’ मा चीनको जोड
काठमाडाैँ । विश्वव्यापी व्यापारमा बढ्दो तनाव र संरक्षणवादी नीतिहरूबीच चीनले आफूलाई खुला अर्थतन्त्रको पक्षधरका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ‘व्यापार पाइ’ विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले आइतबार बेइजिङमा आयोजित एक उच्चस्तरीय मञ्चमा यस्तो धारणा राखेका हुन् ।
चीनको दोस्रो वरीयताका नेतासमेत रहेका उनले देशले उच्चस्तरीय खुलापनलाई निरन्तर अगाडि बढाउने, गुणस्तरीय विदेशी वस्तुहरूको आयात विस्तार गर्ने तथा सन्तुलित र समन्वित व्यापार वृद्धिका लागि अन्य देशहरूसँग सहकार्य गर्ने बताए । उनले विश्व अर्थतन्त्रलाई समग्र रूपमा ठूलो बनाउने दिशामा चीन तयार रहेको पनि स्पष्ट पारे।
ली किआङले वार्षिक चाइना डेभलपमेन्ट फोरमको उद्घाटन सत्रमा बोल्दै बढ्दो एकपक्षीयता र संरक्षणवादप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार यस्ता प्रवृत्तिहरूले विश्व व्यापारका चुनौतीहरू समाधान गर्ने प्रभावकारी माध्यम प्रदान गर्न सक्दैनन् र बरु जटिलता थप्छन्।
उक्त मञ्चमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकसहित विश्वका प्रमुख बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । यसले चीनसँगको आर्थिक सहकार्यप्रति अन्तर्राष्ट्रिय चासो कायमै रहेको सङ्केत गर्दछ।
चीनका प्रमुख व्यापारिक साझेदारहरूले पछिल्लो समय बेइजिङमाथि व्यापार अधिशेष घटाउन दबाब दिइरहेका छन् । यद्यपि यस वर्षको पहिलो दुई महिनामा चीनको व्यापार झन्डै पाँचौँ भागले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ, जसले पूर्वानुमानलाई समेत उछिनेको छ।
कोभिड–१९ महामारीपछि कमजोर बनेको आन्तरिक अर्थतन्त्रलाई पुनः सन्तुलनमा ल्याउने प्रयासमा रहेको चीनले विशेषगरी घरेलु उपभोग वृद्धि गर्न ध्यान केन्द्रित गरेको छ । यद्यपि, उपभोक्ता गतिविधिमा सुस्तता कायम रहेकाले निर्यात वृद्धिले अर्थतन्त्रलाई केही राहत दिएको छ।
यसैबिच अमेरिकासँगको व्यापारिक तनाव अझै कायम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहितका देशहरूमा कर लगाउने नीति अघि बढाएपछि गत वर्ष दुई देशबीच व्यापार युद्ध चर्किएको थियो, जसको प्रभाव अझै विश्व अर्थतन्त्रमा देखिन्छ।
मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न द्वन्द्वले पनि विश्व व्यापार र ऊर्जा सुरक्षामा असर पारिरहेको छ । विशेषगरी तेल आपूर्तिमा निर्भर चीनका लागि यो अवस्था थप संवेदनशील बनेको छ ।
ली किआङले अन्तर्राष्ट्रिय नियममा आधारित व्यापार प्रणाली अहिले शक्तिको राजनीति र अस्थिरताबाट प्रभावित भइरहेको उल्लेख गर्दै यसलाई सुदृढ बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।
यसअघि शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले एचएसबिसी, युबिएस, स्नाइडर इलेक्ट्रिक र स्ट्यान्डर्ड चार्टर्डजस्ता बहुराष्ट्रिय कम्पनीका वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै आर्थिक सहकार्यका विषयमा छलफल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण