मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
‘टक फर्वार्ड’मा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य

‘अहिलेको संविधानलाई जोगाउँदै यसभित्रका कमजोरी सुधार्ने अभिभारा अब हाम्रो’

‘रास्वपा न आत्तिएको छ, न मात्तिन्छ, केवल जिम्मेवारी बोध गरेको छ’
आइतबार, ०८ चैत २०८२, १८ : ३०
आइतबार, ०८ चैत २०८२

काठमाडौँ । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमतको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार निर्माणको गृहकार्यमा छ । यही चैत १३ गते बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । सरकारमा रास्वपाले कस्ता व्यक्तिलाई लैजाला भन्ने आम चासो पनि  उत्तिकै छ । 

रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताका लागि आउँदा निकै धपेडीमै देखिन्थे । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई भारी मतान्तर (२८ हजार बढी) हराएर विधायिकीको यात्रा तय गरेका आचार्य रास्वपाभित्र निकै शालीन र मृदुभाषी मानिन्छन् ।  

उनलाई सुरूमै सोधियो- निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेलजस्तो 'हेभिवेट' भनिएका नेतालाई निकै भारी मतान्तरले पराजित गर्नुभयो । सुरुमा यो क्षेत्र रोज्दा कत्तिको चुनौती महसुस गर्नुभएको थियो ?

उनको निकै अर्थपूर्ण जवाफ दिए- ‘मेरा लागि 'हेभिवेट' को मानक राजनीतिमा बिताएको वर्ष होइन । म जहिले पनि समाज वा देशमा कुनै व्यक्तिले पारेको प्रभाव (इम्प्याक्ट) लाई हेर्छु । त्यसैले अगाडि को हुनुहुन्छ भन्ने कुराले मलाई कहिल्यै प्रेसर दिएन ।‘

आचार्य अब देश 'कसरी जाला' भन्दा पनि 'कसरी लैजानुपर्छ' भन्नेमा केन्द्रित हुनुपर्ने धारणा राख्छन् । ‘हामी सबै समस्या र समाधान बुझेरै राजनीतिमा आएका हौँ । पाँच वर्षपछि जनताले हाम्रो कार्यकाललाई आर्थिक र सामाजिक सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मूल्याङ्कन गर्नेछन् ।‘

‘टक फर्वार्ड’मा आचार्यले सरकार गठनको गृहकार्य, देश हाँक्न पार्टीका योजना, जनताका अपेक्षादेखि आफू राजनीतिमा आउनुको कारण र पुराना दललाई सन्देश समेत सेयर गरेका छन् । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

तपाईंले निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेलजस्तो 'हेभिवेट' भनिएका नेतालाई निकै भारी मतान्तरले पराजित गर्नुभयो । सुरुमा यो क्षेत्र रोज्दा कत्तिको चुनौती महसुस गर्नुभएको थियो ?

मेरा लागि 'हेभिवेट' को मानक राजनीतिमा बिताएको वर्ष होइन । म जहिले पनि समाज वा देशमा कुनै व्यक्तिले पारेको प्रभाव (इम्प्याक्ट) लाई हेर्छु । त्यसैले अगाडि को हुनुहुन्छ भन्ने कुराले मलाई कहिल्यै प्रेसर दिएन । मेरो मुख्य चुनौती भनेको म सधैँ पर्दा पछाडि बसेर काम गर्ने मान्छे, एक्कासि 'फ्रन्ट' मा आउँदा हुने जटिलताहरू मात्र थिए । निर्वाचनको परिणामले के देखायो भने नागरिकहरूमा पुराना दलहरूप्रति चरम निराशा र परिवर्तनको तीव्र भोक थियो । 

Bipin Kumar Acharya

दाङ-२ का जनताले मलाई जुन माया दिनुभयो, त्यो मेरो व्यक्तिगत क्षमता र पार्टीले बोकेको एजेण्डाप्रतिको विश्वास हो । निर्वाचनअघि यति ठुलो मतान्तर होला भन्ने त सोचेको थिइनँ, तर जित्नेमा म विश्वस्त थिएँ ।

रास्वपाको यो अभूतपूर्व जितमा बालेन शाह (रास्वपा वरिष्ठ नेता, भावी प्रधानमन्त्रीका उम्मेदवार) को भूमिका कति छ ?

बालेन शाहले हाम्रो राजनीतिक यात्रामा ठुलो ऊर्जा थपिदिनुभएको कुरामा कुनै द्विविधा छैन । निर्वाचन चिह्न 'घण्टी' प्रति नागरिकको जुन अपनत्व देखियो, त्यसमा बालेन शाह र रवि लामिछानेको 'फ्युजन' एउटा ठुलो ट्रिगर पोइन्ट थियो । उहाँहरूको आगमनले एउटा राष्ट्रिय लहर सिर्जना गर्‍यो, जसले नागरिकलाई राजनीतिप्रति पुनः आश जगायो ।

जनताले त तपाईंहरूलाई जनादेशको ठुलो भारी बोकाइदिएका छन् । रास्वपा अबको जिम्मेवारीका लागि कत्तिको तयार छ ?

नागरिकले हामीलाई यति प्रष्ट म्यान्डेट दिएका छन् कि अब हामीले कुनै पनि बहाना बनाउन पाउने ठाउँ छैन । हिजोको जस्तो 'सङ्ख्या पुगेन', 'सामर्थ्य छैन' वा 'अरूसँग मिल्नुपर्‍यो' भन्ने छुट हामीलाई छैन । यो 'अनप्रिसिडेन्टेड' म्यान्डेट हो । हामीले सही कर्म गर्‍यौँ भने हाम्रो राजनीतिक यात्रा लामो हुनेछ, अन्यथा यो जनलहर खुम्चिन पनि समय लाग्दैन । अब हाम्रो परीक्षण सरकार सञ्चालन र डेलिभरीमा हुनेछ । रास्वपा न आत्तिएको छ, न मात्तिएको छ, हामीले केवल जिम्मेवारी बोध गरेका छौँ ।

संसदीय व्यवस्थामा प्रतिपक्ष बलियो हुनुपर्छ भनिन्छ, अहिले त विपक्षीहरू निकै खुम्चिएका छन् । यसबाट रास्वपा मात्तिने त होइन भनेर सचेत आवाज पनि जनमानसबाट सुनिन्छ नि ?

अहिलेको सबैभन्दा ठुलो प्रतिपक्ष भनेको नागरिक आफैँ हुन् । हाम्रो हरेक गतिविधिलाई नागरिकले नजिकबाट नियालिरहेका छन् । अब गफ गर्ने समय सकियो, काम गर्ने समय सुरु भयो । हाम्रो बाचापत्र र व्यवहारबिचको दूरी जति कम हुन्छ, त्यति नै जनताको विश्वास कायम रहन्छ । पुराना पार्टीहरू खुम्चिनुको अर्थ हामी मात्रै सर्वोत्कृष्ट भएर होइन, जनता उनीहरूबाट थाकेकाले पनि हो । त्यसैले हामीले आफूलाई सुधार्दै जानुको विकल्प छैन ।

हालै ललितपुरको ग्वार्कोमा भएको अभिमुखीकरण कार्यक्रममा बालेन शाह उपस्थित नहुँदा विभिन्न 'कन्सपिरेसी थ्योरी' हरू भनौं वा अड्कलबाजीहरू चले । वास्तविकता के हो ?

यसमा कुनै शङ्का पाल्नुपर्ने कारण छैन । उहाँको स्वास्थ्यले साथ नदिएका कारण उपस्थित हुन नसक्नुभएको हो । हाम्रो समाजमा केही भएन भने तुरुन्तै नकारात्मक हल्ला फैलाउने चलन छ । तर त्यो पूर्णतः स्वास्थ्य समस्या मात्रै थियो । हाम्रो पार्टीमा कुनै गुटबन्दी वा असमझदारी छैन ।

सभापति रवि लामिछानेले सन्तुलित र निकै व्यावहारिक भाषण अभिमुखीकरणमा गर्नुभयो भनेर प्रशंसा पनि भएको छ । त्यस क्रममा उहाँले 'गुटमा नलाग्न' पार्टी पंक्तिलाई निर्देशन नै दिनुभयो । यसको अर्थ चाहिँ कसरी लगाउने ? 

होइन, यो केवल एउटा प्रिकाउसनरी (पूर्वसतर्कता) टोन मात्र हो । इतिहासबाट पाठ सिक्दै हामीले पुराना पार्टीहरूमा देखिएका विकृतिहरू यहाँ नदोहोरिऊन् भन्ने चाहेका हौँ । अभिभावकका रूपमा उहाँले सांसदहरूलाई संयमित र अनुशासित हुन निर्देशन दिनुभएको हो ।

Bipin Kumar Acharya1

हाम्रा सांसदहरूले बोल्ने शब्दको ग्राभिटी धेरै हुन्छ, त्यसैले हामी हलुका हुनुहुँदैन भन्ने उहाँको आशय हो ।

अहिले रास्वपा सरकार गठनको गृहकार्यमा छ । अब बन्ने मन्त्रिपरिषद् कस्तो हुन्छ ? संसद् बाहिरका विज्ञहरू पनि आउने सम्भावना छ ?

हाम्रो मुख्य मानक भनेको 'मेरिटोक्रेसी' (योग्यताप्रणाली) हुनेछ । मन्त्रालय सञ्चालनका लागि सबैभन्दा अब्बल व्यक्ति नै अगाडि आउनेछन् । जहाँसम्म बाहिरका विज्ञहरूको कुरा छ, हाम्रो बाचापत्रमा त्यो उल्लेख भए पनि अहिलेको सन्दर्भमा निर्वाचित १८२ जना सांसदभित्रैबाट सरकार बन्ने सम्भावना प्रबल छ । हामी यस्तो क्याबिनेट बनाउन चाहन्छौँ, जसले नागरिकलाई 'सरकार साँच्चै परिवर्तन भएछ' भन्ने अनुभूति गराओस् ।

रास्वपाले बाचापत्रमा राखेको एउटा महत्त्वपूर्ण कुरा छ- प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जानका लागि शासकीय स्वरूप परिवर्तनका लागि बहस चलाउने । अब यही मिश्रित निर्वाचन प्रणालीबाटै दुईतिहाइ आएपछि पुरानो भाष्य त तोडियो नि होइन ? अब यो बहस सान्दर्भिक होला कि नहोला ? 

यसबारे टिप्पणी गर्न अहिले नै हतार हुन्छ । तर हाम्रो प्राथमिकता अहिले अवस्था परिवर्तनमै हुनेछ । सामान्य नागरिकका लागि देश सही दिशामा छ कि छैन भन्ने कुरा उसको भान्सा कति सहज छ भन्नेमा निर्भर गर्छ । हामीले म्याक्रो फ्याक्टर भन्दा पनि जनताको दैनिक जनजीविकामा सुधार ल्याउनु छ । बहुमत प्राप्त भइसकेको अवस्थामा अब डेलिभरी नै मुख्य एजेण्डा हो ।

संघीयता र प्रदेश संरचनाबारे रास्वपाको धारणा प्रष्ट छैन भनिन्छ । चुनावले केही प्रष्ट पार्ने कोसिस गरेको हो ?

हामी संघीयताको विपक्षमा कहिल्यै थिएनौँ । हाम्रो प्रश्न प्रदेशसभाको संरचना र यसको खर्चिलो कार्यशैलीमाथि मात्रै हो । प्रदेशसभाहरू नेता व्यवस्थापन गर्ने 'डम्पिङ साइट' हुनुहुँदैन भन्ने हाम्रो अडान हो । अहिलेको संविधानलाई जोगाउँदै यसभित्रका कमजोरी सुधार्ने जिम्मा हाम्रो हो । पहिला नागरिकको अवस्था सुधार्ने, आर्थिक सूचकहरूलाई माथि लैजाने र त्यसपछि मात्रै संवैधानिक संरचनाबारे गम्भीर बहस गर्ने हाम्रो बाटो हुनेछ ।

तपाईं बायोटेक इन्जिनियर, टेलिभिजनमा काम गरेको मान्छे, एक्कासि राजनीतिमा कसरी होमिनुभयो ?

मेरो जीवनमा दुईटा कुरा महत्त्वपूर्ण छन्- क्रिएटिभ एबिलिटी र रिस्क टेकिङ । देशको बेथिति देख्दा हरेक नागरिकलाई 'यो चिज भत्काऊँ' भन्ने लाग्छ । मसँग दुईटा विकल्प थिए– नेतालाई गाली गरेर बस्ने वा आफैँ नेता बनेर परिवर्तन गर्ने । मैले दोस्रो विकल्प रोजेँ । राजनीति मेरो लागि रुचि भन्दा पनि बाध्यता (कम्पल्सन) हो । हामी यस्तो राजनीति गर्न चाहन्छौँ कि भोलि अर्को कोही विज्ञ वा युवाले बाध्य भएर राजनीतिमा आउनु नपरोस् ।

राजनीति पेसा होइन, सेवा हो तर अहिलेसम्म पेसा जस्तै बनिरह्यो । जीवन पनि चलाउनुपर्‍यो होला । तपाईंहरूले राजनीतिलाई पेसाबाट सेवामा कसरी रूपान्तरण गर्नुहुन्छ ?

जुन दिन राजनीति पेसा बन्छ, त्यो दिन राजनीति विकृत हुन्छ । राजनीति सेवा नै हुनुपर्छ । मेरो जीवन मेरो गैरराजनीतिक कर्मले चल्नुपर्छ ।

Bipin Kumar Acharya2

जब म राजनीतिलाई जीवनस्तर सुधार्ने माध्यम बनाउँछु, तब म भ्रष्ट हुन्छु । त्यसैले हामीले राजनीतिलाई 'सर्भिस' कै रूपमा लिएका छौँ ।

रास्वपाका कतिपय सांसदहरूले तलब-सुविधा नलिने घोषणा गरेका छन्, यसलाई 'स्टन्ट' मान्न सकिन्छ कि सकिँदैन ?

कुनै व्यक्तिले राज्यको सुविधा नलिई ‘कन्ट्रीब्युट’ गर्छु भन्छ भने त्यसलाई नकारात्मक रूपमा हेर्नु हुँदैन । धेरै साथीहरू आफ्नो क्षेत्रमा सफल र आर्थिक रूपमा स्टेबल हुनुहुन्छ । यदि कसैले आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउँछु भन्छ भने त्यो उसको व्यक्तिगत इच्छा हो । मुख्य कुरा पारदर्शिता हो- 'सोर्स अफ इन्कम' प्रष्ट हुनुपर्छ ।

अब देश कसरी अगाडि जाला ? नागरिकका अपेक्षा कसरी पूरा होलान् ?

अब देश 'कसरी जाला' भन्दा पनि 'कसरी लैजानुपर्छ' भन्नेमा हामी केन्द्रित हुनुपर्छ । हामीले कोसिस गर्दैछौँ भनेर उम्किन पाउने ठाउँ छैन । हामी सबै समस्या र समाधान बुझेरै राजनीतिमा आएका हौँ । पाँच वर्षपछि जनताले हाम्रो कार्यकाललाई आर्थिक र सामाजिक सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मूल्याङ्कन गर्नेछन् ।

प्रतिपक्षमा रहेका दलहरूलाई पनि मेरो आग्रह छ– उहाँहरू सुसंस्कृत र बलियो बनिदिनुहोस् । हामीलाई तथ्यमा आधारित प्रश्नहरू सोध्नुहोस् । प्रतिपक्ष बलियो हुँदा मात्रै हामी पनि सही बाटोमा हिँड्न बाध्य हुन्छौँ । अर्को निर्वाचनमा नागरिकले 'सही र गलत' बिच होइन, 'अब्बल र अझ अब्बल' उम्मेदवारबिच छान्न पाउने वातावरण बनोस् । यसबाट नै हाम्रो लोकतन्त्रको जित हुनेछ ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप