शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ह्युस्टनको घरमा खस्यो उल्कापिण्डको टुक्रा

सोमबार, ०९ चैत २०८२, ११ : ५७
सोमबार, ०९ चैत २०८२

सारांश

  • ह्युस्टन, टेक्सासमा एउटा शंकास्पद उल्कापिण्ड घरमा खसेको छ, जसले छतमा क्षति पुर्‍यायो।
  • उल्कापिण्ड आकाशमा विस्फोट भएपछि टुक्रा घरमा खसेको र नासाले यसलाई पुष्टि गरेको छ।
  • यो घटना ह्युस्टनमा भएको हो, यसअघि ओहायो र सन् २०२५ मा एटलान्टामा पनि यस्तै घटना भएका थिए।

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहर नजिकै शनिबार राति एउटा शंकास्पद उल्कापिण्ड घरभित्र खसेको छ। तीव्र गतिमा आएको सो आगोको गोला आकाशमा विस्फोट भएपछि त्यसको एउटा टुक्राले स्थानीय एक घरको छतमा क्षति पुर्‍याएको हो।

ह्युस्टनको स्प्रिङ क्षेत्रकी बासिन्दा शेरी जेम्सका अनुसार उनका नातिले छतमा प्वाल परेको देखेपछि मात्रै घटनाबारे थाहा भएको थियो। ‘नातिले छतमा प्वाल परेको देख्यो, त्यसपछि मैले त्यहाँ एउटा ढुङ्गा देखेँ, जुन हेर्दा उल्कापिण्ड जस्तै देखिन्थ्यो,’ जेम्सले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्। 

सुरुमा दमकल विभागले सो वस्तु विमानबाट खसेको हुनसक्ने अनुमान गरे पनि पछि नासाले त्यसलाई उल्कापिण्ड भएको पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार स्थानीय समय अनुसार शनिबार अपराह्न ४:४० बजे आकाशमा चम्किलो आगोको गोला देखिएको थियो। 

करिब १ टन तौल र ३ फिट व्यास भएको उक्त उल्कापिण्ड ह्युस्टनको उत्तर–पश्चिममा पर्ने स्टेजकोच भन्दा ४९ माइल माथि देखिएको थियो। यो ३५ हजार माइल प्रतिघन्टाको अत्यधिक गतिमा दक्षिण–पूर्वतर्फ बढ्दै गर्दा जमिनभन्दा २९ माइल माथि आकाशमै टुक्राटुक्रा भएको थियो।

उल्कापिण्ड विष्फोट हुँदा निस्किएको चापका कारण सो क्षेत्रमा मेघगर्जन जस्तो ठूलो आवाज सुनिएको थियो। स्थानीय बासिन्दा वेन्डी क्यामार्डेल हेप्नरले आकाश सफा भए पनि मेघगर्जन जस्तै ठूलो आवाज सुनेको बताइन्। 

डपलर मौसम राडारले पनि विलोब्रुक र नर्थगेट क्रसिङ क्षेत्रमा उल्कापिण्डका टुक्राहरू खसेको संकेत गरेको छ। ह्युस्टनमा भएको यो घटनाभन्दा केही दिनअघि मात्र ओहायोमा पनि यस्तै एउटा विशाल उल्कापिण्ड देखिएको थियो, जसको आवाज पेन्सिलभेनियासम्म सुनिएको थियो। 

पछिल्लो समय यस्ता आकाशीय पिण्डहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने र जमिनसम्म आइपुग्ने क्रम बढ्दो देखिएको छ। यसअघि सन् २०२५ को अगस्टमा पनि एउटा सानो उल्कापिण्डले एटलान्टाको एउटा घरमा क्षति पुर्‍याएको थियो, जुन ४.५६ अर्ब वर्ष पुरानो भएको पुष्टि भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप