बार एसोसिएसनका अध्यक्ष मिश्रको अभिव्यक्तिप्रति मञ्चको ध्यानाकर्षण
सारांश
- स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनका अध्यक्षको अभिव्यक्तिप्रति आपत्ति जनायो।
- मञ्चले अध्यक्ष मिश्रको 'दुई तिहाइको सरकारसँग पोजिसन लिन्छौँ' भन्ने अभिव्यक्ति संविधान विपरीत रहेको ठहर गर्यो।
- मञ्चले बार अध्यक्षलाई संविधान र विधानको सीमाभित्र रहन सचेत गराउँदै जनमतको सम्मान गर्न आग्रह गरेको छ।
काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा.विजयप्रसाद मिश्रको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको छ ।
मञ्चले विज्ञप्ति जारी गर्दै गत चैत ७ गते भक्तपुरमा आयोजित ३३औँ कानुन व्यवसायी महिला सम्मेलनका क्रममा अध्यक्ष मिश्रले दिएको अभिव्यक्ति संविधान र जनमतको भावना विपरीत रहेको ठहर गरेको छ । सम्मेलनमा अध्यक्ष मिश्रले ‘दुई तिहाइको सरकारसँग पोजिसन लिन्छौँ’ भनी दिएको अभिव्यक्तिप्रति मञ्चले असन्तुष्टि जनाएको हो ।
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले निर्दिष्ट गरेको जनतामा निहित सार्वभौम सत्ताको सिद्धान्त र संविधानवादको मूल मर्म तथा नेपाल बार एसोसिएसनको विधान विपरीत ‘दुई तिहाइको सरकारसँग पोजिसन लिन्छौँ’ भन्ने जस्ता धम्कीपूर्ण अभिव्यक्तिले सार्वभौम नेपाली नागरिकलाई मर्माहत बनाउनुका साथै जनमतको मानमर्दन भएको प्रस्ट छ ।’
मञ्चले नेपाल बारका अध्यक्षलाई संविधानको धारा १२९ मा उल्लेखित प्रधानन्यायाधीश तथा न्यायाधीश नियुक्तिको व्यवस्था, नेपाल बार एसोसिएसनको विधान र आफ्नो हैसियतको सीमाभित्र रहन सचेत गराएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिकृष्ण कार्कीको समितिले तयार पारेको प्रतिवेदन र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित न्यायालय पुनर्संरचना समितिको प्रतिवेदनलाई स्मरण गराउँदै उक्त प्रतिवेदनहरू नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलनबाट अनुमोदन भइसकेको तर्फ समेत अध्यक्षको ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण