सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिजनल भिसामा विदेश जान खोज्नेसँग रकम माग्ने ट्राभल्सका सञ्चालक पक्राउ

बिहीबार, १२ चैत २०८२, १५ : ४३
बिहीबार, १२ चैत २०८२

सारांश

  • अध्यागमन विभागले सिजनल भिसामा विदेश पठाउने भन्दै रकम असुल्ने ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा लमजुङ घर भएका केएनसी इन्टरनेशनल प्रालिका सञ्चालक जगत गुरुङ छन्, जसले सेटिङ मिलाउन रकम मागेका थिए।
  • गुरुङले विदेश जान लागेका व्यक्तिहरूसँग नगद सहित १ लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन्।

काठमाडौँ । सिजनल भिसामा विदेश जान लागेकाहरूसँग रकम माग्ने ट्राभल्सका सञ्चालकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर लाजिम्पाट स्थित केएनसी इन्टरनेशनल प्रालि ट्राभल्सका सञ्चालक जगत गुरुङ छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा गुरुङलाई लाजिम्पाटबाट पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । सिजनल भिसामा विदेश जान खोजेका दम्पतीसँग उनले ‘अध्यागमनमा सेटिङ मिलाउनुपर्छ’ भनेर १ लाख १० हजार रुपैयाँ मागेको आरोप छ । गुरुङले विदेश जान खोजेकाहरूसँग लिएको अवस्थामा १ लाख नगद पनि बरामद गरिएको निर्देशक ढकालले बताए । उनले भने, ‘नगद सहित पक्राउ गरेका छौँ ।’

दक्षिण कोरियामा कृषि क्षेत्रमा ६ देखी ८ महिना काम गर्न सिजनल भिसामा जानेहरूले श्रम स्वीकृति लिनु पर्दैन । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पनि त्यस्तो भिसा भएकाहरूलाई सहजै प्रस्थान अनुमति दिने गरेको ढकालले बताए ।

तर, आरोपीले उनीहरूलाई रकम बुझाएपछि मात्रै श्रम स्वीकृति पाइने र अध्यागमन डेस्कमा पनि रकम बुझाउने पर्ने भन्दै रकम मागेको आरोप छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीलाई जिम्मा लगाइने निर्देशक ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप