सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
संस्मरणमा असार ८

जब आँखै अगाडि ११ जनकलाकारको हत्या भयो

सोमबार, ०८ असार २०८३, १३ : ००
सोमबार, ०८ असार २०८३

सारांश

  • २०५६ असार ८ गते रोल्पाको बाङमामा प्रहरीले ११ जनकलाकारको सामूहिक हत्या गरेको थियो ।
  • घटनास्थलका प्रत्यक्षदर्शीले प्रहरीले घेरा हालेर कलाकारहरूलाई लाइन लगाएर गोली हानी शव जलाएको देखेका थिए ।
  • यो घटना माओवादी जनयुद्धको सबैभन्दा ठूलो सामूहिक हत्याकाण्ड थियो, जसको सम्झनामा हाल बाङमामा स्मारक बनेको छ ।

२०५६ असार ८ गते । रोल्पाको माडी–५ बाङमामा प्रहरीबाट ११ जनकलाकारको सामूहिक हत्या भयो । १२ वर्षको हुँदा मेरै आँखाअघि घटेको ‘बाङमा हत्याकाण्ड’लाई २७ वर्षपछि पुनः नियाल्ने प्रयास गर्दा आँखै रसाए ।

बाल्यकालमा गाउँमा मसाने, सेउरे र राँके भूतको निकै चर्चा हुन्थ्यो । तिनीहरू डाँडाकाँडा र चिहानमाथि बढी नाच्ने विश्वास गरिन्थ्यो । ‘देख्यौँ’ भन्नेहरू भन्थे, ‘लामो–लामो लाइन बनाएर आगोको लप्कासहित एकछिन नाच्यो र अलप भयो ।’

साँझ खाना नपाक्दै सुत्ने बानी थियो मेरो । एक साँझ आमाले मलाई ब्युँझाउँदै भनिन्, ‘उठ मनु । ऊ पारि सिमा राङ्सीतिर हेर त, के नाचिरहेको छ ।’

‘मनु’ मलाई आमाले बोलाउने नाम हो ।

निद्राले भारी भएका आँखा मिच्दै उठेँ र घरको बरन्डामा निस्किएँ । बाउ, आमा र हामी सबैको नजर सिमा राङ्सीको डाँडातिर पुग्यो । अँध्यारो डाँडामाथि लामो राँको बलिरहेको देखिन्थ्यो । त्यो बिस्तारै झन् लामो हुँदै गयो र केही अस्पष्ट आवाज पनि सुनियो । अनि त्यो एकाएक लोप भयो ।

मैले पनि मसाने, सेउरे र राँके भूत नाचेको देखेँ । ‘भूतले खान्छ है !’ भन्दै हामी बच्चालाई तर्साइन्थ्यो ।

केही समयपछि त्यस्ता राँकोसँगै बन्दुकका आवाज पनि सुनिन थाले । कहिलेकाहीँ त बम पड्किएको आवाजले रातको सन्नाटा नै चिथर्थ्यो ।

बिस्तारै थाहा भयो, हामीले मसाने ठानेको त्यो दृश्य वास्तवमा नेकपा (माओवादी)ले निकालेको राँके जुलुस रहेछ ।

त्यसपछि हाम्रो गाउँबाट बोक्सी, मसाने र सेउरे हराए । उनीहरू फेरि कहिल्यै नाचेनन् । बरु रातका डाँडाहरूमा माओवादीका राँके जुलुस र गणतन्त्रका नारा गुञ्जिन थाले– बन्दुकको आवाज र बमको धुवाँबिच ।

०००

त्यस्तै नौ/दश वर्षको हुँदो हुँ । काउ कमाउनका लागि काठमाडौं वा भारत जाँदा म माजीको साथी बस्न उनको घरमा जान्थेँ । हाम्रो घरबाट पाँच मिनेट उकालो हिँडेपछि त्यहाँ पुगिन्थ्यो ।

एक साँझ हामी खाना खाएर सुत्ने तरखरमा थियौँ । काँधमा बन्दुक बोकेका र रुमालले मुख छोपेका दुईजना मानिस घरभित्र छिरे ।

‘हामी माओवादी हौँ । तल गाउँमा कार्यक्रम छ । हिँड्नुस्, जाऔँ,’ आवाज चिनेजस्तो लाग्थ्यो । तर बन्दुक देखेपछि चिन्ने–नचिन्ने कुरा गौण भयो र शरीर काँप्न थाल्यो ।

जनता दुई शक्तिबिच थिए । दिनमा प्रहरी त्रास बोकेर आउँथे भने रातमा माओवादीहरू आएर क्रान्ति, मुक्ति र परिवर्तनका कुरा गर्थे ।

रातको जुनको उज्यालोमा हामी अघि–अघि र उनीहरू पछि–पछि गर्दै ओरालो झर्यौँ । गाउँलेहरू हामीसँगै थपिँदै गए । गाउँको बिच भागमा पुग्यौँ । मध्यरातसम्म त्यहाँ माओवादीहरूको कार्यक्रम चल्यो । भाषणमा के–के भनियो, त्यत्ति सम्झना छैन । तर ‘हामी जनताको सत्ता स्थापनाका लागि लडिरहेका छौँ’ भन्ने वाक्य अझै सम्झनामा छ ।

धेरैपछि थाहा भयो, त्यस रात ‘हामी माओवादी हौँ’ भन्ने त हाम्रै मामाहरू पो रहेछन् ।

रातमा माओवादीका कार्यक्रम र मसाल जुलुस गाउँको नियमित दृश्यजस्तै बनेका थिए । बिस्तारै अभ्यस्त हुन थालेका थियौँ ।

उता प्रहरीहरू दिउँसो गस्तीमा आउँथे, घर–घर खानतलासी गर्थे । बारीका तरकारी र फलफूल टिपेर लैजान्थे, कुखुरा भेटे समातेर लैजान्थे । माओवादी देखिस् भन्दै एक–दुई झापड हान्थे ।

जनता दुई शक्तिबिच थिए । दिनमा प्रहरी त्रास बोकेर आउँथे भने रातमा माओवादीहरू आएर क्रान्ति, मुक्ति र परिवर्तनका कुरा गर्थे । बिस्तारै गाउँलेहरूको मन दिनको राज्यभन्दा रातका विद्रोहीतिर ढल्कँदै गइरहेको थियो ।

०००

२०५६ असार ८ गते । गुर्सी भन्ने टोलमा रहेको पाखोबारीको मकै ढलाउने भएकाले म त्यो दिन स्कुल गइनँ ।

पिउने पानीका लागि घरनजिकै कुवा थियो । कुवाभन्दा नजिक सरकारले बनाइदिएको खानेपानीको धारो थियो, तर त्यहाँ पानी आउन छोडिसकेको थियो ।

आमाले मलाई पानी ल्याउन पठाइन् । गाग्रो बोकेर कुवातिर जाँदै गर्दा त्यही पानी नआउने धारोमा एकजना मानिस बसिरहेको देखेँ । उनको हातमा सानो डल्लोजस्तो वस्तु थियो । ती मानिस को थिए र उनको हातमा भएको डल्लो के थियो ?

कौतूहलका साथ पानी भरेँ र घर फर्किएँ ।

हामी डाँडामा भएकाले प्रहरीले घर घेरेको दृश्य प्रस्ट देखिन्थ्यो । घरभित्रबाट धुवाँ उडेजस्तो पनि देखिन्थ्यो ।

अर्नी खाएर बाउ, आमा, दिदी र म मकै गोड्न उकालो चढ्यौँ । बारीसम्म पुग्न पन्ध्र मिनेटजति लाग्थ्यो । असारको छिप्पिएको घाम टाउकोमाथि थियो । त्यो चर्को घाममा मकै गोडमेल गर्ने हाम्रो दिनचर्या थियो ।

०००

बिहानको साढे दस बजेको हुँदो हो । हामी एउटा मेलो बिट मार्दै थियौँ । अचानक ड्याम्म–ड्याम्मको आवाज सुनियो । त्यसपछि यति बन्दुकको आवाज आउन थाल्यो कि हामी सबैको होसहवास उडेजस्तो भयो । मेलो अधुरै छाडेर हामी गोठभित्र छिर्यौँ ।

‘कहाँ हो यसरी पड्किरहेको ?’

आवाज नजिकैबाट आएजस्तो लाग्थ्यो, तर ठम्याउन गाह्रो थियो । हाम्रो घरमुन्तिरको बस्तीबाट भएजस्तो सुनिन्थ्यो ।

बाउ कहाँनेरबाट आवाज आइरहेको हो भनेर सुन्दै र हेर्दै थिए ।

केही समयपछि थाहा भयो– मुख्यको घरलाई प्रहरीले घेरा हालिसकेछ । हाम्रो घरदेखि करिब पाँच सय मिटर तल थियो मुख्यको घर ।

1

हामी डाँडामा भएकाले प्रहरीले घर घेरेको दृश्य प्रस्ट देखिन्थ्यो । घरभित्रबाट धुवाँ उडेजस्तो पनि देखिन्थ्यो ।

केही समयपछि आएको हेलिकोप्टरले ओरालेका प्रहरीहरू हाम्रै अगाडि देखिए । हामीलाई पनि मार्ने भए भनेर हामी थरथर भयौँ । तर, उनीहरू कान्ला नाघ्दै, हाम फाल्दै ओरालोतिर दौडिन थाले । पारि राङ्सीको हमधारास्थित चौकीबाट पनि प्रहरीहरू हाम फाल्दै त्यतैतिर गएको देखिन्थ्यो । घर्तीगाउँबाट पनि प्रहरीहरू थपिए ।

प्रहरीहरूको राइफलका आवाज झन् बढिरहेका थिए । बन्दुक र बमका विस्फोट कहिलेकाहीँ स्पष्ट सुनिन्थे । हामीले यस्तो आवाज कहिल्यै सुनेका थिएनौँ । त्यति धेरै प्रहरी कहिल्यै देखेका थिएनौँ ।

‘गाउँमा ठूलो घटना घट्यो’, बा र अन्य ठूलाबडाहरू गहिरो चिन्ता व्यक्त गरिरहेका थिए ।

बिहानसम्म शान्त देखिएको सिङ्गो गाउँ युद्धमैदानमा परिणत भइसकेको थियो । सोझा मानिसहरूको बस्ती मानिने बाङमा गाउँमा झैझगडासमेत कम हुने सुनिन्थ्यो ।

हाम्रो घरमा रहेका वृद्ध बज्यै र दुई साना नानी के गरिरहेका होलान् ?

बेलाबेलामा बम पड्केजस्तो आवाज आउँथ्यो । सायद भित्रबाट प्रतिरोधको प्रयास भइरहेको थियो ।

बा–आमालाई त्यसको पनि चिन्ता थियो ।

मकै गोडिरहेका छिमेकीहरूले मेलो छाडिसकेका थिए । दिउँसोको घाममा गाईभैँसीलाई ‘भोङ’मा राख्ने चलन थियो, तर त्यो दिन टन्टलापुर घाममा पनि सबैका गाईभैँसी बाहिरै देखिन्थे ।

०००

निश्चित थियो– मुख्यको घरमा माओवादीहरू छन् र तिनलाई मार्न प्रहरीले चारैतिरबाट घेरेर आक्रमण गरिरहेको छ ।

प्रहरीले आक्रमण थालेको करिब दुई घण्टा भइसकेको थियो होला । केही छिमेकीहरू हाम्रो गोठमा आइपुगे ।

‘यो के आइलाग्यो ?’ भन्दै हाम्रा बाउ–आमासहित सुस्केरा हाल्थे । फैलँदै गरेको माओवादीले अब यो गाउँमा कस्तो कदम चाल्छन् भन्ने चिन्ता थपिँदै थियो ।

बेलाबेलामा बम पड्केजस्तो आवाज आउँथ्यो । सायद भित्रबाट प्रतिरोधको प्रयास भइरहेको थियो । कहिलेकाहीँ चिच्याएजस्तो आवाज पनि आउँथ्यो, सायद गोलीले कोही ढलिरहेका थिए ।

असारको घामले त्यसै पनि पसिना निकाल्थ्यो । त्यसमाथि लगातारको गोलीबारी र विस्फोटका आवाजले हामी सबै त्रसित थियौँ । पसिनाले शरीर भिजेको थियो ।

दिउँसो पाँच बजेतिर बम र बन्दुकका आवाज केही मत्थर हुन थाले । त्यहाँ के भयो होला भन्ने जिज्ञासा र चिन्ताले सबैको छटपटी बढाइरहेको थियो ।

त्यतिकैमा घरभित्रबाट केही मानिसलाई निकालिएको जस्तो देखियो । लगत्तै राइफलको आवाज आयो । करेसामा कोही ढलेजस्तो देखियो । भित्रबाट निकालिएकाहरूलाई लाइन लगाएर गोली हानिएको जस्तो लाग्थ्यो ।

करिब आठ घण्टापछि साँझतिर बम र बन्दुकका आवाज पूर्ण रूपमा रोकिए ।

हाम्रो एकोहोरो हेराइ मुख्यको घरतिरै थियो । प्रहरीले घरभित्र प्रवेश गरेर शवहरू निकालिरहेको हेर्न विवश थियौँ । ती शवहरू तान्दै ढिकमुनिको बारीमा थुपार्दै थिए । आठ–नौवटा शव देखिएजस्तो लाग्थ्यो । तर वास्तवमा त्यहाँ कति मानिस थिए, कतिले भागेर ज्यान जोगाए, कति घाइते भए र कति मारिए– कसैलाई यकिन थिएन ।

केही बेरपछि प्रहरीहरूले त्यही घरमा थुपारिएका सल्लाका दाउरा बोकेर तल लगे । लगत्तै धुवाँ उठ्न थाल्यो । शव डढाए ।

‘अब के हुने हो ?’ भन्ने चिन्ताले धेरैलाई सताइरहेको थियो । हामीलाई स्कुल कहिले जाने भन्ने चिन्ता थियो ।

केही समयपछि फेरि हेलिकोप्टर आयो । त्यसमा प्रहरीहरू चढे र फर्किए ।

साँझपख हामी घरतिर झर्यौँ । घर पुग्दा बज्यै र बहिनीहरू त्रासमा थिए । प्रहरी आएर ‘ढोका लगाऊ, नत्र मर्छौ’ भन्दै बाहिर निस्किन नदिएको रहेछ । बस्तुभाउ त जहाँ बाँधियो त्यहीँ रहने नै भए, बिना घाँसपानी ।

छिमेकमै भएको त्यो भयानक घटनाले गाउँ स्तब्ध थियो । गाउँ शोकमा थियो । मानिसको त के पशुको पनि आवाज निस्किएको सुनिँदैनथ्यो । चराहरू चिरबिर गर्न छाडेका थिए ।

राइफलको आवाज, हेलिकोप्टर उडान र मानिसको चिच्याहट रोकिएको थियो– प्रतिध्वनि बाँकी थियो । तर, मनमा डर र त्रास झन् बढिरहेको थियो ।

‘अब के हुने हो ?’ भन्ने चिन्ताले धेरैलाई सताइरहेको थियो । हामीलाई स्कुल कहिले जाने भन्ने चिन्ता थियो ।

०००

गाउँ अझै त्रासबाट ब्युँझिन सकेको थिएन । स्कुल खुलेको थिएन । म भर्खरै कक्षा ६ मा भर्ना भएको थिएँ । एक घण्टा हिँडेर पुग्नुपर्ने त्यो स्कुलमा पनि गएको थिइनँ ।

भोलिपल्ट हो वा पर्सिपल्ट, ठ्याक्कै याद छैन । प्रहरी फेरि गाउँमा आयो । गाउँका सबै पुरुषहरूलाई भेला गरायो र मुख्यको घरतिर लग्यो । हाम्रा बाउ पनि गए ।

गाउँभरि त्रास झन् फैलियो ।

पछि त्यहाँबाट फर्किएकाहरूले भने– प्रहरीले गाउँलेहरूलाई नै ठूलो–ठूलो खाल्डो खन्न लगायो । त्यस खाल्डोमा शवहरू राख्दै जाँदा सङ्ख्या ११ पुगेछ ।

त्यसपछि मात्रै हामीले थाहा पायौँ– त्यो कहालीलाग्दो घटनामा प्रहरीले ११ जनाको हत्या गरेको रहेछ ।

धेरैपछि मात्रै मैले त्यो बाटो हिँड्ने साहस जुटाएँ, तर त्यो ठाउँ देख्दा मनमा उठ्ने चिसो अनुभूति भने कहिल्यै हराएन ।

हामी त्यो हत्याको दृश्य र आवाजका असहाय दर्शक मात्र थियौँ ।

करिब एक सातापछि गाउँमा केही अपरिचित मानिसहरू देखिए । उनीहरू ती ११ जनालाई गाडिएको ठाउँमा पुगेछन् र हँसिया–हथौडा अङ्कित झन्डा गाडेर फर्किएछन् । सायद उनीहरू माओवादी कार्यकर्ता थिए । आफ्ना सहयोद्धाहरूको सहादतमा श्रद्धाञ्जलि अर्पण गर्न आएका हुनुपर्छ ।

म स्कुल जाँदा त्यही बाटो हिँड्नुपथ्र्यो, जहाँ ११ जनाको सामूहिक चिहान थियो । हरेक पटक त्यो ठाउँ नजिकिँदा मनमा अनौठो डर जाग्थ्यो ।

ती चिहानमुनि ११ जना सुतिरहेका होलान् लाग्थ्यो । त्यो ठाउँ हेर्दा पनि बन्दुकका आवाज, हेलिकोप्टरको गडगडाहट र त्यो दिनको त्रास फर्किन्थ्यो र शरीर काँप्लाजस्तो हुन्थ्यो । बालमनले त्यो बाटो जान धेरै समयसम्म मान्दै मानेन ।

धेरैपछि मात्रै मैले त्यो बाटो हिँड्ने साहस जुटाएँ, तर त्यो ठाउँ देख्दा मनमा उठ्ने चिसो अनुभूति भने कहिल्यै हराएन ।

०००

स्थिति सामान्य हुँदै जाँदा बिस्तारै घटनाका पाटा पनि खुल्दै गए ।

त्यहाँ त एरिया कलाकारहरूको हत्या भएको रहेछ । त्यो माओवादी जनयुद्ध सुरु भएयताको सबैभन्दा ठूलो सामूहिक हत्याकाण्ड रहेछ ।

ती जनकलाकार, जसले क्रान्तिको बिगुल फुक्दै गाउँबस्ती डुलिरहेका थिए, क्रान्तिको जागरण फैलाइरहेका थिए, उनीहरूकै हत्या भएछ ।

भाबाङको एनाबाङमा सांस्कृतिक कार्यक्रम गरेर माओवादीको टोली बिहानै बाङमा पुगेको रहेछ । टोलीमा जनकलाकार, जनमिलिसिया र कार्यकर्ताहरू थिए । पहिल्यैदेखि पछ्याइरहेको प्रहरीले त्यो सूचना पाएछ ।

बिहानको खाना खाएर आराम गर्ने तयारी गरिरहेको बेलामा प्रहरीले चारैतिरबाट आक्रमण थालेछ ।

धेरैपछि मात्रै मैले थाहा पाएँ– ती मानिस सेन्ट्रीमा बसेका माओवादी रहेछन् । उनको हातमा रहेको डल्लो ग्रिनेड रहेछ ।

जनमिलिसियाले आफूसँग भएका भरुवा बन्दुक र ग्रिनेडले प्रतिरोध गर्न कोसिस गरे । जनकलाकारहरूले आफ्ना गीत, बाजा र सपनासहित अन्तिम क्षणसम्म प्रतिरोध गरिरहे । उनीहरूले आत्मसमर्पणभन्दा बलिदान रोजे । जनकलाकारहरूसँग प्रहरीसँगजस्तो आधुनिक हतियार थिएनन्, तर जनमुक्तिको सपना र वैचारिक हतियार थियो, जसले लड्न र बलिदान दिन प्रेरित गर्‍यो ।

टोलीमा रहेका २२ मध्ये ११ जनाले घेरा तोडे । ११ जनाले बाङमाको माटोमा अमूल्य जीवन बलिदान दिए । जनयुद्ध भर्खर तीन वर्ष पूरा भएको समयमा क्रान्तिकारी युवाहरूको त्यो बलिदान जनयुद्धलाई ठूलो क्षति थियो, तर त्यही बलिदानले हजारौँ जनकलाकार, जनमिलिसिया र कार्यकर्ता जन्मायो ।

हो, त्यो असार ८ गते ११ जना जनकलाकारको सामूहिक हत्या भयो– हामी केवल हेरिरह्यौँ ।

०००

माओवादी दबाउन राज्यले चालेको ‘किलो शेरा–२’ अपरेसनअन्तर्गत त्यो हत्या भएको थियो । तर, त्यो हत्याले माओवादी युद्ध दबिएन, झन् अघि बढ्यो । सफल बन्यो ।

अहिले बाङमामा उनीहरूको सम्झनामा स्मारक बनेको छ । सामूहिक चिहान सुरक्षित राखिएको छ ।

त्यो ठाउँ जाँदा र हरेक असार ८ आउँदा त्यो दिन आँखा अगाडि आउँछ– ड्याम्म–ड्याम्म गोली पड्किएको आवाज, हेलिकोप्टर घुमेको, प्रहरीले लाइन लगाएर राइफलको गोलीले कलाकारको हत्या गरेको र शव तानेको दृश्य । र, सम्झना आउँछ बिहानपख धारोछेउमा देखेका ती अपरिचित मानिस ।

धेरैपछि मात्रै मैले थाहा पाएँ– ती मानिस सेन्ट्रीमा बसेका माओवादी रहेछन् । उनको हातमा रहेको डल्लो ग्रिनेड रहेछ ।

०००

आज पनि त्यो दिन हिजोजस्तै लाग्छ, तर असार ८, २०५६ को त्यो कहालीलाग्दो घटना २७ वर्ष पुरानो भइसकेछ । त्यो दिनका आवाजहरू अझै कानमा गुञ्जिरहेका छन्, ती दृश्यहरू अझै आँखामा जीवित छन् । त्यो दिन हामीले कहिल्यै बिर्सन सक्दैनौँ र भावी पुस्ताले पनि बिर्सनु हुँदैन ।

ती सहिदहरूको बलिदानले नै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भएको हो ।

बाङमाको माटोमा आफ्नो अमूल्य जीवन बलिदान दिनुहुने ११ जना जनकलाकारहरूप्रति २७औँ स्मृति दिवसमा भावपूर्ण श्रद्धाञ्जलि ।

  • हत्या गरिएका ११ जना जनकलाकार

लालबहादुर सार्की ‘बलदेव’ (कोर्चाबाङ), कुमारी घर्ती (भाबाङ), देउमती विक (भाबाङ), दुर्गी बाँठामगर ‘धनु’ (भाबाङ), सुकप्रसाद घर्तीमगर ‘झङ्कार’ (कोर्चाबाङ), गोविन्द घर्तीमगर ‘विशाल’ (कोटगाउँ), दीपेन्द्र घर्तीमगर ‘सुजन’ (भाबाङ), सुन्दर घर्तीमगर ‘कपिल’ (ह्वामा), दुर्गासिंह घर्तीमगर ‘विकास’ (भाबाङ), मङ्गल बुढामगर ‘झरना’ (ह्वामा) र दिलकुमार बुढामगर ‘मायण्ड’ (कोर्चाबाङ) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज घर्तीमगर
मनोज घर्तीमगर
लेखकबाट थप