बालुवा चाल्दै, गिट्टी कुट्दै जीविकोपार्जन गरेको पारिवारिक पृष्ठभूमिबाट उठेर सीता बनिन् वादी समुदायबाटै पहिलो मन्त्री
सारांश
- सीता वादी पहिलो पटक संघीय मन्त्री बन्न सफल भइन्, जसले वादी समुदायको इतिहासमै पहिलो पटक सरकारमा प्रतिनिधित्व सुनिश्चित गर्यो।
- वादी समुदायका अगुवाहरूले यसलाई ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्, जसले समुदायको संघर्ष र पहिचानको जितलाई दर्शाउँछ।
- सीता वादी, जो रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा नियुक्त भएकी हुन्।
सुर्खेत । नेपालको राजनीतिक इतिहासमै पहिलो पटक वादी समुदायले सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको छ । शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषदमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादी नियुक्त भएकी छन् ।
वादी समुदायका अगुवा हिक्मत वादीका अनुसार इतिहासमै पहिलो पटक वादी समुदायले सङ्घीय मन्त्रिपरिषद्मा स्थान पाएको हो । सङ्घीय सांसदका रूपमा पनि वादी समुदायले स्थान पाएको यही पटक हो ।
‘पहिलो पटक सांसद हुने अवसर हुँदै मन्त्री पायो हाम्रो समुदायले,’ हिक्मतले भने, ‘प्रदेशमा यसअघि लुम्बिनी र सुदूरपश्चिममा हाम्रो समुदायबाट सांसद बने पनि सङ्घीय सांसद र मन्त्री भएका थिएनन् ।’
वादी समुदायका अगुवाहरूले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा मानेका छन् । ‘आजको दिन हाम्रो लागि केवल खुसीको क्षणमात्र होइन, इतिहासको एउटा महत्त्वपूर्ण पाना हो,’ हिक्मतले भने, ‘पहिलो पटक सङ्घीय संसदमा वादी समुदायको प्रतिनिधित्व हुनु, फेरि सीता वादी मन्त्री बन्नु, हामी सबैका लागि गर्व र सम्मानको विषय बनेको छ ।’
यो उपलब्धि केवल एक व्यक्तिको नभई सिङ्गो वादी समुदायको सङ्घर्ष, आशा र पहिचानको जित भएको उनी बताउँछन् । उनले भने, ‘हामी आशा गर्छौं, महिला, बालबालिका र सीमान्तकृत समुदायका हक–अधिकारका लागि प्रभावकारी काम हुनेछ ।’
उनले यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई धन्यवादसमेत दिएका छन् ।
इतिहासमै पहिलो पटक वादी समुदायबाट मन्त्री बनेकी सीता एक सङ्घर्षशील नारी हुन् । उनलाई रास्वपाले दलित क्लस्टरको ३ नम्बरमा समेटेर समानुपातिक सांसद बनाएको थियो । उनले सांसद बनौँला भन्ने कल्पना नै गरेकी थिइनन् उनलाई रास्वपाले सांसदमात्र होइन, मन्त्री नै बनाएर एउटा इतिहास रचिदिएको छ ।
उनी बालेन शाहको टिमबाटै सांसद बनेकी थिइन् । विगतका विवेकशीलका रन्जु दर्शनाहरूसँग नजिक थिइन् उनी ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—११, मा पर्ने झूप्रा खोलामा वादी समुदाय बस्छ । भेरी नदी किनार नजिक रहेको उक्त बस्ती ४० को दशकमा बस्न थालेको हो ।
त्यो बेला बालुवा चाल्दै र गिट्टी कुट्दै जीविकोपार्जन गर्ने उद्देश्यसहित झुप्रा खोला किनारमा आएर वादी समुदायका व्यक्तिहरू आएर बस्न थालेका थिए । उतिबेला बालुवा निकाल्न डोजर प्रयोग हुँदैनथ्यो ।
पछि बिस्तारै झुप्रा खोला किनारमा वादी बस्ती नै बन्यो, तर डोजर र मेसिनरी प्रयोग भएसँगै उनीहरूको काम खोसियो । अहिले पनि छाक टार्न धौधौ पर्छ झुप्रावासीलाई । हरेक चुनावमा भोटबैंकका रूपमा प्रयोग हुने यो समुदाय सधैँ राज्य र राजनीतिक दलको उपेक्षामा छ ।
यही बस्तीमा ०५२ सालमा जन्मिएकी हुन् सीता वादी । गोपाल वादी र पार्वती वादीको छोरीका रूपमा जन्मिएकी सीताको बाल्यकाल कठोर सङ्घर्षमा बित्यो ।
स्कुल जान छाडेर छाक टार्न परिवारसँगै बालुवा चाल्ने र गिट्टी कुट्ने काम गर्थिन् उनी । निकै सङ्घर्षका साथ जेनतेन ९ कक्षासम्म सुर्खेतमा पढिन् । उनले जनसेवा मावि घुस्रामा ४ देखि ९ कक्षासम्म पढेकी थिइन् ।
१२ वर्षको हुँदा एक संस्थाको सहयोगमा काठमाडौँको एक होस्टेलमा बसेर उनले अध्ययन गर्न पाइन् । सोही संस्थाकै सहयोगमा उनले सामाजिक विषयमा स्नातक र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
उनको परिवार अझै झुप्रा खोलामै बस्छ । बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवार । यही कठोर सङ्घर्षबाट उदाएकी सीता पढाइसँगै आफूजस्तै पछाडि परेका समुदायका महिला, बालबालिकाका क्षेत्रमा विगत एक दशकदेखि सक्रिय थिइन् ।
काठमाडौँको बुढानीलकण्ठ—८ निवासी सुरेश पुर्कटीसँग दुई वर्षअघि बिहे गरेकी उनी राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कटीकी बुहारी हुन् । दलित समुदायभित्रकै सार्की समुदायको पुर्कटीसँग मागी बिहे गरेकी हुन् उनले ।
दलित समुदायभित्रै हुने जातीय विभेदको अन्त्य गर्ने उद्देश्यसहित मागी बिहे गरेर काठमाडौँ गएकी सीता दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा तथा महिलालाई व्यावसायिक तालिम दिन्छिन् ।
काठमाडौँमा हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय छ उनको । उनले एक दशकदेखि आफ्नो समुदायको पक्षमा रहेर काम गरेकी न् ।
‘सुन्दर सहज नेपाल नामक’ संस्थामार्फत बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । उनी लगायत केही व्यक्तिहरूको अगुवाइमा ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर आर्थिक रूपमा पछि पारिएका समुदायका लागि दीगो जीविकोपार्जनको क्षेत्रमा काम गरिएको थियो । उनको यही अनुभवका कारण रास्वपाले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको हो ।
साथै, सीतालाई मन्त्रिपरिषदमा समेट्दा कर्णालीको प्रतिनिधित्त्व पनि भएको रास्वपाका एक नेताले बताए ।
सीताले यो आफ्नो जीवनको अत्यन्तै महत्त्वपूर्ण र गर्विलो क्षण रहेको बताइन् । आफू सधैँ जनताको पक्षमा उभिने उनको भनाइ छ । उनले इमानदारी, पारदर्शिता र उत्तरदायित्वका साथ आफ्नो कर्तव्य पूरा गर्ने प्रणसमेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण