बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहाइ गर्न एमालेको माग

शनिबार, १४ चैत २०८२, १३ : ०९
शनिबार, १४ चैत २०८२

सारांश

  • एमालेले केपी ओली र रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
  • पार्टीले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै विरोध प्रदर्शन गर्ने जनाएको छ।
  • एमालेले जेनजी आन्दोलनको छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा आयोग गठनको माग गरेको छ।

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।  शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

बैठकले पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानुनी शासनको विपरीत भएको निष्कर्ष निकालेको छ । साथै बैठकले उक्त घटनाको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार प्रत्येक जिल्लाको सदरमुकामका साथै जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने निर्णय भएको महासचिव पोखरेलले बताए ।

त्यस्तै बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप