सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

लेखक पक्राउपछि कांग्रेसमा थप विवाद, सुरु भयो समानान्तर गतिविधि

आइतबार, १५ चैत २०८२, १२ : ०८
आइतबार, १५ चैत २०८२

सारांश

  • पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे पछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएको छ।
  • शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहबाट नेता पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका छन्।
  • लेखक पक्राउको विरोधमा खड्काको विज्ञप्तिमा सशक्त आन्दोलन गर्ने उल्लेख छ, भने संस्थापन पक्षले छलफल गर्दैछ।

काठमाडौँ । पूर्वगृहमन्त्री तथा पार्टी नेता रमेश लेखक पक्राउ परेपछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्म गृहमन्त्री रहेका लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो । लेखकलाई ज्यान मुद्दा सम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि अत्यन्त जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो । 

उनलाई पक्राउ गरिएपछि कांग्रेसका तर्फबाट समानान्तर विज्ञप्ति आएका छन् । पार्टीको संस्थापनका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन् । १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र त्यो महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका डा. शेखर कोइराला समूहबाट नेता पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका छन् । 

गत पुसमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टी सत्ताबाट बाहिरिएका देउवा–डा.कोइराला समूहको तर्फबाट निकालिएको विज्ञप्तिमा खड्काले आफ्नो पद कार्यवाहक सभापति उल्लेख गरेका छन् । यस्तै पार्टीको लेटरप्याड पनि प्रयोग गरेका छन् । पदमा नभएका व्यक्तिले पार्टीको लेटरप्याड र पद उल्लेख गरेर विज्ञप्ति निकालेपछि संस्थापनले यसबारे कसरी अगाडि बढ्ने भनेर छलफल गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार दिउँसो संस्थापनका पदाधिकारीहरूको अनौपचारिक बैठक बस्ने तयारी छ । 

press release 14th chaitra

कांग्रेस प्रवक्ता देवराज चालिसेले रातोपाटीसँग दिउँसो नेताहरूको अनौपचारिक छलफल रहेको स्वीकारे । तर, विषयवस्तुबारे खुलाएनन् । 

गत असोज २८ गते तत्कालीन सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यो कार्यवाहकको पद पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिएपछि गएको थियो । यद्यपि विशेष महाधिवेशनलाई आधिकारिकता नदिन माग गर्दै देउवा–डा. कोइराला समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । 

लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउबारे दुई पक्षका फरक–फरक धारणा छन् । खड्काको विज्ञप्तिमा लेखकको पक्राउको विरोधमा सशक्त आन्दोलन गर्ने उल्लेख छ । त्यसका लागि नेता कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिइएको छ । विज्ञप्तिमा सरकारमाथि ‘जनताको भावनामाथि कुठाराघात’ गरेको आरोपसमेत लगाइएको हो । 

प्रवक्ता चालिसेले विज्ञप्तिमा लेखक पक्राउको सन्दर्भमा पार्टीको आन्तरिक समीक्षा र भविष्यको राजनीतिक रणनीतिको विषय उठाइएको छ । विज्ञप्तिमा चालिसेले ‘निर्णय प्रक्रियामा थप सचेत र जिम्मेवार’ बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । आगामी दिनमा निर्णय प्रक्रियामा सचेतता अपनाउनुपर्ने उल्लेख गरिएको छ । 

001

002

यस घटनाले पार्टीभित्रका आन्तरिक एकतामा थप विश्वासको संकट पैदा गर्ने देखिएको छ । यो प्रकरणले जनतामाझ कांग्रेस एक छैन भन्ने देखिन सक्ने नेताहरूको चिन्ता देखिन्छ ।

संस्थापन पक्षका एक पदाधिकारी भन्छन्, ‘आधिकारिकताको विषय सर्वोच्च अदालतमा छ । निर्वाचन आयोगले हामीलाई मान्यता दिएको छ । उहाँले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्नुभएको छ । त्यसबारे हामी अनौपचारिक छलफल गर्दैछौँ ।’

देउवा–डा.कोइराला समूहका नेताहरू भने सर्वोच्चले आधिकारिकताको विषयमा टुंगो नलाग्दासम्म समानान्तर गतिविधि भइरहने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप