चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
सारांश
- चितवन कारागार बिरामी कैदीबन्दीहरूको उपचारको लागि पहिलो रोजाइ बन्दै गएको छ, जहाँ क्यान्सर अस्पताल र मेडिकल कलेजहरू छन्।
- केन्द्रीय कारागार नुवाकोटबाट समेत बिरामीहरू उपचारका लागि चितवन पठाइने गरिएको छ, जसले गर्दा यातायातको सुविधा पनि सहज भएको छ।
- कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् र औषधि खरिद गर्न समस्या हुँदा जनस्वास्थ्य कार्यालयसँग सहकार्य भइरहेको छ।
चितवन । कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो ।
क्यान्सर रोग लागेका कैदीबन्दीको उपचारका लागि मुख्य रूपमा चितवन रोजाइ हुने गरेको भए पनि अहिले अन्य रोगका बिरामीको समेत रोजाइमा यस कार्यालय पर्ने गरेको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र यसपछि चितवन हुने गरेको छ ।
चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन् । उनका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् ।
उनीहरूलाई विभिन्न प्रकारका रोग लागेको छ । उच्च रक्तचापका ५४ बिरामी छन् । यस्तै मधुमेहका ३०, मानसिक रोगी १२, हेपाटाइटिस बी भएका पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारेरोग लागेका तीन–तीन र थाइराइडका दुई जना बिरामी रहेका छन् ।
उनले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न पनि समस्या हुने गरेको बताए । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको थियो ।
सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए । यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् । एक जना आश्रित बालक रहेको उनले बताए ।
अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । यसमा ३० महिला र ४६५ पुरुष रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा भागेका ११० कैदीबन्दी अझै फर्कन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण