सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सरकारी सेवामा सहजताको सुरूवात

श्रम स्वीकृतिमा टोकनको झन्झट हट्दा सेवाग्राही खुसी, बिचौलिया ‘आउट’

मङ्गलबार, १७ चैत २०८२, १९ : ३०
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने अनलाइन टोकन प्रणाली खारेज गरेको छ, जसले सेवाग्राहीलाई राहत दिएको छ।
  • श्रम मन्त्रालयको निर्देशनपछि क्यू फ्री प्रणाली लागु भएको छ, जसले गर्दा सेवाग्राहीले छिटो र सहज रूपमा श्रम स्वीकृति पाइरहेका छन्।
  • नयाँ प्रणालीले श्रम स्वीकृति प्रक्रियालाई मर्यादित, पारदर्शी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ, र पहिलो दिनमै ३ हजारभन्दा बढीले स्वीकृति पाए।

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको अनलाइन टोकन प्रणाली खारेज गरेपछि सेवाग्राही उत्साही देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहको निर्देशनपछि सोमबारदेखि विभागले क्यू फ्री प्रणाली लागु गरेको छ । जसको प्रभाव पहिलो दिनमै उत्साहजनक देखिएको विभागले जनाएको छ ।

विभागको यो कदमलाई श्रम स्वीकृति लिन आएका र अनलाइनबाटै आवेदन दिएका सेवाग्राहीहरूले ठुलो राहतका रूपमा लिएका छन् । उनीहरूले सरकारले गरेको निर्णय स्वागतयोग्य प्रतिक्रिया दिए । 

विभागमा सेवा लिन आएका  अरूण कुमारले श्रम स्वीकृति लिनका लागि टोकन प्रणाली खारेज गर्ने सरकारी निर्णय नयाँ सुरूवात भएको बताए । उनले पहिले टोकन प्रणाली हुँदा आफ्नो मान्छेलाई मात्रै प्राथमिकता दिने र भित्रभित्रै चलखेल हुने अवस्था थियो, तर अब टोकन हटेपछि आम जनतालाई सहज हुने अवस्था सिर्जना हुने बताए ।

‘टोकन प्रणाली हटेसँगै सेवाग्राहीलाई सहज भएको छ । अब घरै बसेर पनि काम हुन सक्ने अवस्था आएको छ,’ उनले भने । 

मोरङका देवेन्द्र लुइँटेलले श्रम कार्यालय पहिले बिचौलियाको अखडा जस्तो देखिने र सरकारले त्यसको अन्त्य गरेकोमा धन्यवाद दिए । ‘अहिले दुई–तीन दिन यता हेर्दा त्यो अवस्था कम हुँदै गएको छ । सरकारी कार्यालयहरूमा काम छिटो र पारदर्शी हुन एकदमै जरुरी छ,’ उनले भने । 

अर्का सेवाग्राही चुडामणि गजमेरले पनि सरकारको निर्णय सेवाग्राहीको लागि स्वागतयोग्य रहेको बताए । ‘एकै दिनमा श्रम स्वीकृति पाउनु स्वागतयोग्य कुरा हो । धेरै श्रमिकको भिसा आइसकेको तर श्रम स्वीकृति नपाउँदा उडान रोकिने अवस्था थियो । अब त्यो समस्या हट्ने देखियो,’ उनले भने । भिसा लागेर बसेकाहरूका लागि रोकिएको नयाँ श्रम स्वीकृति पनि छिट्टै खोल्न उनले सरकारलाई आग्रह गरे । 

विभागले हाल सातवटा प्रदेश श्रम कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूबाट पनि अनलाइन प्रणालीमार्फत सेवा दिइरहेको छ । कर्मचारी अभाव भएमा अन्य शाखाका कर्मचारीहरूलाई समेत परिचालन गरेर सेवालाई निरन्तरता दिने विभागको तयारी छ ।

यो सुधारले वैदेशिक रोजगारीको प्रक्रियालाई अझ बढी मर्यादित, पारदर्शी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ । कार्यान्वयनको पहिलो दिनमै ३ हजार १९७ जनाले श्रम स्वीकृति पाएको महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
 
उनका अनुसार यसअघि दैनिक ३५ सयको सीमा (कोटा) तोकिएका कारण श्रमिकहरूले टोकन पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता थियो । तर अब सरकार टोकन प्रणाली हटाएसँगै प्रणालीलाई चुस्त र फेसलेस बनाउने उनको भनाइ छ ।

महानिर्देशक आचार्यले भनिन्, ‘हाम्रो श्रम स्वीकृति दिने प्रणाली सन् २०१७ देखि नै शतप्रतिशत फेसलेस थियो । तर अनलाइन टोकन प्रणालीले गर्दा कतै सेवामा ढिलाइ वा अवरोध भइरहेको छ कि भन्ने महसुस भयो । त्यसैले आईटी टिमसँग सल्लाह गरेर यसलाई टोकन फ्री र क्यु फ्री बनाएका हौँ ।’

उनले सोमबार मात्रै ३ हजार १९७ जनाले श्रम स्वीकृति पाएको बताइन् । उनले कानुनले तोकेका सबै कागजात पूरा गरेको अवस्थामा अहिले श्रम स्वीकृति पाउन एक दिन पनि नलाग्ने भन्दै एक घण्टाभित्रै स्वीकृति पाउने बताइन् । 

‘हाम्रो फेमिस प्रणालीमा एकैपटक १६ सय जना वान टाइम युजरले लग–इन गर्न सक्छन् । यसमा श्रमिक, विभागका कर्मचारी, मन्त्रालय, विदेशस्थित दूतावास, साइबर र ११ सय भन्दा बढी म्यानपावर कम्पनीहरू जोडिएका छन्,’ आचार्यले भनिन् । यति धेरै प्रयोगकर्ता हुँदा सिस्टम क्र्यास हुने डर भए पनि यसको व्यवस्थापनका लागि तयारी गरिरहेको उनको भनाइ छ । 

भिडियो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप