छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
सारांश
- विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
- काठमाडौं, रूपन्देही, संखुवासभा, कपिलवस्तु, तनहुँ र धादिङमा भएका दुर्घटनामा स्कुटर, ट्याक्टर, हाइस, टिपर र बस संलग्न थिए।
- प्रहरीले दुर्घटनामा संलग्न चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ ठूलो भर्याङस्थित सडकमा प्र.३-०१-००६ ख ०१७२ नम्बरको टिपरले प्र.३-०२-००८ प २२२१ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटरमा सवार ३२ वर्षीय खेमबहादुर महतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते स्कुटर चालकको उपचार भइरहेको छ । ठक्करपछि स्कुटर ना.५ ख १०१२ नम्बरको ट्रकमा समेत ठोक्किएको थियो । प्रहरीले टिपर र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ ईटाभट्टीमा बा.प्र.०३-००१ ज १२२९ नम्बरको हाइस र रा.१ ह ४४३४ नम्बरको ई–रिक्सा ठोक्किँदा ई–रिक्सा चालक ३२ वर्षीय गोबिन्द बिकको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हाइस चालक नियन्त्रणमा लिइएको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा प्र.१-०२-००३ त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २१ वर्षीय रोसन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ जगदिशपुर ताल नजिक लु.२ ख ६४५५ नम्बरको टिपरले ठक्कर दिँदा ९ वर्षीया आषिका खत्रीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक पक्राउ परेका छन् ।
त्यसैगरी, कपिलवस्तुकै कृष्णनगर नगरपालिका–१ सालीमा हलचोक नजिक रा.१ ख २१४२ नम्बरको बसले साइकलयात्री ४२ वर्षीय डिल्लीराम थारूलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । गम्भीर घाइते भएका थारूको उपचारका क्रममा ज्यान गएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ग.१ त १५२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा १४ वर्षीय शिवबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते चालकको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको गल्छी गाउँपालिका–४ मास्टरमा ना.५ ख १५९२ नम्बरको ट्याङ्कर र प्रदेश ०३-०२-०१३ प ३९६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ४० वर्षीय चन्दन रौनियारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण