खर्चालु पर्यटक आगमनमा ‘खतराको घण्टी’
सारांश
- सन् २०२६ को मार्च महिनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ।
- सार्क र एसियाली मुलुकबाट पर्यटकको संख्या बढेकाले समग्र पर्यटन आगमन उत्साहजनक देखिएको छ।
- पश्चिम एसियामा देखिएको तनाव र इन्धनको मूल्यवृद्धिका कारण पश्चिमा पर्यटक घटेको बताइएको छ।
काठमाडौं । नेपालमा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । यद्यपि, सार्क र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा भएको भारी वृद्धिका कारण समग्र पर्यटन आगमन भने उत्साहजनक नै देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सन् २०२६ मार्च महिनाको तथ्यांक अनुसार एकै महिनामा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा १ लाख २१ हजार ६८७ जना पर्यटक भित्रिएका थिए ।
अघिल्लो वर्षको तुलनामा समग्र आगमनमा १ प्रतिशतको सामान्य गिरावट देखिए पनि छिमेकी मुलुकहरूको बलियो उपस्थितिले पर्यटन बजारलाई सन्तुलनमा राखेको छ ।
युरोप र अमेरिकाबाट आउने पर्यटकमा भारी गिरावट
तथ्यांक अनुसार यसपटक पश्चिमी मुलुकबाट आउने पर्यटकको संख्यामा ठुलो संकुचन आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २०८७६ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो ।
युरोपका प्रमुख स्रोत मुलुकमध्ये बेलायतबाट १९.७ प्रतिशत, फ्रान्सबाट ३०.२ प्रतिशत र जर्मनीबाट १३.२ प्रतिशतले पर्यटक घटेका छन् ।

त्यसैगरी, अमेरिकी महादेशबाट आउने पर्यटकको संख्यामा पनि २५.४ प्रतिशतले भारी गिरावट आएको छ । अघिल्लो वर्षको मार्चमा १३ हजार ९०७ पर्यटक आएकोमा यसपालि १० हजार ३७४ जना मात्र आएका छन् ।
विशेषगरी संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक २८.१ प्रतिशतले घटेर ७ हजार ९७४ मा सीमित भएका छन् । पश्चिम एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा पनि ३७.१ प्रतिशतको ठुलो गिरावट देखिएको छ ।
किन घटे पश्चिमा पर्यटक ?
युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या किन घट्यो भन्ने विषयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलिया गुरागाईं पश्चिम एसियाको तनावका कारण यो अवस्था देखिएको बताउँछन् ।
अमेरिका तथा युरोपबाट नेपाल आउनेले खासगरी पश्चिम एसियाली मुलुक तथा थाइल्यान्ड, कोरिया लगायत देशलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने गरेका छन् । त्यहाँको अस्थिरताको प्रत्यक्ष असर नेपालको पर्यटनमा परेको हो । इन्धनको मूल्यले भाडा बढ्दा यसको असर समेत पर्न सुरु भएको छ ।
‘युद्धका कारण पश्चिम एसिया ट्रान्जिट भएर आउने पर्यटक घटेका छन्,’ थपलिया भन्छन्, ‘अहिले तेलको मूल्यसँगै हवाई भाडा समेत बढ्दा आगामी महिनामा पर्यटन आगमनमा थप दबाब देखिन सक्छ ।’ उनका अनुसार मार्च महिनासम्मको पर्यटक घट्नुमा ट्रान्जिट समस्या प्रमुख कारण हो । अबदेखि आउनेका हकमा भने इन्धनको मूल्यवृद्धि प्रमुख कारण हुने देखिन्छ । जहाजहरुको कुल खर्चको ६० प्रतिशत हिस्सा इन्धनमा जाने भएकाले अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि हुँदा यसको सिधा असर परिरहेको उनको भनाइ छ ।
सार्क र एसियाली पर्यटकको भर
पश्चिमा पर्यटक घटे पनि सार्क र अन्य एसियाली राष्ट्रबाट आएका पर्यटकले समग्र तथ्यांकलाई माथि उकासेका छन् । सार्क मुलुकबाट यो महिनामा मात्रै ४२ हजार ६६८ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २०.९ प्रतिशतले बढी हो ।
यसमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ जना पर्यटक आएका छन् । यो २०.२ प्रतिशत वृद्धि हो । त्यस्तै, बंगलादेशबाट ४ हजार ६७६ पर्यटक भित्रिएका छन् । यो गत वर्षभन्दा ३०.८ प्रतिशत बढी हो ।
_zKXgHbVCXW.jpg)
अन्य एसियाली मुलुकबाट ३३ हजार ४३६ पर्यटक आएका छन्, जुन ६.७ प्रतिशत हो । जसमा चीनबाट ११ हजार २२० र म्यानमारबाट ६ हजार २० पर्यटक रहेका छन् । ओसियाना क्षेत्र अन्तर्गत अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या पनि १४.६ प्रतिशतले बढेर ४ हजार ८४५ पुगेको छ ।
खर्चालु पर्यटकको तथ्यांकमा ‘खतराको घण्टी’
नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै खर्चालु युरोप र अमेरिकी मुलुककै हुने गरेका छन् । खासगरी ट्रेकिङ, पर्वतारोहण लगायत साहसिक पर्यटनका लागि आउने यस्ता पर्यटकहरुको औसत बसाइ लामो हुने र लक्जरी बसोबासका कारण दैनिक खर्च समेत बढी हुन्छ ।
पछिल्लो सर्वेक्षण अनुसार अमेरिकी मुलुकबाट नेपाल आउनेले दैनिक ६० देखि १०० डलरसम्म खर्च गर्ने पछिल्लो अध्ययनले देखाएको छ । त्यस्तै, युरोपबाट आउनेले ५० देखि ९० डलर, आसियान क्षेत्रबाट आउनेले ७० देखि ११० डलर, पूर्वी एसियाबाट आउनेले ३० देखि ६० डलर तथा दक्षिण एसियाबाट आउनेले २० देखि ४० डलर मात्रै औसत खर्च गर्ने गरेका छन् ।
त्यस्तै, अमेरिकी र युरोपेली मुलुकबाट आउने पर्यटकहरु १२/१५ दिन कस्ने गर्छन् भने सार्क मुलुकबाट आउने पर्यटक ४/५ दिन मात्रै नेपाल बस्ने गरेका छन् । कम खर्च र थोरै बस्ने छिमेकी मुलुकको पर्यटक बढेको देखिए पनि समग्र क्षेत्रमा भने पश्चिमा र पश्चिम एसियाली मुलुकबाट आउने पर्यटकको आगमनले ठुलो असर परेको नाट्टाका अध्यक्ष थपलियाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण