भूमिकाविहीन बनाइएको भन्दै युवराज लामाले त्यागे नेकपा
सारांश
- युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएका छन्, उनी १८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय थिए।
- उनले पार्टीभित्रको गुटबन्दी, अवसरबाट वञ्चित हुनुपरेको र भूमिकाविहीन बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
- लामाले प्रचण्डको नेतृत्वको प्रशंसा गर्दै स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका छन्।
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । १८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका लामाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै आफू अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन् ।
पार्टीमा लामो समय भूमिकाविहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको तितो अनुभवसहित उनले पार्टी परित्याग गरेका हुन् । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा युवा तथा खेलकुद विभागका सदस्य रहेका थिए ।
लामाले आफ्नो राजीनामा पत्रमा प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्मनिरपेक्षताका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै त्यसको प्रशंसा गरेका छन् । उनले प्रचण्डलाई एक गतिशील रणनीतिकार र खुला हृदयको नेताका रूपमा चित्रण गर्दै आफूले पाएका विगतका जिम्मेवारीका लागि आभार समेत व्यक्त गरेका छन् ।
तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा र खेलकुदमन्त्री हितबहादुर तामाङको पालामा आफूले पाएका अवसरहरूले राष्ट्रसेवामा योगदान पुगेको उनले उल्लेख गरेका छन् । पार्टी छोड्नुको मुख्य कारणका रूपमा लामाले पार्टीभित्र व्याप्त किचन क्याबिनेट, गुटबन्दी र नेताका घर धाउने प्रवृत्तिलाई औंल्याएका छन् ।
आफू कुनै पनि गुटमा सहभागी नभएको र नेताहरूको घर-घर पुगेर चाकरी गर्ने शैलीमा नलागेका कारण ओझेलमा परेको उनको ठम्याइ छ । पार्टीका दुई महाधिवेशनमा कनिष्ठहरूलाई केन्द्रीय सदस्य बनाइएको र एकताका नाममा बाहिरबाट आउनेहरूलाई सिधै पदाधिकारी र पोलिटब्युरोमा समेटिएको तर आफूलाई सधैँ भूमिकाविहीन राखिएकोमा उनले असन्तुष्टि पोखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको पछिल्लो सांगठनिक संरचना र विभिन्न दलहरूबिचको एकताले बनेको जम्बो समितिमा समेत आफ्नो कुनै स्थान नदेखिएको उनले बताएका छन् । १८ वर्षसम्म पार्टीको हिस्सा भएर काम गरेकोमा गर्व गर्दै उनले अबका दिनमा एक स्वतन्त्र मतदाताको हैसियतमा मात्र रहने स्पष्ट पारेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण