बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बादलको विवादास्पद अभिव्यक्ति सच्चियो, बलात्कारमा तानिए बले

शुक्रबार, २० चैत २०८२, २२ : १३
शुक्रबार, २० चैत २०८२

काठमाडौँ । आज मिति २०८२ साल चैत महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा हामी १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. बादलको अभिव्यक्ति सच्चियो

नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा (बादल)ले संसद्‌मा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो।

राज्यका सबै सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उपमहासचिव लेखराज भट्टले बताए ।

२. सभामुखमा डीपी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल संघीय प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध भएका छन् ।

शुक्रबार सिंहबारस्थित संसद् सचिवालयमा भएको मनोनयन दर्ताका क्रममा उनको एकल उम्मेदवारी परेसँगै निर्विरोध भएका हुन् ।

३. बजेट तयारी

सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट लेखन प्रक्रिया सुरू गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेर औपचारिक रुपमा प्रक्रिया अघि बढाएको हो ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकता निर्धारण गर्ने गरी समिति गठन गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन् ।

४. प्रधानन्यायाधीश नियुक्तिमा समय लाग्ने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत चैत १८ गतेदेखि उमेर हदले अनिवार्य अवकाशमा गएका छन् । मुलुकको प्रमुख न्यायालय सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सम्हालेकी छन् ।

नयाँ प्रधान न्यायाधीशका लागि न्यायपरिषदले गत फागुन २१ गते ६ न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ । न्यायपरिषद्ले सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, डा मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । तर, नयाँ नियुक्तिमा समय लाग्ने भएको छ ।

५. अन्तरिम आदेश

सर्वोच्च अदालतले वार्षिक परीक्षा अगावै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो आदेश दिएको हो ।

६. महासंघमा नयाँ नेतृत्व

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे ।

७. मन्त्रालयको सूचना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी यस मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन भन्दै शुक्रबार सूचना जारी गरिएको हो।

८. इन्धनको कुरा

बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्‍यो । अन्तर्राष्ट्रिय बजार बढेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त मूल्यसूचीलाई आधार बनाउँदै निगमले मूल्य समायोजन गरेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ, डिजेल र मट्टितेलमा १८२ रुपैयाँ र हवाई इन्धनको २५१ रुपैयाँ निर्धारण भएको छ । ग्यासमा भने प्रतिसिलिन्डर १९१० रुपैयाँको मूल्यलाई यथावत् राखिएको छ ।

९. बलेमाथि बलात्कारको आरोप

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् ।  पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् ।

१०. भ्रष्टाचार मुद्दा

सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाखभन्दा बढी रकम हिनामिना भएको अभियोग लागेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप