‘सरकारी र निजी क्षेत्र मिलेर खस्किएको पर्यटन उकासौँ’
सारांश
- जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।
- पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पाले पर्यटन क्षेत्रलाई उकास्न सरकारी र निजी क्षेत्रको संयुक्त पहल आवश्यक रहेको औँल्याएकी छिन्।
- उनले 'रिटायर्ड टुरिजम', फिल्म टुरिजम र स्की खेलको विकासमार्फत नेपालको पर्यटनलाई दीर्घकालीन रूपमा बलियो बनाउन सकिने सुझाव दिएकी छिन्।
गत भदौ २३ को जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो । नेपाल घुम्नका लागि विदेशीले गरेका बुकिङहरू धमाधम रद्द भए । कोभिड–१९ पछि लयमा फर्किंदै गरेको पर्यटन उद्योग पुनः मारमा पर्यो । जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांक छ । नेपालको जेनजी आन्दोलनका दृश्य, जेलबाट भागेका कैदी र लुटिएका हतियारबारे सामाजिक सञ्जालमा पोस्ट भएका फोटो–भिडियोले पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पुर्यायो ।
जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसको समाधानका उपाय र नयाँ सरकारले चाल्नुपर्ने कदमबारे पर्यटन व्यवसायी तथा नेपाल माउन्टेन एकेडेमीकी संस्थापक लाक्पा फुटी शेर्पाले रातोपाटीसँग आफ्ना अनुभव बाँडेकी छिन् । उनी नेपालको पहिलो माउन्टेन एकेडेमी स्थापना गर्ने प्रमुख संस्थापकमध्ये एक हुन् । सन् १९९३ मा पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहण टोलीमा सामेल भई ऐतिहासिक सहकार्य गरेकी शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश :
- नेपालमा जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले तत्कालै पर्यटनमन्त्री नियुक्त गरेन । नेपालको पर्यटन क्षेत्रमा त्यसको कस्तो असर देखियो ?
नेपाल सरकारले कहिल्यै पनि पर्यटनलाई प्राथमिकतामा राखेन । अहिले पनि प्राथमिकतामा परेको छैन । जेनजी विद्रोहपछि नेपालको बारेमा नकारात्मक सन्देश फैलियो । आन्दोलनलगत्तै पर्यटनमन्त्री र परराष्ट्रमन्त्री तोकेर, विभिन्न देशमा रहेका राजदूतहरू बोलाएर नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सक्नु पर्थ्यो । तर, त्यस्तो भएन ।
_9Br5zrjZ1b.jpg)
पर्यटनमन्त्रीको समन्वयमा नेपालको सकारात्मक प्रचारप्रसार हुनुपर्थ्यो । जेनजीको आन्दोलन पर्यटक र पर्यटनप्रति लक्षित थिएन । पर्यटकलाई जेनजीले सधैँ स्वागत नै गर्छन् भन्ने सकारात्मक सन्देश विश्वभरि गएन । होलिडेमा नेपाल घुम्न आउने पर्यटकहरू डरले आउन सकेनन् । मेरो आफ्नै कम्पनीमा दुई–तीनवटा विदेशी पर्यटकको समूहले (ग्रुपले) बुकिङ क्यान्सिल गरे । अन्य धेरै कम्पनीमा बुकिङ क्यान्सिल भए ।
हामीले ‘नेपाल सुरक्षित छ’ भनेर जवाफ फर्काउँदा ‘तपाईंहरूले जिम्मा लिन सक्नुहुन्छ ?’ भनी सोध्थे । पर्यटकहरूलाई सुरक्षाको मुख्य चिन्ता हुन्छ । उनीहरू सुरक्षित भएर घुम्न, रमाइलो गर्न, हिमाल चढ्न र पदयात्रा गर्न चाहन्छन् । नेपाल सरकारले पर्यटकको सुरक्षाका लागि पहल गर्नै सकेन । तत्कालै पर्यटनमन्त्री नियुक्त गरेको भए यी सबै समस्या समाधान हुन सक्थे । त्यसैको परिणाम भनौं, हाम्रो पर्यटन गत वर्षभन्दा ६० प्रतिशतले घटेको छ ।
- पर्यटनमन्त्री नहुँदा त्यो काम कर्मचारीमार्फत गर्न नसकिने रहेछ ?
पर्यटनमन्त्री नियुक्त गर्नैपर्छ, त्यो पनि पर्यटनविज्ञ नियुक्त गर्नुपर्छ । अर्को कुरा, पर्यटन क्षेत्रका लागि हामी शेर्पा समुदायको पनि योगदान छ । विश्वभरि नेपाल र नेपालीले नाम र चर्चा कमाएको हामी शेर्पाको साथसहयोग पाएर पनि हो । विश्वमा नेपाल भनेर कतिपयले चिन्दैनन् तर शेर्पा भनेपछि चिन्छन् । शेर्पा भन्ने त विश्वमा ब्रान्ड हो नि । हामीले जानेको, बुझेको, सकेको राष्ट्रका लागि योगदान दिएका छौँ ।
तर नेपाल सरकारले कहिल्यै पनि शेर्पाहरूलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायमा शेर्पा नियुक्त गरेन । नीति निर्माण तहमा, निर्णायक तहमा शेर्पालाई महत्त्व दिइएन, त्यसमा मलाई दुःख लाग्छ । जेनजी आन्दोलनलगत्तै पर्यटनविज्ञ, पर्यटन बुझेको मान्छे नियुक्त गरेको भए विश्वभर नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्थ्यो । तर, हामीलाई राज्यले कहिल्यै पनि प्राथमिकतामा राखेन । तपाईंले सोधेको कुरामा भन्ने हो भने मन्त्रीको स्थानमा कर्मचारीबाट काम गर्न त्यति सहज हुँदैन । हाम्रो अहिलेसम्मको अनुभवले पनि त्यही देखाउँछ ।
- निर्वाचनपछि नवगठित बालेन सरकारले पर्यटकीय क्षेत्र पोखराकै गणेश पौडेललाई पर्यटनमन्त्री बनाएको छ । पर्यटनमन्त्री कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
पर्यटन जानेको, बुझेको र व्यावहारिक हुनुपर्छ । पर्यटकले के चाहन्छन्, कस्तो खालको सेवाको अपेक्षा गर्छन् तथा कुन देशको पर्यटकलाई कस्तो व्यवहार गर्ने, आन्तरिक र बाह्य पर्यटकलाई कस्तो व्यवहार गर्ने भन्ने जानेबुझेको व्यक्ति भएमा नेपालको पर्यटनलाई उकास्न सहज हुन्छ । घुम्नका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभरि फैलाउन सक्ने व्यक्तिको अपरिहार्यता छ अहिले । हामी दुई ठूला छिमेकीको बीचमा छौँ । दुःखलाग्दो कुरा के छ भने हामीले छिमेकी देशमै समेत नेपालको पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न सकेका छैनौँ ।
- तपाईंले माथि पनि भन्नुभएको र सबैले महसुस गरेको विषय पनि के हो भने नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन शेर्पा समुदायको निकै ठूलो योगदान छ । नवगठित सरकारले शेर्पा समुदायलाई कसरी समेट्न सक्छ ?
शेर्पा समुदायले पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याएको कुरा सही हो । शेर्पा समुदायको राम्रो पक्ष के छ भने कुनै काम गर्छु भनेपछि गरेरै छाड्छ । त्यसैले विश्वभरिका पर्यटकहरू शेर्पा भनेपछि विश्वास गर्छन् । नेपालीले पनि शेर्पालाई विश्वास गर्छन् । एडमन्ड हिलारीले शेर्पाकै सहयोगमा एभरेस्ट चढे । त्यो बेलादेखि नै शेर्पाको ब्रान्ड बनेको छ ।
तर खै किन हो, नेपाल सरकारले त्यो समुदायलाई समेट्न सकेको छैन । हामीलाई त राज्यले बेवास्ता गरेको हो कि भन्ने लाग्छ । यसमा मलाई दुःख पनि लाग्छ । त्यसैले नयाँ सरकारले शेर्पा समुदायको प्रतिनिधित्व सरकारमा गराउन सक्नुपर्छ । विशेषगरी पर्यटन मन्त्रालयकै जिम्मेवारी दिने हो भने पनि यो समुदायका व्यक्तिले राज्यको र सरकारको शिर ठाडो गराउने गरी काम गर्न सक्छन् ।
- जेनजी आन्दोलनपछि विश्वभर पर्यटनबारे जस्तो खाले नकारात्मक सन्देश गएको छ, त्यसलाई चिर्न के गर्न सकिन्छ ?
नेपाल सरकारले पर्यटनसँग सम्बन्धित नयाँ नीतिनियमहरू ल्याउनुपर्यो । वान–डोर सिस्टम अपनाउनुपर्यो । विदेशी घुम्न आएपछि कुनै काम गर्दा झन्झटिलो नबनोस् भन्नेमा ध्यान दिइयोस् । नेपालमा फिल्म टुरिजमको एकदमै सम्भावना छ । फिल्म बनाउन चाहनेहरूलाई सहज वातावरण हुनुपर्छ । एउटा फिल्म सुटिङ गर्न १० ठाउँमा पर्मिट लिनुपर्ने झन्झटिलो कानुन छ । एउटा एक्सपिडिसन अर्गनाइज गर्न १० ठाउँमा पर्मिट लिन जानुपर्छ । हरेक काममा ढिलाइ हुन्छ, कम्तीमा त्यस्तो हुनु भएन ।
_QyLsNvPbxB.jpg)
दोस्रो, हाइजेनिक खानेकुरा र पर्यटकको रोजाइका परिकारमा ध्यान दिनुपर्छ । कुनै विदेशी पर्यटक घुम्न आउँदा उसले आफ्नै देशको खाना खोज्छ । त्यसका लागि जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्नुपर्यो । सरकारी र निजी क्षेत्र मिलेर संयुक्त पहलमा खस्किएको पर्यटन बजारलाई दीर्घकालसम्म उकास्नका लागि इमानदार प्रयास गर्नुपर्यो । अनि, त्यस्तो सन्देश विश्वभर फैलाउनका लागि महत्त्वपूर्ण पाइलाहरू चाल्नुपर्यो । नेपालको पर्यटनका जति सकारात्मक सन्देशहरू विश्वभर फैलन्छन्, पर्यटकहरू त्यति नै आउने हुन् भन्नेमा हेक्का राख्नुपर्यो । कतिसम्म भने भारत र चीनका पर्यटक मात्रै पर्याप्त संख्यामा आइदिने हो भने हामीलाई काफी हुन्छ । तर त्यसका लागि त दीर्घकालीन सोच र रणनीति त हुनुपर्यो ।
- विश्वका महत्त्वपूर्ण देशहरूमा नेपाली दूतावासहरू छन् । ती दूतावासले कस्तो भूमिका खेल्न सक्छन् ?
प्रत्येक दूतावासमा पर्यटनका लागि बेग्लै अफिस राखेर काम गर्न सकिन्छ । पर्यटन बोर्डलाई सक्रिय बनाउन सकिन्छ । अमेरिका र युरोपियन मुलुकले प्रचार गरेको सुनिँदैन तर हामी त्यहाँ जान मरिहत्ते गर्छौँ । त्यसैगरी नेपालमा पर्यटकहरू आउने वातावरण सिर्जना गर्नुपर्यो । नेपालमा बेलाबेला हुने बन्द, हड्ताल नहुने वातावरण सिर्जना गर्नुपर्यो । शान्तिसुरक्षा र स्थिरता भयो भने धनी पर्यटकहरू आफ्नो परिवारसाथ आउँछन् । पर्यटन पोलिसी पनि तत्काल परिमार्जन हुन जरुरी छ । ‘रिटायर्ड टुरिजम’ को अवधारणा अघि सार्दै रिटायर्डहरूलाई रेसिडेन्स भिसा दिनुपर्छ ।
- ‘रिटायर्ड टुरिजम’को अवधारणाबारे अलिक प्रस्ट पारिदिनुस् न ।
विश्वका अधिकांश मुलुकमा ६५ वर्ष पुगेपछि रिटायर्ड हुने चलन छ । उनीहरूले अवकाश पाएपछि पेन्सन पाउँछन् । त्यो रिटायर्ड पेन्सनले उनीहरूकै देशमा बस्न अलि महँगो पर्छ । तर, नेपालमा मासिक १ हजार ५ सय डलर भयो भने मजाले बस्न सक्छन् । त्यस्तो वर्गलाई आकर्षित गर्न सक्नुपर्छ । त्यस्ता व्यक्तिहरूले नेपालको कानुन मानेर बस्नुपर्यो ।
अर्को कुरा, विश्वका कतिवटा देशमा वर्षमा तीन–चार महिना घामै लाग्दैन । उनीहरू भिटामिन ‘डी’ प्राप्त गर्न, ‘सन बाथ’का लागि नेपालमा आउँछन् । तर, उनीहरूलाई थप आकर्षित गर्ने हामीसँग कुनै योजना छैन । मैले आफैँले जर्मनी, क्यानडाबाट घाम ताप्न नेपाल आउनेहरू देखेकी छु । शरीरमा भिटामिन ‘डी’को कमीले औषधि खाँदाखाँदा वाक्कै भएर घाम ताप्न आउनेको संख्या नजरअन्दाज गर्न मिल्ने खालको छैन, तर त्यस्ता पर्यटकलाई हामी राज्यका तर्फबाट के अफर गर्न सक्छौँ त भन्नेमा हामीले नीतिगत निर्णय त गर्न सक्नुपर्यो । त्यसैले मलाई लाग्छ, हामीले त्यस्तो वर्गको पहिचान गर्नुपर्छ र नीतिगत रूपमा प्रस्ट हुनुपर्छ ।
- त्यस्ता पर्यटकहरू नेपालमा कति समय बस्ने गरेको पाउनुभएको छ ?
अवकाशप्राप्त पर्यटकहरू नेपालमा घाम ताप्न, हिमाल हेर्न र यहाँको प्राकृतिक वातावरणमा रमाउन चाहन्छन् । उनीहरू लामो समय नेपाल बस्न चाहन्छन् । यसका साथै नेपालमा ‘डेन्टल टुरिजम’ पनि फस्टाउन सक्छ । विदेशमा दाँतको उपचार महँगो छ । नेपालमा तुलनात्मक रूपमा सस्तो छ । विदेशीहरू नेपालमा पहिलोपटक हिमाल चढ्न आउँछन्, दोस्रोपटक ट्रेकिङ गर्न आउँछन्, त्यसपछि नेपालीसँग पारिवारिक सम्बन्ध गाँसिन्छ । जुनसुकै देशका पर्यटक नेपाल भनेपछि हुरुक्कै भइदिन्छन् । भोलिको दिनमा विदेशीहरूले नेपालमा रोजगारी खोज्नुपर्ने वातावरण सिर्जना हुन्छ ।
_pDLwpMf616.jpg)
- पर्यटनकै कुरा गर्दा नेपालमा स्की खेलको सम्भावना कस्तो पाउनुभएको छ ?
एकदमै ठूलो सम्भावना छ । सुदूरपश्चिम, ढोरपाटन र खप्तड क्षेत्रमा यसको उच्च सम्भावना छ । त्यसका लागि पूर्वाधारमा लगानी हुनुपर्छ । नेपालको पर्यटनमा स्कीले विन्टर ग्याप कभर गर्छ । स्की महँगो स्पोर्ट्स पनि हो । युरोप, अमेरिकामा एकदमै खानदानी, हुनेखानेले लगानी गरेर खेल्छन् । त्यो पनि पूरै परिवारका सदस्यहरूले यसमा लागिपरेका हुन्छन् । ५ वर्षदेखि १ सय वर्षसम्मका उमेर समूह स्की खेल्न उत्साहित हुन्छन् । यो एकदमै महत्त्वपूर्ण हो ।
म नेपाल माउन्टेन एकेडेमीमा कार्यकारी निर्देशक हुँदाखेरि नेपाल नेसनल गाइड एसोसिएसनसँग मिलेर हामीले स्की ट्रेनिङहरू नै डेभलप गर्यौँ । हामीले विभिन्न ठाउँमा स्कीको आधारभूत तालिम नेपालमा दिएर स्विट्जरल्यान्डमा स्विसको सहयोगमा एड्भान्स तालिम गर्यौँ । इन्टरनेसनल गाइडको लाइसेन्सका लागि स्की प्रोफेसनल लाइसेन्स अनिवार्य हुन्छ । हाम्रो नेपालमा सुनाम शेर्पासँग स्की लाइसेन्स थियो । त्यसपछि धेरै जनाले स्की लाइसेन्स लिइसकेका छन् । यसलाई प्रवर्द्धन गर्न सक्ने हो भने यसले नेपालको आर्थिक समृद्धिमा धेरै ठूलो टेवा पुर्याउन सक्छ ।
मैले युरोपका हिमालहरूमा स्की खेलेको अनुभव लिएकी छु । फ्रान्स, स्विट्जरल्यान्ड, इटाली, अस्ट्रिया सबै हिमालमा मैले स्की खेलेँ । युरोपको चर्चित म्यागजिनमा ‘द फर्स्ट नेप्लिज हु स्की होल युरोपियन आल्प्स’ भनेर मेरो बारेमा छापिएको छ ।
- स्की खेलका लागि पनि नेपालमा ठूलो संख्यामा पर्यटकलाई भित्र्याउन सकिन्छ ?
एकदमै सम्भव छ । सुदूरपश्चिमको खप्तडमा स्कीको सम्भावना छ । काठमाडौँमा बसेर योजना बनाएर भएन । मुस्लिम बाहुल्य देशमा हाम्रै नेपालका इन्स्ट्रक्टरहरू त्यहाँ स्की ट्रेनिङ दिन जान्छन् भने नेपालमा किन सम्भव छैन ? सम्भव छ नि । तर, काम गर्ने इच्छाशक्ति हुनुपर्यो । सरकारले लगानी गर्न सक्नुपर्यो । हाम्रो नेपालमा नचाहिने ठाउँमा लगानी एकदमै खेर गइरहेको छ, चाहिने ठाउँमा लगानी गर्न सकिएको छैन ।
- नेपालमा अन्य के–के सम्भावनाहरू छन् ?
हामीले ब्याचलर्स इन माउन्टेनियरिङ र मास्टर्स इन माउन्टेनियरिङ टुरिजम सुरु गर्यौँ । त्यही खालको एकेडेमिक एजुकेसन स्थापित गर्न सक्यौँ भने भविष्य राम्रो छ । हिमाल चढ्न पर्यटकहरू दुई महिनाका लागि आउलान्, ट्रेकिङ र टुरका लागि दुई हप्ता छुट्याउलान् । तर, नेपालमा पढ्नका लागि आए भने २ वर्ष, ६ वर्षसम्म बस्न सक्छन् । इन्टरनेसनल लेभलको युनिभर्सिटी, माउन्टेन टुरिजम युनिभर्सिटी नेपालमा स्थापित गर्न सकियो भने विज्ञहरू पनि अन्तर्राष्ट्रिय क्षेत्रबाटै आउने वातावरण बन्छ । नेपाल माउन्टेन एकेडेमीले विद्यार्थी उत्पादन गरेको छ । हिमाल र टुरिजम स्टडी गर्न नेपाल एकदमै उपयुक्त थलो हो ।
अर्को कुरा हामीले कहिल्यै पनि हवाई माध्यम मात्रै ताक्नु हुँदैन । जस्तो नेपाल–चीनमा हिस्टोरिकल पाथहरू छन् । ती नाका खोल्नुपर्यो । बोर्डरहरू खोलेर एभरेस्ट बेस क्याम्पसम्म आउने टुरिस्टहरू तान्न सक्नुपर्छ । चीनको रोडबाट आउने पर्यटक तान्न सकियो भने नेपालमा एकदमै राम्रो सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण