यसअघि ‘असफल’ भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय
सारांश
- सरकारले इन्धन खपत घटाउन र आर्थिक मितव्ययिता अपनाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- विगतमा सातामा दुई दिन बिदा दिने प्रयासहरू पर्याप्त तयारीको अभावमा असफल भएका थिए।
- नयाँ व्यवस्था अनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
काठमाडौँ । सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर यो निर्णय अहिले नयाँजस्तो लागे पनि विगतमा प्रयोगमा ल्याएर पनि असफल भएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार गतेदेखि नै लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न यो कदम चालिएको हो ।
नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछन्। यद्यपि, शैक्षिक संस्थाहरूको हकमा भने यो कार्यालय समय लागू नहुने मन्त्री पोखरेलले स्पष्ट पारे ।
यसअघि विभिन्न समयमा यस्तो प्रयास गरिए पनि पूर्ण तयारीको अभाव र सेवा प्रवाहमा समस्या देखिएपछि सरकार पुरानै अवस्थामा फर्किन बाध्य भएको थियो।
सर्वप्रथम २०४७ सालमा अदालतहरूमा साताको दुई दिन बिदा दिने चलन अभ्यास गरिएको थियो। २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च कटौती र प्रशासनिक सहजताका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो।
आयोगकै सिफारिसका आधारमा २०५६ सालमा काठमाडौँ उपत्यकामा साताको दुई दिन बिदा दिन सुरु गरियो, तर त्यो लामो समय टिक्न सकेन र असफल सावित भयो।
पछिल्लो समय २०७७ मङ्सिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। त्यसपछि २०७९ सालमा पनि केही समय परीक्षण गरिए पनि अन्ततः सरकार एक दिने बिदाकै निर्णयमा फर्किएको थियो।
नेपालमा कार्यालय समय र बिदाको सुरुवात राणाकालदेखि भएको पाइन्छ। सर्वप्रथम देव शमशेरले बिहान १० देखि ५ बजेसम्मको कार्यालय समय तोकेका थिए। पछि भीम शमशेरले यसलाई १० देखि ४ बजेसम्म झारेका थिए। देव शमशेरकै पालादेखि शनिबार बिदा दिने चलन सुरु भएकोमा भीम शमशेरले शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्थालाई संस्थागत गरेका थिए।
त्यस्तै, पद्म शमशेरले मौसम अनुसार (कात्तिकदेखि माघसम्म १०–४ र फागुनदेखि कात्तिकसम्म १०–५) कार्यालय समय तोक्ने प्रचलन चलाएका थिए।
विगतमा पटक–पटक असफल भएको यो प्रयोगलाई बालेन शाह नेतृत्वको सरकारले इन्धन सङ्कट र आर्थिक दबाबकाबिच कार्यान्वयनमा ल्याएपछि कत्तिको प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ त्यो भविष्यले देखाउने नै छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण