बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पन्तको इनिङ्सले हैदरावाद स्तब्ध, लखनउको पहिलो जित

आइतबार, २२ चैत २०८२, २० : ३६
आइतबार, २२ चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिग अन्तर्गत लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ।
  • कप्तान ऋषभ पन्तको ५० बलमा अविजित ६८ रनको उत्कृष्ट इनिङ्सले लखनउलाई लक्ष्य पूरा गर्न मद्दत पुर्‍यायो।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औँ खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हात पारेको छ। हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेसनल स्टेडियममा भएको खेलमा लखनउले ५ विकेटको सानदार जित निकाल्दै सिजनमा आफ्नो पहिलो जित हात पारेको हो।

यो जितसँगै लखनउले पहिलो दुई अङ्क जोडेको छ भने हैदरावादले लगातार दोस्रो हारको सामना गर्नुपरेको छ। टस जितेर पहिले बलिङ रोजेको लखनउले हैदरावादलाई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रनमा रोकेको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले अन्तिम ओभरको पाँचौँ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

लखनउको जितको मुख्य नायक कप्तान ऋषभ पन्त बने। उनले ५० बलमा अविजित ६८ रनको जिम्मेवार इनिङ्स खेलेर टोलीलाई जितसम्म पुर्‍याए। उनलाई ऐडन मार्करमले २७ बलमा ४५ रन जोड्दै राम्रो साथ दिए।

बलिङतर्फ हैदरावादका हर्ष दूबेले २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। इशान मलिङ्गा र शिवाङ कुमारले समान १–१ विकेट हात पारे भने इशान किशनले निकोलस पूरनलाई रनआउट गराए।

यसअघि ब्याटिङ गरेको हैदरावादका लागि हेनरिक क्लासेनले ६२ र नीतीश कुमार रेड्डीले ५६ रनको अर्धशतकीय योगदान दिएका थिए। एक समय खराब अवस्थामा रहेको हैदरावादलाई यी दुई ब्याटरले पाँचौँ विकेटका लागि ११६ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

लखनउका तर्फबाट मोहम्मद सामी, प्रिन्स यादव र आवेश खानले २–२ विकेट लिए भने दिग्वेश राठी र मणिमारन सिद्धार्थको भागमा १–१ विकेट रह्यो। हैदरावादका हर्षल पटेललाई कप्तान ऋषभ पन्तले रनआउट गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप