हिरासतमा रोए सागर लम्साल ‘बले’
सारांश
- अभिनेता सागर लम्साल ‘बले’ सामाजिक सञ्जालमा लागेको बलात्कारको आरोपका कारण प्रहरी हिरासतमा छन्।
- हिरासतमा रहेका सागरले आफ्नो १७ वर्ष लामो करियर क्षणभरमै ध्वस्त भएको भन्दै दुःख व्यक्त गरेका छन्।
- जाहेरी नपरे पनि प्रहरीले शान्ति सुरक्षा सम्बन्धी कसुरमा सागरलाई ५ दिन हिरासतमा राख्ने अनुमति पाएको छ।
काठमाडौँ । अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर अहिले एउटा सामाजिक सञ्जालको ‘स्ट्याटस’ का कारण गम्भीर मोडमा पुगेको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहत हुँदै आफ्नो दशकौँ लामो प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् ।
हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए । आफ्नो पीडा पोख्दै सागरले निर्देशक गिरीसँग भने, ‘दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो ।’ आफ्नो करियर बनाउन बिताएको झन्डै दुई दशकको सङ्घर्ष एकै पलमा खरानी भएको महसुस गर्दै सागरले आँसु झारेपछि निर्देशक गिरी पनि स्तब्ध बनेका थिए । गिरीले भने, ‘उसको त्यो हालत देखेर मेरो पनि आँसु थामिएन । मैले सत्यको जित हुन्छ’ भनेर सम्झाएर आएको छु ।’
यस घटनाको रोचक पक्ष के छ भने सागरविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी परेको छैन । सामाजिक सञ्जालको एउटा पोस्टलाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको अनुमति दिएका छन् ।
निर्देशक राजु गिरीले एक वर्ष पुरानो घटनालाई लिएर विना जाहेरी प्रहरीले देखाएको सक्रियता र एकतर्फी कानुनी अभ्यासमाथि प्रश्न उठाएका छन् । ‘पुरुषलाई मात्र बलात्कारको मुद्दा लाग्ने, महिलाले जे भने पनि हुने ?’, उनले अगाडि थपे– ‘दोषीलाई कडा सजाय होस्, दोषी प्रमाणित बिना अपराधी जस्तो गर्न मिल्दैन ।’
स्ट्याटस बाहिर आएपछि सागरको व्यावसायिक जीवनमा ठुलो धक्का पुर्याएको छ । उनलाई छायाङ्कन भइरहेको फिल्म ‘पाँच पाण्डव’ बाट औपचारिक रूपमा निष्कासित गरिसकिएको छ ।
त्यस्तै, उनी मुख्य भूमिकामा रहेको र राजु गिरीकै निर्देशनमा तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को भविष्य पनि अन्योलमा परेको छ ।
फिल्मको मुख्य अभिनेता नै कानुनी झमेलामा फसेपछि फिल्म रिलिज अनिश्चित बनेको निर्देशक गिरीले बताए । ‘डल्लेले इन्ट्री मार्यो’ गिरीले नै निर्देशन गरेको पछिल्लो फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण