सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस विवाद मिलाउन शेखरको सक्रियता : वार्ता गर्न छुट्टाछुट्टै नेतालाई जिम्मेवारी

भन्छन्, ‘अपमान सहेर भए पनि पार्टी एकताका लागि जुनसुकै त्याग गर्न तयार छु’
बिहीबार, २६ चैत २०८२, ११ : ५१
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसभित्रको बढ्दो विवाद समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाउन डा. शेखर कोइरालाले सक्रियता बढाउनुभएको छ।
  • पार्टी एकताका लागि वार्ता गर्न डा. कोइरालाले विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्नुभएको छ।
  • सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बावजुद पार्टी फुट्नबाट जोगाउन मध्यमार्गी भूमिकामा उभिने डा. कोइरालाले प्रतिबद्धता जनाउनुभएको छ।

काठमाडौँ । गत पुसमा भएको विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्रको विवाद चरमोत्कर्षमा छ।

पुस २७ देखि ३० गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिकता दिएको थियो। त्यसविरुद्ध देउवा र डा. कोइराला समूहले सर्वोच्च अदालतमा आधिकारिकता माग गर्दै दायर गरेको रिट अझै पनि विचाराधीन छ।

पार्टीमा विवाद यति बढेको छ कि सर्वोच्चले जसको पक्षमा फैसला गरे पनि पार्टी एक रहन सक्ने अवस्था देखिँदैन। तथापि केही नेताहरू पार्टीलाई एक राख्नुपर्छ भनेर प्रयासरत छन्। विशेष महाधिवेशनका बेलामा देउवा समूहतिर लागेका डा. शेखर कोइराला पछिल्ला दिनमा आफ्नो समूहलाई बीचमा राखेर दुवै समूहलाई मिलाउने प्रयास गरिरहेका छन्।

डा. कोइरालाले दुवै समूहलाई कसरी मिलाउने भन्ने रणनीति बनाउन मङ्गलवार विशालनगरस्थित सचिवालयमा आफ्नो समूहका नेताहरूको बैठक राखेका थिए। पछिल्लो समय देउवा समूहसँग नजिक रहेका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालासहितको बैठकमा निवर्तमान कार्यसमितिका ३ पदाधिकारीसहित १६ केन्द्रीय सदस्य उपस्थित थिए।

बैठकमा सहभागी एक नेताका अनुसार त्यहाँ निवर्तमान कार्यसमितिका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए। त्यसबाहेक डा. शेखर, डा. शशाङ्क, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, दीपक गिरी, दीलेन्द्र बडू, डा. गोविन्द पोखरेल, सरिता प्रसाईं, रुक्मिणी कोइराला, डा. चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली र किरण यादव सहभागी थिए।

उनले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि संवाद गर्दै पार्टीलाई मिलाउन लाग्नुपर्नेमा संवादविहीन तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाएका थिए।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार बैठकको सुरुवात गर्दै डा. शेखरले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्चले जे निर्णय गरे पनि पार्टीलाई एक राख्न आफू जस्तोसुकै अपमान सहन तयार रहेको बताएका थिए।

‘कुनै पनि समूहमा लाग्न नसक्ने भन्दै मलाई पार्टीभित्रकै साथीहरूले अपमान गर्दै आइरहनुभएको तपाईंहरूलाई थाहा नै छ,’ डा. शेखरको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘अहिले सर्वोच्चले आधिकारिकता जुन समूहलाई दिए पनि पार्टी एक नरहने अवस्था मैले देखिरहेको छु। तसर्थ पार्टीलाई एक राख्न अझै जस्तो अपमान सहन र त्याग गर्न पनि तयार छु। त्यसैले म मध्यमार्गी धारमा उभिएर एकताका लागि काम गर्छु। त्यसमा तपाईंहरूले साथ दिनुहोला।’

उनले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि संवाद गर्दै पार्टीलाई मिलाउन लाग्नुपर्नेमा संवादविहीन तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाएका थिए। पार्टीको बागडोर सम्हाल्नेले मिलाउन प्रयास गर्नुपर्ने भए पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वमा त्यो नदेखिएको उनको भनाइ थियो।

‘पार्टीको बागडोर सम्हालेकाले पार्टीलाई एक बनाउन पहलकदमी लिनुपर्ने हो, त्यो देखिएको छैन,’ डा. शेखरले बैठकमा भनेका थिए, ‘सर्वोच्चमा मुद्दा दायर गरेको समूह पनि पार्टी एकताका लागि जति लचिलो बन्नुपर्ने थियो, त्यति लचिलो बनेको देखिएको छैन। म आफ्नै आँखाअगाडि पार्टी फुटेको देख्न सक्दिनँ, मिलाउनुपर्छ।’

४ घण्टा चलेको बैठकमा मुख्य गरी पार्टीलाई एकढिक्का राख्न कसरी अगाडि बढ्नुपर्छ भनेर डा. शेखरले नेताहरूसँग सुझाव मागेका थिए।

त्यसपछि पूर्वमहामन्त्रीसमेत रहेका डा. शशाङ्कले पनि पार्टीलाई एकढिक्का बनाएर राख्नुपर्ने बताएका थिए। पार्टीलाई एकढिक्का बनाउने डा. शेखरको पहलकदमीमा आफ्नो पनि साथ रहने उनको भनाइ थियो।

बैठकले पार्टी एकताका लागि वार्ताको मध्यस्थता गर्न छुट्टाछुट्टै नेताहरूलाई जिम्मेवारी दिएको छ। पुरानो संस्थापन (देउवा समूह) सँग वार्ता गर्नका लागि डा. मिनेन्द्र रिजाल र डा. गोविन्द पोखरेलले जिम्मेवारी पाएका छन् भने विशेष महाधिवेशनपछि संस्थापन बनेको समूहसँग वार्ता गर्ने जिम्मेवारी निवर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेले पाएका छन्।

बैठकमा बोल्ने सदस्यहरूले डा. शेखरलाई कुनै धार नसमाती पार्टी फुट्नबाट जोगाउन मध्यमार्गी भूमिका निभाउन आग्रह गरेका थिए। त्यस्ता धारणा राख्ने सदस्यहरूलाई जवाफ दिँदै उनले आफ्नो लाइन त्यही रहेको बताएका थिए।

४ घण्टा चलेको बैठकमा मुख्य गरी पार्टीलाई एकढिक्का राख्न कसरी अगाडि बढ्नुपर्छ भनेर डा. शेखरले नेताहरूसँग सुझाव मागेका थिए।

नेतृ सरिता प्रसाईंले आफूहरूले पार्टीलाई कसरी एक बनाएर लैजाने भन्ने विषयमा ४ घण्टा छलफल गरेको स्वीकारिन्। रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीलाई कसरी एकताबद्ध गराउने भन्ने विषयमा कुराकानी गरेका हौँ, यो अनौपचारिक छलफल हो। पार्टीलाई एक राख्न के-के गर्नुपर्छ भनेर उहाँ (डा. शेखर) ले सुझाव माग्नुभयो र नेताहरूले आ-आफ्ना सुझाव दिनुभयो।’

प्रसाईंले पार्टीलाई एकढिक्का बनाउने गरी महाधिवेशनमा जानुपर्ने बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप