मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
विकास निर्माण

‘भरियाको गाउँ’मा छिटै पुग्नेछ गाडी

बिहीबार, २६ चैत २०८२, १२ : ४१
बिहीबार, २६ चैत २०८२

सारांश

  • खोटाङ र उदयपुरको सिमानामा रहेको धाप्लाङघाटमा सुनकोशी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको कामले तीव्रता पाएको छ।
  • पुल निर्माण भएपछि खोटाङका स्थानीयले तराईसँग सिधा यातायातको सुविधा पाउनुका साथै कृषि उपजले बजार पाउने अपेक्षा गरिएको छ।
  • निर्माण कम्पनीले २०८३ साल चैतभित्र सवारी साधन वारपार गराउने गरी काम भइरहेको जनाएको छ।

विराटनगर । खोटाङको दक्षिणी भेग ‘भरियाको गाउँ’का रूपमा चिनिन्छ । अहिले पनि कतिपय बुढापाकाले भरियाको गाउँ भनेरै त्यस ठाउँलाई बुझ्छन् । त्यो परिभाषा बिस्तारै बदलिँदै छ । किनकि खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पुलको कामले गति लिएको छ ।

बराहापोखरी गाउँपालिका–२, सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते २४ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो । २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो पुल शिलान्यास गरेका थिए ।

२०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी सम्झौता गरिए पनि काम भएको थिएन । ९ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा स्थानीय निराश थिए । यद्यपि अहिले काम तीव्र गतिमा अगाडि बढेको छ ।

खोटाङबाट निर्वाचित प्रदेश सांसद भुपेन्द्र राईले पुल निर्माणका क्रममा अप्ठ्यारो अवस्था देखिएको स्थानमा बुधबार पिल्लर ठडिएको बताए । ‘अब एउटा पिल्लर बनिसक्ने हो भने ०८३ सालभित्रमा मोटरेबल पुल सञ्चालन हुने आशा गर्न सकिन्छ,’ उनले भने ।

यो पुल बनेपछि खोटाङ प्रत्यक्ष रूपमा तराईसँग जोडिन्छ । त्यहाँबाट प्रत्यक्ष यातायात चल्दा कृषिजन्य उत्पादनले बजार पाउने खोटाङका जनताको आशा रहेको दिप्रुङ चुइचुम्मका अमृत गिरीले बताए ।

सांसद राईका अनुसार खोटाङको बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका बासिन्दा यो पुल बनेपछि तराईसँग सिधा आवत–जावत गर्न सक्नेछन् । ‘खोटाङका झन्डै ३५ प्रतिशत जनता लाभान्वित हुनेछन्,’ राईले भने । पुल निर्माणको काम रसुवा कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।

पछिल्लो पटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्छ । २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारी साधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौंअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ, तर पक्की पुल नहुँदा ठुला सवारीसाधन वारपार हुँदैन थिए । मोटरसाइकल भने झोलुङ्गे पुलबाटै वारपार गर्दै आएका थिए ।

  • ४ अर्ब ६२ करोडका पुल बन्दै

कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरूको काम भने सुस्त गतिमा भइरहेको पाइएको छ । सङ्घीय सरकारको सडक विभागअन्तर्गत पुल सेक्टर (धरान)ले हेर्ने गरी ४ अर्ब ६२ करोड ५३ लाखभन्दा बढी रकममा छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको हो ।

ती पुलमा हालसम्म एक अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल सम्झौताको करिब ३४.३७ प्रतिशत हो । त्यसमध्ये रणनीतिक पुलको रूपमा रहेका ९ वटा पुलको प्रगति झनै निराशाजनक छ ।

हालसम्म ती पुलहरूको ७६ करोड ९८ लाखमा ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति भने १५ करोड २७ लाखमात्रै छ । त्यसको तुलनामा १३ वटा स्थानीय पुलका लागि कुल ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का लागेको छ भने हालसम्म एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

उता, कार्यालयको तथ्याङ्क अनुसार निर्माणाधीन २२ वटा पुलमध्ये केवल ३ वटाको मात्र प्रगति सन्तोषजनक छ भने बाँकी आयोजना वर्षौंदेखि निर्माणाधीन अवस्थामा अल्झिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप