बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीले राजनीति किन नगर्ने ?

शुक्रबार, २७ चैत २०८२, १४ : ०१
शुक्रबार, २७ चैत २०८२

सारांश

  • विद्यार्थीहरूले आफ्नो व्यक्तित्व विकास, सङ्गठन सञ्चालन र सही नेतृत्व निर्माणका लागि राजनीति सिक्नु आवश्यक छ।
  • शिक्षा प्रणालीमा रहेका विसङ्गति र महँगी विरुद्ध सङ्घर्ष गर्न विद्यार्थीहरू सङ्गठित हुनुपर्छ।
  • देशको राजनीतिक व्यवस्थामा सुधार ल्याउन र असल नेतृत्व प्रदान गर्न विद्यार्थी आन्दोलनले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ।

‘विद्यालयहरू राजनीतिबाट बाह्र हात टाढा रहनुपर्छ भन्नु बुर्जुवा पाखण्ड हो । यो सिद्धान्तको वकालत गर्ने बुर्जुवाहरू नै शैक्षिक प्रणालीलाई बुर्जुवा राजनीतिको आधार बनाएर विद्यालयलाई आफ्ना आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रका रूपमा खुम्च्याउन चाहन्छन् । यहाँसम्म कि शिक्षाको विश्वव्यापी मान्यतालाई शिरदेखि पाउसम्मै बुर्जुवाहरूको आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने तथा पुँजीको सेवा गर्ने दास निर्माणको केन्द्रमा झार्न चाहन्छन् ।’ यो भनाइ हो लेनिनको ।

यो कुरा सन् १९५४ अघि नै लेनिनले भनेका थिए । आज सन् २०२६ भयो । उसो त लेनिनले यो भनाइ व्यक्त गरेको ७२ वर्षभन्दा बढी भयो । सायद तिनताका पनि विद्यार्थीले राजनीति गर्न नहुने बहस भइरहेको हुँदो हो । लेनिनको उपरोक्त भनाइबाट त्यस्ता बहस किन बेतुकका छन् भन्नेबारे त्यसबेलै पर्याप्त बहस भएको पाइन्छ । तर यो बहस आज पनि त्यति नै सान्दर्भिक हो भने जसरी गरिँदै छ ।

यतिसम्म कि शैक्षिक संस्थाहरू शान्ति क्षेत्र भएकाले त्यहाँ राजनीति गर्नुहुँदैन भनिन्छ । मानौँ राजनीति शान्ति खलल पार्ने अभियान हो । अझ राजनीतिले पढाइसँगै विद्यार्थीको भविष्य बिगार्ने तर्कहरू पनि सुनिन्छन् । झन् धेरैजसो विद्यार्थी स्वयंले पनि राजनीतिलाई घृणाको विषय बनाइरहेको पाइन्छ । यो सबै बहसबीच विद्यार्थीले राजनीति किन नगर्ने त भन्नेबारे आलेखमा चर्चा गरिनेछ ।

  • व्यक्तित्व विकासका लागि राजनीति

शैक्षिक क्षेत्रलाई बुर्जुवाहरूले भने जसरी कुनै सङ्घसंस्थामा जागिर खाने आधार निर्माणको थलो मात्रै मान्ने हो भने पनि विद्यार्थीले राजनीति सिक्नु आवश्यक छ । राजनीति वडाध्यक्ष, मेयर, सांसद वा मन्त्री हुन मात्र होइन, संस्था र सङ्गठन सञ्चालनका लागि पनि उत्तिकै आवश्यक विषय हो । सरहरूबीच हेडसर हुन, क्याम्पस चिफ, म्यानेजर, सिइओ, डाइरेक्टर आदि हुन विद्यार्थीमा राजनीतिक चेत जरुरी हुन्छ । राजनीतिक चेतनाले नै व्यक्तिमा सङ्गठन सञ्चालनको क्षमता, निर्णय लिने क्षमता, व्यक्तिबीच सञ्चार गर्ने क्षमता र जोखिम मोल्ने क्षमताको विकास गराउँछ । र, यसरी परिपक्व व्यक्तिद्वारा नेतृत्व गरिने कुनै पनि संस्था वा सङ्गठनले उच्च र प्रभावकारी कार्यसम्पादन गर्न सक्छ ।

राजनीति सम्पूर्ण नीतिहरूको मूल नीति हो । पढ्दापढ्दै गरिने राजनीतिले विद्यालयलाई शैक्षिक वातावरण निर्माणमा विद्यार्थीको भूमिका के हुने भन्नेबारे जागरुक बनाउँछ । विडम्बना, हामी पढ्न आउँदै गर्दा पूर्ण शैक्षिक वातावरण पाइरहेका हुँदैनौँ । लाइब्रेरीको समस्या, खानेपानी, गुणस्तरीय क्यान्टिन, सफा शौचालय, आवश्यक खेलकुद सामग्रीको अभावलगायत शिक्षकहरूको समस्यालगायत विषयहरू भोगिरहेका हुन्छौँ । यो हाम्रो व्यक्तित्व विकासमा बाधा पुर्‍याउने कुरा हो । यो अवस्थाका विरुद्ध सम्बन्धित ठाउँमा बोल्न, माग राख्न र मागको सम्बोधन गराउन विद्यार्थीहरू एकताबद्ध, सङ्गठित हुनुपर्छ । जुन राजनीतिविना सम्भव हुँदैन ।

विद्यालय हामीले सिक्ने ठाउँ हो । यहाँ हरेक विषयहरू विद्यार्थीले सिक्न पाउनुपर्छ । राजनीति पनि सिक्न पाउनुपर्छ । राजनीति सिक्ने विषय विद्यार्थीको व्यक्तित्व विकाससँग जोडिएको कुरा हो । विद्यार्थीले सानैबाट राजनीति सिकेर भोलि असल नेता बन्ने अवस्था आउँदा विद्यार्थीको पढाइ र भविष्य बिग्रिने कुरा छाडौँ, झन् उसले देश र जनताको सुन्दर जीवनको प्रत्याभूति दिने अवस्था बन्छ ।

  • षड्यन्त्र चिर्न विद्यार्थी राजनीति

लेनिनले ७२ वर्षअघि भनेझैँ बुर्जुवाहरू विद्यार्थीलाई आफ्नो आज्ञाकारी र योग्य कारिन्दा मात्रै बनाउन चाहन्छन् । त्यसका लागि पाप, धर्म, रैती नैतिकता, अन्धविश्वास, कोरा भावना र केवल घोकन्ते प्रणालीमा आधारित पाठ्यक्रम पढाएर विद्यार्थीलाई विवश गराइन्छ । पढिरहँदा धेरैजसोले भोलि जागिर खानेबाहेकका अन्य सपना देख्न सक्ने स्थिति नै छैन । अब विद्यार्थीले यो अवस्था स्वीकार गर्नु हुँदैन । जरुर, कसै न कसैले जागिर पनि गर्नुपर्छ । तर सारा विद्यार्थीसँग जागिरबाहेक अरू विकल्प नहुनु आजको युग सुहाउँदो कुरा होइन ।

दुनियाँ उहिले नै चन्द्रमामा पुगिसक्यो । विभिन्न कोणबाट मङ्गल ग्रहको अनुसन्धान हुँदै छ । तर हाम्रो शिक्षा प्रणालीले केवल जीवन निर्वाहका लागि भौँतारिनुपर्ने स्थिति अझै तोड्न सकेन । हामीले पढेर भोलि जागिर खाने भनेको घर व्यवहार चलाउन मात्र हो । घर व्यवहार त मानवजातिले लाखौँ वर्षदेखि चलाउँदै आएको छ । आजका विद्यार्थीको अभिभारा दुनियाँको उन्नतिका लागि अध्ययन गर्नु, अनुसन्धान गर्नु र वैज्ञानिक आविष्कार गर्नु हो । तर हाम्रो शिक्षा प्रणालीले त्यो अवसर प्रदान गर्दैन । अवश्य पनि यो चित्रण निराशाजनक छ तर वास्तविकता पनि यही हो ।

अरू कुनै विकल्प नभएर हाम्रो शिक्षा प्रणाली यति पछौटे र निकम्मा भएको होइन । पुँजीका मालिकहरू विद्यालयबाट आज्ञाकारी र योग्य कामदार उत्पादन गर्न चाहन्छन् । यो बुर्जुवाहरूको तुच्छ चाहनाको उपज हो । उनीहरू विद्यार्थीले केही नयाँ सिक्ने स्थिति रोक्न चाहन्छन् र विद्यालयमा राजनीतिको विरोध गर्छन् । तर त्यो झन् ठुलो षड्यन्त्रमूलक राजनीति हो । उज्ज्वल भविष्यको आशमा विद्यालय प्रवेश गरेका सारा विद्यार्थीलाई आफ्नो स्वार्थअनुकूल मात्र हुने गरी खुम्च्याउनु सानोतिनो राजनीति होइन । त्यसैले यो आपराधिक राजनीतिविरुद्ध एकचोटि सारा विद्यार्थीले यो राजनीति बुझ्नुपर्छ ।

  • अधिकार र विद्यार्थी राजनीति

अनुभवहरूबाट हामी प्रस्ट छौँ, विद्यार्थीलाई राजनीतिबाट कटाउन चाहने निकायहरूले विद्यार्थीका अधिकारहरू सुनिश्चित गर्न सक्दैनन् । देशको अवस्थाले विद्यार्थीले पढिसकेपछि सजिलै जागिर पाउने अवस्था छैन । हाम्रा धेरै अग्रजहरूले पढाइसकेर निराश हुँदै विदेश जानुपरेको हामीले देखेका छौँ । भोलि हामीले पढिसक्दा त्यसरी विदेश जान नपरोस् भन्नका लागि, हामीले आफ्नो महत्त्वपूर्ण समय, ऊर्जा र लगानी खर्चेर पढिसकेपछि सिकेका कुराहरू आफ्नै देशको हितमा लगाउन पाइयोस् भन्नका लागि हामी स्वयं नै सोच्नुपर्नेछ ।

विद्यार्थीलाई राजनीति गर्नबाट रोक्न खोज्ने शैक्षिक संस्थाहरू, व्यवस्थापन समितिलगायत हामीले विश्वास गरेर, चुनाव जिताएर पठाएका व्यक्तिले सञ्चालन गरिरहेका कुनै पनि सरकारहरू जस्तै: स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार कतैबाट पनि हामीले भोलि सहजै जागिर पाउने वातावरण निर्माणका लागि काम भइरहेको छैन ।

अनि हाम्रो देशको संविधानमा शिक्षालाई मौलिक हक भनिए पनि व्यवहारमा शिक्षालाई यति महँगो बनाइएको छ कि हामीलाई शैक्षिक शुल्क सम्झेर नै तनाव हुन थाल्छ । एकतिर देशको अवस्थाले नागरिकको आर्थिक अवस्था कमजोर हुनु अर्कोतर्फ महँगो शैक्षिक शुल्क । देशको विकास र समृद्धिका लागि राज्यले विद्यार्थीमा प्रचुर लगानी गर्नु जरुरी छ ।

यसै कारणले शैक्षिक प्रणाली निकै महँगो बनेको छ । अहिले हामीसँगै पढेर देशको सेवाका लागि तयार हुनुपर्ने हाम्रा थुप्रै साथीहरूले पैसाको अभावमा पढ्न पाएका छैनन् । संविधानले व्यवस्था गरेबमोजिम शिक्षालाई व्यवहारमा पनि मौलिक हक बनाउने र हाम्रा सबै साथीहरूले पढ्न पाउने अनि पढिसकेपछि आफ्नो ज्ञानसिप यही देशको प्रगतिमा लगाउने वातावरण निर्माण गर्न राजनीति जरुरी छ ।

  • जिम्मेवारी निर्वाहका लागि विद्यार्थी राजनीति

परिस्थितिले विद्यार्थीका अघिल्तिर ठुलो जिम्मेवारी सुम्पेको छ । हाम्रो देश आज विश्वमानचित्रमा गरिबीको रेखामुनि छ । त्यस्तै देश, जनता र विद्यार्थीले भोग्नुपरेका जति पनि समस्याहरू छन् जस्तै: महँगी, भ्रष्टाचार, ठगी, बेरोजगारी, निराशा, युवा पलायन, वैदेशिक हस्तक्षेप, यी सबै कुरा खराब राजनीतिका कारणले पैदा भएका हुन् । सिङ्गो देश यी समस्याबाट मुक्ति चाहन्छ । त्यसैले हाम्रो राजनीति सही बनाउनु जरुरी छ । राजनीतिलाई सही बनाउने अभिभारा विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूकै काँधमा छ ।

माथि छलफलमा डाक्टर, पाइलट, वकिल, शिक्षक, वैज्ञानिकहरू विद्यार्थीबाट आउने कुरा भयो, त्यसरी नै राजनेता पनि विद्यार्थीबाटै आउने हो । पहिलाजस्तो अहिले कोही पनि सिधै खेत र कलकारखानामा पुग्दैन । भोलि किसान र मजदुर हुने मान्छे पनि आज स्कुलमै छ । अचेल माध्यमिक तहसम्म त लगभग सबैले पढ्छन् । त्यसैले अहिले देशको राजनीतिमा रहेको भ्रष्ट, दलाल र पतित वर्गलाई विस्थापित गर्न योग्य नेताहरू विद्यार्थीले नै दिनुपर्छ ।

सङ्क्षिप्तमा भन्दा गलत राजनीति र खराब नेताहरूको चङ्गुलबाट देशलाई सही राजनीति र असल नेताहरूको मातहतमा ल्याउन सही राजनीतिक व्यवस्था स्थापनाका लागि सङ्घर्ष गर्नु र असल नेता बन्नका लागि अनवरत मेहनत गर्नु विद्यार्थीको जिम्मेवारी हो ।

इतिहासमा विद्यार्थी राजनीतिले यस्तै जिम्मेवारीहरू बहन गर्दै आएको छ । विगतमा राजनीतिक निरङ्कुशता फाल्न विद्यार्थीले ठुलो सङ्घर्ष र बलिदान गरेका छन् । राणा शासन, पञ्चायत व्यवस्था तथा अन्य न्यायपूर्ण आन्दोलनहरूमा विद्यार्थीहरूको आन्दोलनले धेरै ठुलो योगदान गरेको छ । उक्त सङ्घर्षमा आहुति दिने महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, चिनियाकाजी, मित्रमणि पौडेल, दिलबहादुर रम्तेल, वेनोज अधिकारी, प्रजोल शाहीलगायत हजारौँ विद्यार्थी यस आन्दोलनका गर्विला नक्षत्र हुन् ।

परिवर्तनमा उनीहरूले खेलेको भूमिकाकै अवमूल्यन गर्दै गरिने विद्यार्थी आन्दोलन खारेजीको कुरा इतिहासबाट काटिएको वर्तमान र जराविहीन ठड्याउन खोजिएको रुखजस्तो प्रतीत हुन्छ । आजका दिन पनि एउटा स्पष्ट कुरा के हो भने विद्यार्थी आन्दोलन खारेजीको जतिसुकै रटान गरे पनि देशलाई सङ्कट पर्दा यो आन्दोलन आफैँ सङ्गठित भएर सडकमा आइपुग्छ र त्यसले नयाँ नेपालको दिशा कोर्ने निश्चित छ ।

(कपिल सी अखिल समाजवादीका केन्द्रीय सचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कपिल सी
कपिल सी
लेखकबाट थप