मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदयपुर सिमेन्ट भ्रष्टाचार प्रकरण : पूर्व निमित्त महाप्रबन्धक साहसँग १० लाख धरौटी माग

शुक्रबार, २७ चैत २०८२, २० : ०५
शुक्रबार, २७ चैत २०८२

सारांश

  • विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साहसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ।
  • साहमाथि ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सरकारी क्लिङ्कर हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

काठमाडौँ । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साहसँग १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । 

शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो । अदालतले साहसँग १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत माग गरेको छ । 

यदि उक्त धरौटी रकम बुझाउन नसके उनलाई थुनापूर्जी दिई कारागार पठाउन समेत आदेशमा उल्लेख गरिएको छ । 

तर, अदालतले प्राप्त प्रमाणहरू, छानबिन समितिका प्रतिवेदनहरू, क्लिङ्करको मौज्दात विवरण र कन्ट्रोल रुमको रजिस्टरमा साहको आफ्नै हस्ताक्षर रहेको लगायतका तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ ।  उद्योगको ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सरकारी सम्पत्ति (क्लिङ्कर) हिनामिना गरेको अभियोगमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

नवलकिशोर साहले आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्म उदयपुर सिमेन्ट उद्योगमा उत्पादन महाशाखा प्रमुख, नायव महाप्रबन्धक र निमित्त महाप्रबन्धकको रूपमा कार्यरत रहँदा पदको दुरुपयोग गरी क्लिङ्कर हिनामिना गरेको आरोप छ । अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा बदनियत राखी ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको थियो ।

अदालतसमक्ष बयान दिने क्रममा साहले आफूमाथिको आरोप अस्वीकार गरेका थिए । उनले क्लिङ्करको लागत मूल्य बढी देखिएको र भौतिक परीक्षणमा देखिएको फरकलाई पहिले नै हिसाब मिलान गरिसकिएको दाबी गरेका थिए । उनले “आउटसाइड क्लिङ्कर“ मा हुने नोक्सानीलाई गणना नगरिएका कारण परिमाण बढेको जस्तो देखिएको भन्दै आफूले कुनै भ्रष्टाचार नगरेको जिकिर गरेका थिए ।

nawalkishornawalkishor_1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप