बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक चर्चा

इन्द्रेणी सौन्दर्य : अक्षरभित्रका अनुभूतिहरू

शनिबार, २८ चैत २०८२, १३ : ३०
शनिबार, २८ चैत २०८२

सारांश

  • ‘इन्द्रेणी सौन्दर्य’ निबन्ध सङ्ग्रह लेखकको जीवनका भोगाइहरू र अनुभूतिको जीवन्त अभिलेख हो।
  • यसमा लेखकले जीवन, प्रकृति र समाजका विविध पक्षहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।
  • यो कृति पाठकका लागि आफूलाई नयाँ ढङ्गले बुझ्ने र जीवनको अर्थ खोज्ने एउटा झ्याल बन्ने विश्वास लेखकको छ।

‘इन्द्रेणी सौन्दर्य’ निबन्ध सङ्ग्रह अक्षरभित्रका मेरा अनुभूतिहरू हुन् । यी अनुभूतिमा जीवन, प्रकृति र समयका घामछायाँ छन् । सौन्दर्यको मिर्मिरे बिहान र गोधूलि समयका रक्तिम दृश्यहरू छन् । सप्तरङ्गी इन्द्रेणीका अध्यायहरूमा अनुभूतिको भाव अक्षरमा अवतरित भएको छ । म अक्षरका यिनै अवतारहरूमा आफूलाई अभिव्यक्त गरिरहेको हुन्छु । त्यसैले मेरा निबन्धहरू अक्षरभित्रका अनुभूतिहरू हुन् ।

बाहिरबाट हेर्दा निबन्ध लेख्नु सामान्य शिल्प जस्तो लाग्छ– मनमा आएका लहरहरूलाई कागजमा ओराल्नु र शब्दहरूको खेती गर्नु । कतिपयलाई लाग्दो हो, आजको समयमा किताब छाप्न, पाठक पाउन र चर्चाको शिखरमा पुग्न कुन ठूलो कुरा हो र ? आफ्नै गन्थन र आफ्नै मन्थन जस्तै । तर एउटा सर्जकका लागि यी प्रश्नहरू प्रश्न मात्र होइनन् । यो त कठोर साधना र अग्निपरीक्षा हो । यो कुराको सत्यता या त शब्दहरूसँग पौठेजोरी खेल्ने लेखकलाई थाहा हुन्छ या त ती शब्दलाई आकार दिने प्रकाशकलाई । पाठकले भने यसको मिठास महसुस गर्न सक्छन् ।

नेपाली साहित्यको फाँटमा एउटा इमानदार लेखक भएर उभिनु कति चुनौतीपूर्ण छ भन्ने कुराको साक्षी मेरो आफ्नै समय छ । भर्खरै सार्वजनिक भएको मेरो निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ पुस्तक मात्र होइन, यो त मेरा भोगाइहरूको सँगालो र अनुभूतिको जीवन्त अभिलेख हो ।

सिर्जनाको प्रसवपीडा कस्तो हुन्छ, त्यो एउटा निबन्धकारले मात्र अनुभूत गर्न सक्छ । ‘इन्द्रेणी सौन्दर्य’ का पाटाहरू बुन्दै गर्दा मैले शब्दहरू मात्र छानिरहेको थिइनँ, आफ्नै हृदयका धड्कनहरूलाई लिपिबद्ध गरिरहेको थिएँ । नेपाली साहित्यको वर्तमान परिवेशमा एउटा वैयक्तिक निबन्ध लेख्नु भनेको आफ्नै आत्माको ऐना अगाडि उभिनु रहेछ । यहाँ लेख्नु मात्र पर्याप्त छैन, लेखिएका कुरामा मौलिकता र संवेदनाको रङ भर्नु उत्तिकै कठिन छ ।

जसरी आकाशमा देखिने इन्द्रेणी सात रङको सम्मिश्रण भएर एउटै सुन्दर आकृतिमा बाँधिएको हुन्छ, मेरा यी निबन्धहरू पनि त्यस्तै छन् । यसमा कतै जीवनका तीता भोगाइहरू छन्, कतै प्रकृतिको अनुपम सामीप्य छ, त कतै समाजका विसङ्गतिप्रतिका सूक्ष्म प्रहारहरू छन् ।

‘इन्द्रेणी सौन्दर्य’ मा वैयक्तिकपन र पहिचानको खोजी छ । आफ्नै जीवनका उकाली–ओरालीहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने मेरो प्रयास रहेको छ । मेरो निबन्धमा संवेदनाको गहिराइ भेटिनेछ । पाठकले शब्द पढ्दा शब्द मात्र नपढून्, त्यसभित्र लुकेको एउटा मानव हृदयको स्पन्दन महसुस गरून् भन्ने मेरो चाहना हो ।

त्यसैगरी कलात्मक इमानदारिताले मेरा शब्दहरू चर्चा र प्रचारको पछि दौडिनुभन्दा एउटा लेखकले आफ्नो सिर्जनाप्रति कति इमानदार हुनुपर्छ भन्ने बोधलाई यसमा उतार्ने प्रयत्न गरेको छु ।

लेखन भन्नु मेरा लागि कठिन यात्राको मीठो फल हो । त्यसैले आजको बजारु चमकधमकमा विज्ञापनका भरमा किताबहरू बिक्लान्, प्रशंसाका शब्दहरू खर्चिएलान् । तर एकान्तमा बसेर कुनै अज्ञात पाठकले मेरो निबन्धको एउटा हरफ पढ्दा आफ्नो जीवनको कुनै पाटो फेला पार्‍यो भने मेरो लेखनको सार्थकता त्यहीँ हुनेछ । ‘इन्द्रेणी सौन्दर्य’ लेख्दाका ती रातहरू, भावनाको तीव्र वेग र शब्दहरूको छनोटमा बिताएका पलहरू सम्झँदा लेखक हुनु साँचो अर्थमा एउटा ‘तपस्या’ नै हो । निःस्वार्थ मनको ‘समर्पण’ हो । मात्र आत्मसन्तुष्टि प्राप्तिको ‘खुसी’ हो ।

यो सङ्ग्रह मेरो नितान्त व्यक्तिगत अनुभूतिहरूको ऐना हो, जहाँ मैले आफूलाई मात्र होइन, हाम्रो समय र समाजलाई पनि हेर्ने चेष्टा गरेको छु । अक्षरहरूसँगको यो प्रेम र सङ्घर्षको पहिलो पाटो यहीँबाट सुरु हुन्छ, जहाँ भावुकता र कलाको एउटा नयाँ सङ्गम भेटिनेछ । जीवन र प्रकृतिका एकाकार भावनाहरू शब्दका सुसेलीहरूमा बयली खेल्दै उकालो चढ्छन् । चौतारीमा बिसाउँछन् र ऊर्जा बटुलेर फेरि ओरालो झर्छन् ।

यसरी नै क्रमागत यात्रा निरन्तर हिँडिरहन्छ । म अक्षर र शब्दका पाइला तथा पदचाप पछ्याउँदै गन्तव्यतिर लम्किरहेको हुन्छु । त्यही यात्राले हिँडाएको प्रभाव र प्रेरणाले नै मेरो लेखनकर्म स्थापित हुन्छ ।

‘इन्द्रेणी सौन्दर्य’ शब्दहरूसँगै मेरो मनभित्रको ऐना पनि हो । यस सङ्ग्रहभित्रका निबन्धहरूमा मैले आफूलाई कतै ढाँटेको छैन, कतै लुकाएको छैन । यहाँ मेरा अनुभूतिहरू कुनै बन्धनमा छैनन्; ती त नीलो आकाशमा उडिरहेका चराहरू जस्तै निर्बन्ध र उन्मुक्त छन् । जब म लेख्न बस्छु, म लेखक मात्र रहन्नँ, म आफ्नै स्मृति, भोगाइ र सपनाहरूको एउटा यात्री बन्छु ।

आत्म र अनुभूति केन्द्रित भाव मेरो निबन्धमा छन् । जहाँ मेरा नितान्त निजी संवेगहरूले शब्दको रूप लिएका छन् । त्यसैगरी स्मृति र यात्रा केन्द्रित अनुभूतिमा मैले हिँडेका बाटोहरू र ती बाटोले मलाई सिकाएका जीवनका पाठहरू जीवन्त भएका छन् । सौन्दर्य र जीवन केन्द्रित विषयमा प्रकृति, पर्यावरण र मानवीय अस्तित्वको सुन्दरतालाई मैले दार्शनिक र भावनात्मक दृष्टिले हेर्ने प्रयत्न गरेको छु ।

विशेषतः ‘मैले हिँडेको बाटो यस्तो होस्’ तथा ‘मैले लेखेको निबन्ध यस्तो होस्’ जस्ता शीर्षकहरूमा मैले आफूलाई पूर्णतः स्वतन्त्र छोडिदिएको छु । त्यहाँ कुनै कृत्रिमता छैन, एउटा सर्जकको आत्मकेन्द्रित र निष्कपट चाहना र सङ्कल्प मात्र अभिव्यक्त छ । यिनै अभिव्यक्तिहरूमा मेरा निबन्धहरूले सास फेर्छन् । तिनको श्वासप्रश्वासमा म जीवनको गति समाउँछु ।

सौन्दर्यका बिम्ब उतार्दै मेरो लेखकीय मन अनुभूतिका अक्षरहरूमा अवतरित भएको छ । मैले सौन्दर्यलाई बाह्य चमकधमकमा मात्र देखिनँ । मेरो लेखकीय मन प्रेमको सौन्दर्यमा पग्लिएको छ । मौनताको सौन्दर्यमा हराएको छ र चाँदनी सौन्दर्यमा रमाएको छ ।

लेखकीय पानामा अझ अगाडि बढेर मैले पराजयको सौन्दर्यभित्र जीवनको अर्को एउटा गहिरो सत्य फेला पार्ने कोसिस गरेको छु । यी सबै बिम्बहरू मिलेर नै अन्ततः ‘इन्द्रेणी सौन्दर्य’ को निर्माण भएको हो, जहाँ जीवनका हरेक उज्यालो र अँध्यारो रङहरूले आफ्नो अस्तित्व कायम राखेका छन् ।

मलाई विश्वास छ, यी निबन्धहरू पढिरहँदा पाठकले केवल मलाई मात्र चिन्नुहुने छैन । आफू स्वयम्लाई पनि कतै न कतै भेट्नुहुनेछ । मानिस वास्तवमा के हो, को हो ? उसको अस्तित्वको अर्थ के हो ? प्रकृति, पर्यावरण र हाम्रो मौलिक संस्कृतिसँग हाम्रो कस्तो नाता छ ? यी प्रश्नहरूको उत्तर खोज्न र आफूलाई नयाँ ढङ्गले बुझ्न यो सङ्ग्रहले एउटा झ्यालको काम गर्नेछ भन्ने मेरो आशा छ ।

अन्ततः यी निबन्धहरू मेरो फुर्सदका साथी मात्र होइनन्, यी त मेरो जीवनका भोगाइहरूलाई पछ्याउँदै गरिएका सत्यको खोजीहरू हुन् । इन्द्रेणीका रङहरू जस्तै विविध तर एउटै आकाशमुनि आफ्नै देशभित्र अटाएका यी अनुभूतिहरू अब मेरा मात्र रहेनन्, पाठककै नासो भएका छन् ।

यो कृति मेरा शुभचिन्तक पाठकहरूका हातमा सुम्पिँदै गर्दा मलाई एउटा आत्मसन्तुष्टि मिलेको छ । मानौँ, मैले आफ्नो हृदयको एउटा अंश यहाँहरूलाई अर्पण गरिरहेको छु । आशा छ, यो ‘इन्द्रेणी’ ले यहाँहरूको मनमा पनि केही बेर भए पनि प्रेम र सौन्दर्यको रङ छर्न सफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप