सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
इतिहास

महाशक्तिहरूको उदय र पतनको कथा

शनिबार, २८ चैत २०८२, १५ : ३०
शनिबार, २८ चैत २०८२

सारांश

  • विश्व इतिहासमा महाशक्तिहरूको उदय र पतन एक निरन्तर चलिरहने प्रक्रिया हो।
  • स्पेन र बेलायतको पतनका प्रमुख कारकहरूमा बढ्दो ऋण र आर्थिक सङ्कट देखिएका छन्।
  • वर्तमान समयमा अमेरिका पनि उच्च ऋण र आन्तरिक चुनौतीका कारण उस्तै चक्रमा फस्दै गएको छ।

इतिहासबाट सिक्नेले इतिहास बनाउँछ; नसिक्ने स्वयम् इतिहास बन्छ । विश्व इतिहासले स्पष्ट देखाउँछ– शक्ति कहिल्यै स्थायी हुँदैन । एक समयका शक्तिशाली राष्ट्रहरू समयक्रममा कमजोर भएका छन् । केही त इतिहासको गर्भमै हराएका पनि छन् ।

समयको प्रवाहसँगै विश्वका महाशक्तिहरू निरन्तर बदलिँदै आएका छन् । प्राचीन मिश्र (ई.पू. २६००–११००), अकमेनिड फारसी (ई.पू. ५५०–३३०), म्यासेडोनियन (ई.पू. ३३६–३२३), रोमन साम्राज्य (ई.पू. २७–ई.सं. ४७६) र बाइजान्टाइन साम्राज्य (ई.सं. ३३०–१४५३) ले विभिन्न कालखण्डमा विश्वको नेतृत्व गरे ।

मध्यकालमा इस्लामिक खलिफाहरूको प्रभाव सातौँदेखि तेह्रौँ शताब्दीसम्म रह्यो भने मङ्गोल साम्राज्य (१३औँ–१४औँ शताब्दी) र ओटोमन साम्राज्यले (१४औँ–१५औँ शताब्दीको प्रारम्भसम्म) विशाल भूभागमा आधिपत्य जमाएका थिए ।

आधुनिक युगमा स्पेन (१६औँ–१७औँ शताब्दी) र त्यसपछि बेलायती साम्राज्य (१८औँ–२०औँ शताब्दीको प्रारम्भसम्म) विश्वका प्रमुख शक्ति बने । बीसौँ शताब्दीको मध्यदेखि संयुक्त राज्य अमेरिका विश्वको प्रमुख महाशक्तिका रूपमा स्थापित छ ।

  • स्पेनको उदय र पतन

सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि स्पेनले मेक्सिको, पेरु, बोलिभिया, कोलम्बिया आदि क्षेत्रका विशाल सुन–चाँदीका खानीहरूमा नियन्त्रण जमायो र युरोपको मुद्रा बजारमा प्रभुत्व बनायो । स्पेनी साम्राज्यको विस्तार भयो । साम्राज्य विस्तारसँगै यसले चारवटै महादेशमा सैन्य विस्तार गर्‍यो ।

अत्यधिक सम्पत्तिले उत्पादनभन्दा विलासितालाई बढावा दियो । घरेलु उत्पादन घट्दै गयो र युद्ध तथा विद्रोहले सैन्य खर्च बढ्यो । खर्च धान्न नसक्दा चाँदीको मुद्रा विस्थापन गर्न बाध्य भयो र तामाको मुद्रा प्रचलनमा ल्यायो । तर मुद्रास्फीति रोकिएन, झनै बढ्यो ।

स्पेनका बैङ्क पटक–पटक टाट पल्टिए । अर्थतन्त्र ऋणात्मक हुँदै जान थाल्यो । सम्हालिनका लागि ऋण लियो । ऋण तिर्न फेरि ऋण लियो र यही क्रम दोहर्‍याउँदै ऋणको पासोमा जेलिएर टाट पल्टियो । अन्ततः आर्थिक सङ्कट, मुद्रामाथिको विश्वासमा ह्रास र उपनिवेशहरूको विद्रोहले स्पेनी साम्राज्यको पतन भयो ।

  • बेलायती साम्राज्यको उदय र पतन

अठारौँ शताब्दीमा बेलायतले औद्योगिक क्रान्ति, मजबुत नौसेना र व्यापारिक कम्पनीहरू (जस्तैः इस्ट इन्डिया कम्पनी) को सहयोगले विश्वव्यापी साम्राज्य स्थापना गर्‍यो । भारत, अफ्रिका, अस्ट्रेलिया, क्यानडा लगायतका ठूला भूभागमा नियन्त्रण जमायो । ‘कहिल्यै सूर्य नअस्ताउने’ साम्राज्य कहलिएको बेलायत अन्ततः पतन भयो ।

सन् १९०६ सम्म बेलायतले छवटै महादेशमा सैन्य अखडा राखेको थियो । लन्डन विश्वको वित्तीय केन्द्र थियो भने पाउन्ड स्टर्लिङ विश्वको रिजर्भ मुद्रा ।

प्रथम विश्वयुद्ध (१९१४–१९१८) मा बेलायतले चाहँदा स्विट्जरल्यान्ड जस्तै युद्धमा सहभागी नभई तटस्थ पनि बस्न सक्थ्यो । तर बेलायत तटस्थ बसेन र युद्धमा होमियो । प्रथम विश्वयुद्धमा जित पनि हासिल गर्‍यो, तर युद्धको कारण ऋणमा चुर्लुम्म डुब्यो ।

सुनको सञ्चिति र पाउन्ड स्टर्लिङको दरभाउलाई स्थिर राख्न नसकेका कारण यो पतन भयो । अन्ततः सन् १९२५ मा मुद्राको बदला राखिने सुनको सञ्चिति राख्न छोड्यो । पाउन्डको मूल्यमा २५ प्रतिशतले गिरावट आयो ।

युद्धपछि सम्हालिएर अर्थतन्त्र उकास्दै तङ्ग्रिन खोज्दै मात्र के थियो, दोस्रो विश्वयुद्ध सुरु भयो र फेरि युद्धमा होमियो । सन् १९४५ सम्म आइपुग्दा बेलायत करिब ३० बिलियन डलर ऋणको भारमा थिचिएको थियो । सँगसँगै बेलायतका औपनिवेशिक राष्ट्रहरू स्वतन्त्रताको लहरमा उभिए । विभिन्न देशहरूमा एकैसाथ बेलायतबाट छुट्टिनका लागि आन्दोलन र विद्रोह हुन थाले ।

खस्कँदै गरेको पुरानो साम्राज्यको शक्ति र उपनिवेशबाट स्वतन्त्रता चाहनेहरूबीचको घर्षणमा स्वतन्त्रताप्रेमीहरूले विजय हासिल गरे भने अन्ततः बेलायती साम्राज्यको पतन भयो ।

  • अमेरिकी महाशक्तिको उदय र वर्तमान

दोस्रो विश्वयुद्ध (१९३९–१९४५) मा युरोप र एसियाका धेरै देशहरू ध्वस्त भए । तर अमेरिकी अर्थतन्त्र युद्धबाट सुरक्षित रह्यो । त्यतिखेर अमेरिकाले विश्वको आधाभन्दा बढी सामान उत्पादन गर्थ्यो र विश्वको निर्यातमा एक तिहाइ हिस्सा ओगट्थ्यो ।

उसँग विश्वको करिब दुई तिहाइ सुन सञ्चित थियो । ब्रेटन वुड्स सम्झौता (१९४४) ले अमेरिकी डलरलाई विश्वको मुख्य रिजर्भ मुद्रा बनायो । मार्सल प्लानमार्फत युरोपको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने भयो । यसले अमेरिकी कम्पनीहरूलाई मुनाफा कमाउनका लागि नयाँ बजार खोलिदियो ।

मजबुत सेना, प्रविधिको नवप्रवर्तन, हलिउड/सांस्कृतिक प्रभाव र नेटो जस्ता सैन्य गठबन्धनले अमेरिकालाई संसारको नेता बनायो । यसरी अमेरिका आर्थिक, सैन्य र राजनीतिक रूपमा अजेय देखियो ।

तर इतिहास साक्षी छ– शक्ति स्थायी हुँदैन । मुद्राको मूल्य क्षयको सुरुवात स्पेनले चाँदीमा तामा मिसाएर गरेको थियो । पहिलो विश्वयुद्धपछि बेलायतले पाउन्ड स्टर्लिङ छाप्दा सुन सञ्चिति छोड्यो । त्यसैगरी भियतनाम युद्धबाट पराजित भएपछि सन् १९७१ मा अमेरिकाले डलरलाई सुनसँग सञ्चित नगरी छाप्न सकिने नीति ल्यायो ।

यसले बेफिक्री डलर छाप्ने बाटो खोलिदियो । आर्थिक उत्पादनभन्दा डलरको उत्पादन बढी भयो । सन् २०२० मा मात्र ६ खर्बभन्दा बढी डलर छापियो । फलस्वरूप डलरको क्रयशक्ति घट्दै गयो । सन् १९७१ को तुलनामा २०२६ मा १ डलरको क्रयशक्ति मात्र १२.५ प्रतिशत बाँकी छ । अर्थात् करिब ८८ प्रतिशतले डलरको मूल्यमा ह्रास आएको छ ।

स्पेन र बेलायतको जस्तै अमेरिका पनि ऋणको जालोमा जेलिँदै गएको छ । मार्च १७, २०२६ सम्ममा अमेरिकाको राष्ट्रिय ऋण ३९ ट्रिलियन पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको १२५ प्रतिशत हुन आउँछ । ऋणको वार्षिक ब्याज मात्रै करिब १ खर्ब डलर तिर्नुपरिरहेको छ ।

अमेरिकी अर्थतन्त्र तथा विश्लेषण ब्युरोका अनुसार, २०२५ मा कुल व्यापार घाटा ९०१.५ अर्ब डलर थियो ।

अफगानिस्तान, इराक, युक्रेन–रुस, इरानलगायतका युद्धहरूले सैन्य खर्च आकासिएको छ । विश्वभरिका ८० भन्दा बढी देशमा करिब आठ सय सैन्य अखडा कायम राख्ने मात्रै होइन, त्यसको सञ्चालनका लागि कुस्त रकम पनि खर्च गर्नु परेको छ । सन् २०२६ को अन्त्यसम्म सैन्य खर्च एक खर्ब डलर पुग्ने देखिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारले अमेरिकी जनतालाई निराश बनाउन थप मलजल गर्दैछ । नेटो सदस्यहरूलाई ‘फ्रीलोडर’ (सित्तैमा फाइदा लिने, योगदान नदिने देश) भन्दै अपमान गर्दैछन् । विश्वका सबै देशहरूलाई ट्याक्स थोपर्ने, आर्थिक नाकाबन्दी गरिदिनेलगायतका काम गरिरहेकै छन् । मूलतः कर बढाउनैपर्ने दबाबले पुराना मित्रहरूसँगको सम्बन्ध चिसिएको छ ।

ट्रम्प प्रशासनले इजरायलसँग मिलेर इरानसँग युद्ध गर्नाले क्षेत्रीय अस्थिरता बढाएको छ । युरोपेली देश, जापान, बेलायत, दक्षिण कोरिया जस्ता सहयोगीहरूले पूर्ण समर्थन नदिँदा अमेरिका एक्लो हुँदै गएको छ । घरेलु विभाजन, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता र चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका जस्ता उदीयमान शक्तिहरूले संसारलाई बहुध्रुवीय विश्वतर्फ लैजाँदै छन् ।

यदि यी चुनौतीहरू नियन्त्रण भएनन् भने अमेरिकाको प्रभुत्व क्रमशः खिइँदै जान्छ र यसको पतन पनि निश्चित छ ।

  • अब के हुन्छ ?

स्पेन र बेलायत आन्तरिक उत्पादनमा ह्रास, मुद्रास्फीति बढ्नु, युद्ध, ऋणको चक्रमा फस्नु, आन्तरिक कलह र उपनिवेशको बोझ बोकेर ढले । अमेरिका पनि यस्तै चक्रमा फस्दैछ । उम्कन सक्छ कि सक्दैन ? समयले जवाफ देला ।

आजको युगमा सैन्य र मुद्राको मात्र होइन, कृत्रिम बुद्धिमत्ता (एआई), क्वान्टम कम्प्युटिङ र प्रविधिमा जसको कब्जा हुन्छ, ऊ नै भविष्यको महाशक्ति बन्नेछ । यस दौडमा चीन र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

इतिहास केवल विगतको कथा होइन; यो शक्ति, सभ्यता र नेतृत्वको निरन्तर परिवर्तनको यात्रा हो । समयको वेगसँगै महाशक्तिहरू बदलिएका छन् र बदलिनेछन् । अन्ततः सिकाउने इतिहासले हो । समयले सबैको परीक्षा लिन्छ नै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद सुवेदी
कृष्णप्रसाद सुवेदी
लेखकबाट थप