सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
सम्पत्ति विवरण सार्वजनिक

धनी गृहमन्त्री : ८९ तोला सुन, करोडौँको सेयर

आइतबार, २९ चैत २०८२, १९ : ४७
आइतबार, २९ चैत २०८२

सारांश

  • गृहमन्त्री सुधन गुरुङले आफ्नो र परिवारको नाममा रहेको जग्गा, सेयर र बैंक ब्यालेन्ससहितको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
  • विवरण अनुसार उनीसँग गोरखा, धनकुटा र चितवनमा गरी विशाल जग्गा जमिनका साथै करोडौँ मूल्य बराबरको सेयर लगानी रहेको छ।
  • गृहमन्त्री गुरुङले आफूसँग ४७ लाख मूल्यको कार र पैतृक सम्पत्तिको रूपमा ८९ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ ।

गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा उल्लेख गरिएको छ । विशेषगरी, उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।

सेयर बजारमा पनि उनको उल्लेख्य लगानी देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीका सेयरहरू गरेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँको लगानी देखाइएको छ । 

यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।

सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

बैंक ब्यालेन्सतर्फ, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पैतृक सम्पत्ति भनी जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप