संसद् भवन निर्माण कार्यप्रति सभामुख र राष्ट्रिय सभा अध्यक्षको चासो
सारांश
- सभामुख र राष्ट्रिय सभा अध्यक्षले संसद् भवन निर्माण कार्यको प्रगतिप्रति चासो व्यक्त गर्दै तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
- संसद् भवन निर्माणको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको शहरी विकास मन्त्रालयले जानकारी गराएको छ।
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन्।
सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै सभामुख अर्यालले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए।
छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी ठाकुर र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीसमेत सहभागी थिए।
संसद् भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो।
प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ६ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ।
हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।
भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण