बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फर्केर हेर्दा वर्ष २०८२

नेपाली खेलकुदमा मिश्रित नतिजा, क्रिकेटको लोभलाग्दो उडानदेखि फुटबलको विवादसम्म

मङ्गलबार, ०१ वैशाख २०८३, १० : २४
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • नेपालको खेलकुद क्षेत्रले २०८२ सालमा क्रिकेटको ऐतिहासिक सफलता र करातेमा कीर्तिमान जस्ता उपलब्धि हासिल गर्‍यो।
  • खेलकुदका निकायहरूमा देखिएको राजनीतिक हस्तक्षेप र एन्फाको विवादले नियमित खेल गतिविधिमा अवरोध पुर्‍यायो।
  • खेलाडीहरूलाई व्यावसायिक बनाउन र विदेश पलायन रोक्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक देखिएको छ।

२०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालको रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य रूपमा भएको थियो । यस क्रममा केही अन्तर्राष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र आयोजित विविध खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रलाई व्यस्त बनायो ।

यस्तै खेलकुदलाई व्यावसायिकतातर्फ जोड्ने काममा पनि यस वर्ष केही उल्लेखनीय प्रयास भएका छन् । यद्यपि, यो वर्ष नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निलम्बनजस्ता कार्यले नियमित खेलकुद गतिविधिमा अवरोध पुग्न गएको छ ।

  • खेलाडी पनि सांसद

२०८२ सालको अन्त्यतिर नेपालको खेलकुद जगत्‌ले आफ्ना दुई सदस्यलाई सङ्घीय संसद्को विधायकको रूपमा प्राप्त गर्‍यो । प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद डा. अच्युतम लामिछाने पूर्वताइक्वान्डो खेलाडी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लामिछानेले दक्षिण कोरियाबाट खेलकुद विज्ञानमा पिएचडी उपाधि हासिल गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद्मा खेलकुद विज्ञान विज्ञका रूपमा समेत कार्य गरिसकेका छन् । सन् २०२४ मा माल्दिभ्समा भएको १५औँ विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडी रजनी श्रेष्ठ प्रतिनिधिसभामा सांसद बनेकी छन् । उनी पनि रास्वपाको समानुपातिकतर्फ सांसद पदमा निर्वाचित भएकी छन् । उनले सन् २०२३ मा ५५ औँ एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदकका साथै अन्य विभिन्न प्रतियोगितामा मुलुकका लागि पदक जितिसकेकी छन् । यसरी खेलकुद बुझेका व्यक्ति नै सांसद बनेपछि अब संसद्मा खेलाडीका मुद्दा उठाउन सहज भएको महसुस गरिएको छ ।

  • क्रिकेटको कमाल

नेपालको खेलकुदको आधिकारिक संस्था राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सयौँ खेलका सङ्घ भए पनि केही वर्षयता क्रिकेटले अन्य खेलका सङ्घलाई उछिन्दै आइरहेको छ । नेपाली क्रिकेट खेलाडीका लागि २०८२ साल अत्यन्त व्यस्त वर्षका रूपमा बित्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको सहभागितामा व्यस्त रहेका नेपाली क्रिकेट खेलाडीहरूले यसपालि तेस्रोपटक ‘टी–ट्वान्टी’ विश्वकपमा सहभागिता जनाउनुलाई वर्षकै महत्त्वपूर्ण उपलब्धि मानिएको छ । नेपालले विश्वकपमा समग्रमा सुखद नतिजा हासिल गर्न नसके पनि विभिन्न खेलमा उचित प्रतिस्पर्धा गर्न पछि नपरेको महसुस गरिएको थियो ।

नेपाली क्रिकेट टोलीका केही खेलाडीले व्यक्तिगत रूपमा उल्लेखनीय खेल प्रदर्शन गरेका थिए । तीन खेलमा हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टोलीले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेर निराश भएका क्रिकेटप्रेमीहरूलाई पुनः उत्साहित बनाएको थियो । स्कटल्यान्डविरुद्ध विस्फोटक ब्याटिङ गरेर दीपेन्द्रसिंह ऐरीले मुलुककै लागि पहिलोपटक विश्वकपमा 'म्यान अफ द म्याच' पुरस्कार पाएका थिए । यसअघि विश्वकपको पहिलो खेलमै नेपाली टोली क्रिकेटको जन्मदाता तथा दुईपटक विश्व विजेता बनिसकेको इङ्गल्यान्डलाई कडा चुनौती दिँदै चार रनको अन्तरले मात्र पराजित भएको थियो । त्यो ऐतिहासिक खेलले क्रिकेटप्रेमी दर्शकहरूको मन जितेको थियो । उक्त खेलमा नेपाली खेलाडीहरूको उच्च मनोबलको अन्तर्राष्ट्रिय टेलिभिजन प्रत्यक्ष प्रसारणका कमेन्टेटरहरूले खुलेरै प्रशंसा गरेका थिए ।

नेपाली टोलीले यस वर्ष विश्वमै शक्तिशाली टोलीको रूपमा परिचय बनाएको वेस्ट इन्डिजलाई ‘टी–ट्वान्टी’ शृङ्खलामा पराजित गरेर उपाधि हात पार्नुलाई पनि महत्त्वपूर्ण उपलब्धि मानिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाहमा भएको उक्त शृङ्खलामा नेपालले तीनमध्ये दुई खेल जितेको थियो । यसबाहेक अन्य विभिन्न मुलुकका टोलीसँग भएको जित पनि प्रशंसनीय छ ।

  • करोडौँ कमाइ

नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्त्वपूर्ण माध्यमका रूपमा छोटै समयमा स्थापित हुन सफल नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले रु. ४७ करोड ३६ लाखभन्दा बढी आम्दानी गर्नुलाई नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतासँग तुलना गर्न सकिन्छ । निजी क्षेत्रको करोडौँ लगानीमा बनाइएका फ्रेन्चाइज टोलीहरूमा स्वदेश तथा विदेशका खेलाडीहरूको एकसाथ सहभागिता सो प्रतियोगिताको विशेषता रहेको थियो ।

एनपिएलमा सहभागी प्रत्येक टोलीले ठुलो लगानी गरी विश्व क्रिकेट जगत्‌मा आफ्नो पहिचान बनाइसकेका खेलाडीहरूलाई भित्र्याएका थिए । स्वदेशी खेलाडीहरूले समेत लाखौँ रुपैयाँ पारिश्रमिक लिएर खेल्ने मौका पाएका थिए । यस्तो व्यावसायिक अभ्यास फुटबल, भलिबल, कबड्डीजस्ता खेलमा समेत हुँदै गएका छन् । आगामी दिनमा यसलाई बढाउँदै अन्य खेलमा समेत यस्तो व्यावसायिक अभ्यास विस्तार गर्न सकिएको खण्डमा नेपालमा खेलेर बाँच्न सकिने अवस्था सिर्जना भई खेलाडी पलायन रोक्न सहयोग पुग्नेछ । यसले आगामी दिनमा खेलाडीहरू रोजगारका लागि विदेशिने क्रम कम गर्न सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । रु. २१ करोडभन्दा बढी खर्च भएको एनपिएल क्रिकेटबाट मात्र क्यानलाई नौ करोड रुपैयाँभन्दा बढी बचत गर्ने मौका मिलेको छ ।

  • पूर्वाधार तयार

काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति पनि यस वर्षको खेलकुदको उपलब्धि मानिएको छ । यसबाट मैदान स्तरीय हुनुका साथै दर्शकहरूको सिट क्षमतासमेत बढ्न गएको छ । राति पनि फ्लडलाइटको प्रकाशमा क्रिकेट प्रतियोगिता सञ्चालन हुनु अर्को ऐतिहासिक काम भएको छ ।

नेपालमा अब अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता राति पनि सञ्चालन गर्न सम्भव भएपछि आगामी दिनमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदै जाने अपेक्षा गरिएको छ । दशौँ हजार दर्शकलाई बस्ने सिटको व्यवस्था हुनुले धुले चौरमा बसेर क्रिकेट हेर्ने बानी परेका नेपाली दर्शकहरूलाई निकै राहत मिलेको छ । मूलपानीमा बनाइएको क्रिकेट मैदानमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू बेलाबखत भइरहेका छन् ।

  • महिलाको सफलता

नेपाली महिला क्रिकेट टोलीले पनि २०८२ सालमा आफूलाई सशक्त टोलीका रूपमा प्रस्तुत गरेको थियो । महिला टोलीले पहिलोपटक टी–ट्वान्टी विश्वकप प्रवेशका लागि छनोट प्रतियोगितामा सफलता हात पार्न नसके पनि बलियो दाबेदारी प्रस्तुत गरेको थियो । महिला क्रिकेट टोली थाइल्यान्डको बैङ्ककमा सन् २०२५ को मे महिनामा भएको एसियाली छनोटमार्फत शीर्ष दुईमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो । त्यतिखेर उपविजेता बनेको नेपालले संयुक्त अरब इमिरेट्सलाई पराजित गर्दै विश्वव्यापी छनोटमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

नेपाली महिला टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियालाई उनीहरूकै घरेलु मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा सञ्चालन गरिएका पाँच खेलमध्ये नेपालले तीन खेल जितेर उपाधि कब्जामा लिएको थियो ।

  • नेत्रहीन पनि अगाडि

नेपालका नेत्रहीन खेलाडीहरूले क्रिकेटमा छोटै अवधिमा उल्लेखनीय प्रगति गरेका छन् । पुरुष नेत्रहीन खेलाडीहरूले केही वर्षअघि नै विश्वकपसम्म प्रतिस्पर्धा गरिसकेका छन् । नेपाली महिला टोलीले भारत तथा श्रीलङ्कामा यसै वर्ष भएको पहिलो नेत्रहीन महिला टी–ट्वान्टी क्रिकेट विश्वकपमा उपविजेता बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । नेपाल फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो । कप्तान गीता पौडेलको नेतृत्वमा रहेको उक्त टोलीलाई नेपाल क्रिकेट सङ्घले रु. १० लाख पुरस्कार प्रदान गरेर प्रोत्साहित गरेको थियो । यस्तै काठमाडौँ महानगरपालिकाले टोलीका खेलाडीहरूलाई जनही एक लाख नगद पुरस्कार प्रदान गरेको थियो ।

  • करातेमा कीर्तिमान

नेपाली कराते खेलाडीहरूमध्ये सबैभन्दा सफल मानिएकी खेलाडी एरिका गुरुङको दोस्रोपटक विश्वस्तरीय प्रतियोगितामा रजत पदक प्राप्तिबाट २०८२ सालको सुखद अन्त्य हुन पुग्यो । चीनको सिचुवान प्रान्तमा भएको वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) कराते वान प्रिमियर लिगमा उनले दोस्रोपटक रजत पदक पाएकी थिइन् । कजाकस्तानकी सोफिया बेरुल्तसेभासँग भएको फाइनल भिडन्तमा झिनो अन्तरले एरिकाको पराजय भएको थियो । यसअघि टर्कीको इस्तानबुलमा पनि एरिका सोही प्रतियोगिताको फाइनलमा उही खेलाडीसँग पराजित भएर रजत पदकमा सीमित हुनुपरेको थियो । नेपाली कराते खेलाडी एरिका गुरुङले मुलुकलाई केही वर्षदेखि विभिन्न महत्त्वपूर्ण पदक दिलाउँदै आफूलाई अब्बल कराते खेलाडीका रूपमा प्रस्तुत गर्दै आइरहेकी छन् । प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा एरिकाले तीन वर्षको अवधिमै विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन् । एरिकाले २०८२ सालमा लगातार जितेको रजत पदक नेपालले कराते खेलमा हालसम्म जितेको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय उपाधि मानिएको छ । अस्ट्रेलियन ओपन करातेजस्तो प्रतिष्ठित प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल एरिकाले सन् २०२३ मा चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेर एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो नेपाली कराते खेलाडी बन्न सफल भएकी थिइन् । अन्य केही कराते खेलाडीले पनि यसपालि स्वदेशमा पदक भित्र्याएका थिए ।

  • ताइक्वान्डोमा सम्मानित

नेपालका ताइक्वान्डो प्रशिक्षकलाई विश्वस्तरमै सम्मानित गरिएको प्रसङ्ग पनि उल्लेखनीय मानिएको छ । संयुक्त अरब इमिरेट्समा आयोजित विश्व ताइक्वान्डो गाला अवार्ड्समा नेपाली प्रशिक्षक कविराज नेगी लामालाई पारा ताइक्वान्डो ‘कोच अफ दि इयर सन् २०२५’ द्वारा सम्मानित गरिएको थियो । प्रशिक्षक लामाकै प्रशिक्षणमा नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिसमा सन् २०२४ मा नेपालको लागि पहिलो पारा ओलम्पिक पदक जितेकी थिइन् । उनकै प्रशिक्षणमा नेपाली खेलाडी रेणु तामाङले सन् २०२५ मा दुबईमा आयोजित युथ एसियन पारा खेलकुदमा कांस्य पदक पाएकी थिइन् । वैदेशिक प्रतिस्पर्धामा ताइक्वान्डोमा यस वर्ष पनि केही पदक प्राप्त भएका थिए ।

  • बक्सिङको महत्त्वपूर्ण पदक

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले यसै वर्ष पहिलोपटक पदक जित्न सफल भएको थियो । नेपालले सन् १९६४ मा पहिलोपटक ओलम्पिकमा बक्सिङ तथा एथलेटिक्समा भाग लिएर सहभागिता प्रारम्भ गरेको थियो । नेपालले विश्व बक्सिङ च्याम्पियनसिपमा पनि यसअघि विभिन्न पटक सहभागिता जनाइसकेको छ । तर यस वर्ष नेपालले पदक जित्नु सानो उपलब्धि होइन । संयुक्त अरब इमिरेट्समा भएको आइबा पुरुष विश्व च्याम्पियनसिप बक्सिङमा नेपालका मुक्केबाज चन्द्रबहादुर थापा पहिलोपटक कांस्य पदक जित्न सफल भएका थिए । ५४ केजी तौल समूहमा मुक्केबाज थापाले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदकको हकदार बनेका थिए । विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाकस्तानका खेलाडीसँग भने उनी पराजित भएका थिए ।

  • ४१ वटा विश्वस्तरीय पदक

विसं २०८२ मा नेपालले पहिलोपटक विश्वस्तरीय प्रतियोगितामा अत्यधिक पदक जितेर कीर्तिमान कायम गरेको थियो । श्रीलङ्कामा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट भाग लिएका पुरुष तथा महिला खेलाडीहरूले कुल ४१ वटा पदक जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिन्छ । यसमा २६ स्वर्ण, १० रजत तथा पाँच कांस्य पदक थिए । नेपाली खेलाडीहरूमध्ये डा. जीतेन्द्रकुमार साह र भेषकुमारी अस्लामीले दोहोरो स्वर्ण पदक जितेका थिए । यस प्रतियोगितामा नेपाली महिला तथा पुरुष दुवै टोली उत्कृष्ट बन्न सफल भएको थियो । प्रतियोगिताका महिला सहभागीहरूमध्ये नेपालको प्रतिनिधित्व गरेकी शर्मिला शाह सिनियरतर्फ तथा कल्पना खत्री जुनियरतर्फ बेस्ट लिफ्टर बन्न सफल हुनु मुलुकको खेलकुदका लागि गौरवमय क्षण थियो । यसबाहेक अन्य केही खेलमा पनि नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेका छन् ।

  • फुटबलमा झेल

२०८२ साल नेपाली फुटबलमा खासै उपलब्धि हासिल हुन नसके पनि नेपाली फुटबल क्षेत्रमा देखिएको आपसी विवाद चर्चामा भने रह्यो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तथा एन्फामा आबद्ध विभिन्न फुटबल क्लबबीचको मनोमालिन्यले फुटबल गतिविधि सञ्चालन हुन पाएन । एन्फाको वर्तमान कार्यसमितिको पदावधि समाप्त हुनुभन्दा अगाडि नै गर्न खोजिएको निर्वाचन विवादको जड थियो, जसले एन्फालाई निलम्बनको स्थितिसम्म लगेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि नेपाललाई फिफाले नै निलम्बन गर्नसक्ने स्थिति सिर्जना हुनु मुलुकको फुटबल विकासका लागि उचित होइन ।

फिफाले एन्फालाई निलम्बन गरेमा नेपालको फुटबल विकासका लागि प्राप्त हुँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको ढोका पनि बन्द हुन जानेछ । त्यसपछि नेपाल विश्वको फुटबल गतिविधिबाट स्वतः टाढिने सम्भावना आकलन गर्न सकिन्छ, जसको असर दीर्घकालीन रूपमा पर्न जाने निश्चित छ । एन्फाभित्रकै आपसी विवादकै कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले थाइल्यान्डमा आयोजित फिफा सिरिज–२०२६ अन्तर्गत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने अवसर गुमाएको थियो । परिषद् तथा एन्फाबीचको विवाद तथा दशरथ रङ्गशालाको खराब अवस्थाका कारण एसियाली फुटबल महासङ्घले एएफसी एसियाकप २०२७ को छनोट खेल नेपालमा नगरी लाओसमा सारेको थियो । यसअघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल पनि नेपालमा हुन सकेको थिएन ।

  • लिग स्थगितपछि अन्योल

नेपालमा लामो समयदेखि सहिद स्मारक लिग फुटबल प्रतियोगिताको आयोजना हुँदै आइरहेको थियो । समग्र मुलुककै फुटबल विकासमा यस्ता महत्त्वपूर्ण प्रतियोगिताको योगदान रहेको छ । लामो समयसम्म सञ्चालन हुने यस्ता प्रतियोगितामा खेलाडीहरूले धेरै खेलमा आफ्नो खेल कौशल देखाउने अवसर पाउँछन् । मुलुकमा व्यावसायिक खेलको विकासका लागि यसको योगदानलाई नकार्न सकिँदैन । निजी क्षेत्रका नेपाली फुटबल क्लबहरूले खेलाडीहरूलाई खेलेरै बाँच्न सकिने अवस्थाको सिर्जना गर्नु सानो पहल होइन । अझ यसमा विदेशी खेलाडीलाई समेत समेटेर खेलको स्तर बढाउन क्लबहरूले प्रयास गरेका छन् ।

नेपालमा अझैसम्म खेलकुदमा लगानीका लागि उपयुक्त वातावरण नबनिसकेको अवस्थामा साधन र स्रोत जुटाउनु त्यति सहज छैन । पुरुषहरूको लिग फुटबल लामो समयदेखि सञ्चालन हुँदै आएको तथा हाल महिला लिग पनि सुरु हुनु सकारात्मक मान्न सकिन्छ । यस्तो अवस्थामा पुरुष तथा महिला दुवै लिग स्थगित हुनु उचित होइन । एन्फाले प्राविधिक कारण देखाउँदै लिग स्थगित गरेसँगै लिगमा खेलिरहेका विदेशी खेलाडीहरूको सहभागिता सम्बन्धमा अध्यागमन विभागले चालेको कदमले पनि क्लबहरू अन्योलमा परेका छन् । कुनै पनि विदेशी खेलाडीहरूलाई श्रम स्वीकृतिविना राष्ट्रिय लिगमा खेलाउन नपाइने भएपछि ती खेलाडीहरूको निरन्तरतामा समस्या उत्पन्न भएको छ ।

  • साम्बाप्रतिको सद्भाव

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी 'साम्बा'को घुँडामा लागेको गम्भीर चोटको उपचारका लागि फुटबलप्रेमीहरूले देखाएको सद्भाव पनि यो वर्ष चर्चित भयो । साम्बाले आफ्नो उपचारका लागि सहयोग गर्न आग्रह गरेको २४ घण्टाभित्रै मुलुक तथा विभिन्न देशबाट आवश्यक रकम जुटेको थियो । उनको उपचारका लागि नेपाली बैङ्क खातामा रु. एक करोडभन्दा बढी रकम तथा विदेशी प्लेटफर्ममा रु. ४५ लाख जम्मा भएको थियो । साम्बाले आफू अझ मजबुत भएर फर्किएर नेपाली जर्सीमा देशका लागि जित्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । साम्बा यसअघि फ्रान्समा स्थानीय क्लबसँग आबद्ध रहेकी थिइन् । नेपाली टोलीको नेतृत्व सम्हालिसकेकी एन्जिला तुम्बापो सुब्बा ग्रिस तथा रेखा पौडेल साउदी अरेबियामा खेलेकी छन् । जोर्डनमा व्यावसायिक खेल खेलेर आफ्नो क्लबलाई उपाधि दिलाउन सफल प्रीति राई पछिल्लोपटक कम्बोडियाको क्लबसँग आबद्ध भएकी छन् ।

  • ओलम्पिक कमिटीमा तालाबन्दी

ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा लामो अवधिसम्म ताला लगाइएको घटनाले पनि २०८२ सालमा नेपाली खेलकुद जगत्‌लाई तरङ्गित गरेको थियो । नेपाली खेलकुदको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद् तथा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल ओलम्पिक कमिटीबीच यसअघि पनि विवाद भएका थिए । तर यसपालिको विवादले जापानमा आगामी सेप्टेम्बरमा हुने एसियाली खेलकुदमा नेपालको सहभागिता झन्डै गुमेको थियो । अहिले दुवै पक्षबीच विवाद समाधान भई एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित भएको छ । आगामी दिनमा पुनः सम्बन्धित निकायहरूबीच आपसी सद्भाव बिग्रन नदिन उचित पहल हुनुपर्ने आवश्यकता छ ।

  • रोकिएको राष्ट्रिय खेलकुद

नेपालमा राष्ट्रिय खेलकुदको सुरुआत भएको चार दशक नाघिसकेको छ । तर प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद हालसम्म नवौँ संस्करणपछि हुन सकेको छैन । नेपाली खेलकुद इतिहासमा सबैभन्दा बृहत् खेलकुद महोत्सव मानिएको राष्ट्रिय खेलकुदको दशौँ संस्करण २०८२ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निश्चित गरिएको थियो । यस प्रकारको बृहत् खेलकुदका लागि सो प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधारको निर्माण तथा मर्मतसम्भार गरिएको थियो । यसअघि पनि कर्णाली प्रदेशमा निश्चित गरिएको दशौँ राष्ट्रिय खेलकुदको मिति सारिएको थियो । यसरी पटकपटक राष्ट्रिय खेलकुद सारिनाले खेलाडीहरूको सक्रिय खेल जीवन प्रभावित हुन पुगेको छ ।

अन्त्यमा,

२०८२ सालमा नेपाली खेलकुदले सामना गरेका कमीकमजोरीलाई नयाँ वर्ष २०८३ मा सुधार गर्दै विगतका गल्ती दोहोरिन नदिन नेपालको खेलकुदका जिम्मेवार निकायहरू प्रयत्नशील हुनुपर्ने देखिएको छ । खेलकुदमा राजनीति हुनुहुँदैन । यसका हरेक गतिविधि पारदर्शी ढङ्गबाट अघि बढ्नुपर्छ । दूरगामी सोचविना खेलकुदको समग्र विकास सम्भव नभएकाले यसलाई स्कुल स्तरदेखि नै जोड्न सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यस्तै ओलम्पिक, एसियाली तथा दक्षिण एसियाली खेलकुदजस्ता महत्त्वपूर्ण खेलकुद प्रतियोगिता लक्षित गरेर पदक प्राप्तिको दीर्घकालीन योजना बनाउन पनि सम्बन्धित पक्षले प्राथमिकता दिनुपर्ने देखिन्छ ।

खेलकुदलाई रोजगारमूलक बनाई नेपालमा खेलेर पनि बाँच्न सकिने स्थितिको सिर्जना गर्न सरकारी अग्रसरता अपेक्षित मानिएको छ । यसो हुन सकेको खण्डमा मुलुकबाट बर्सेनि विदेशमा पलायन भइरहेका खेलाडीलाई रोक्न सकिने वातावरण बन्न सक्दछ । खेलकुदको समयोचित विकासका लागि सरकारको प्रयासबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी नै आजको आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप