मधेसका कारागारमा चाप : क्षमताभन्दा दोब्बर कैदीबन्दी, व्यवस्थापन चुनौतीपूर्ण
सारांश
- मधेस प्रदेशका कारागारहरूमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिँदा व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ।
- जलेश्वर कारागारलगायत प्रदेशका अधिकांश कारागारमा अव्यवस्थित संरचना र पूर्वाधारको अभावले कैदीबन्दीहरू सास्ती खेप्न बाध्य छन्।
- मुद्दा फर्छ्योटमा ढिलाइ र कारागार विस्तारको अभावका कारण भिडभाड बढेर सुरक्षा तथा स्वास्थ्य समस्या जटिल बनेको छ।
जनकपुरधाम । मधेस प्रदेशका कारागारहरूमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिँदा व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ। सीमित पूर्वाधारमा झन्डै दोब्बर कैदीबन्दी राखिनु पर्दा सुरक्षा, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापन गम्भीर चुनौतीका रूपमा देखिएका छन्।
महोत्तरीको जलेश्वर कारागार यस समस्याको सबैभन्दा प्रतिनिधि उदाहरण बनेको छ। कारागार प्रशासनका अनुसार २०० जनाको क्षमता रहेको उक्त कारागारमा हाल महिला र पुरुष गरी ४१६ जना कैदीबन्दी राखिएका छन्। पुरानो र जीर्ण भवन, अव्यवस्थित संरचना तथा वर्षायाममा हुने डुबानले यहाँको अवस्था थप जटिल बनेको छ।
जलेश्वर नगरपालिका–२ मा करिब ६ बिघा जग्गा उपलब्ध भए पनि नयाँ भवन निर्माण नहुँदा कैदीबन्दीले सास्ती खेपिरहेका छन्। धनुषा जिल्लामा छुट्टै कारागार नहुँदा त्यहाँका कैदीबन्दीसमेत जलेश्वर पठाइने गरिएको छ। अन्य जिल्लाबाट समेत थुनुवा ल्याइने हुँदा यहाँको चाप निरन्तर बढ्दै गएको छ।
कारागार प्रमुख अशोककुमार क्षेत्रीले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा चुनौती रहेको बताए। उनका अनुसार कारागारकै जग्गामा नयाँ भवन निर्माण हुन सके कैदीबन्दीका लागि सहज वातावरण बन्नेछ। सिपमूलक तालिम, पुस्तकालय तथा सुधारमुखी कार्यक्रम सञ्चालन गर्न पनि सहज हुने उनको भनाइ छ।
उनले गत भदौ २४ गते देशमा उत्पन्न असहज परिस्थितिको मौका छोपी ५७३ जना कैदी फरार भएको उल्लेख गर्दै हाल पनि २५२ जना फरार रहेको बताए। धेरैजसो स्वेच्छाले फर्किएको र केहीलाई पक्राउ गरेर पुनः कारागारमा ल्याइएको उनले बताए।
मधेस प्रदेशमा बाल सुधार गृहसहित सातवटा कारागार सञ्चालनमा छन्। तीमध्ये अधिकांशमा क्षमताभन्दा निकै बढी कैदीबन्दी राखिएको छ। सप्तरीमा १५४ क्षमतामा ३५८, सिराहामा १५० क्षमतामा ४१४, महोत्तरी (जलेश्वर) मा २०० क्षमतामा ४१६, सर्लाहीमा २०० क्षमतामा ३७३, रौतहटमा १०२ क्षमतामा २०८ र पर्सामा २०० क्षमतामा १२०५ कैदीबन्दी रहेका छन्।
सीमित स्थानमा धेरै कैदीबन्दी राखिँदा सुत्ने ठाउँको अभाव, शौचालय समस्या, खानेपानी अभाव, संक्रामक रोग फैलिने जोखिम तथा आपसी झडपका घटना बढ्दै गएको कारागार स्रोत बताउँछ। अत्यधिक भिडभाडका कारण सुरक्षाकर्मीमाथि पनि दबाब बढेको छ। कैदीबन्दीबीच झडप हुँदा नियन्त्रण गर्न कठिन हुने, सरसफाइ कमजोर हुँदा रोग फैलिने जोखिम बढ्ने तथा सुधारमुखी गतिविधि सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।
सरोकारवालाले मुद्दा फर्छ्योटमा ढिलाइ, वैकल्पिक सजायको प्रभावकारी प्रयोग नहुनु, पूर्वाधार विस्तारमा ढिलासुस्ती तथा जनशक्तिको अभावले समस्या झन् जटिल बनाएको बताएका छन्।
जलेश्वर नगरपालिका–५ का ईश्वर पासमानले विगतमा सोही कारागारमा सजाय भुक्तान गरेका थिए । उनी बाढीका समयमा खुट्टा टेक्नसमेत ठाउँ नहुने र सुत्न आलोपालो गर्नुपर्ने अवस्था हुने बताउँछन्। उनका अनुसार यो पुरानो कारागारमा कैदीबन्दी थुनुवा कोठामा कोचिएझैँ बस्न बाध्य छन्। पुस्तकालय, सिपमूलक तालिम तथा रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नसमेत पर्याप्त स्थान छैन।
लामो समयदेखि दोहोरिँदै आएको यो समस्या समाधानतर्फ प्रभावकारी पहल नदेखिँदा मधेसका कारागारहरू झन् संकटग्रस्त बन्दै गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण