शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कविता: नि:शुल्क छ है शुभकामना व्यक्त गर्न नयाँ वर्षको

मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ४६
मङ्गलबार, ०१ वैशाख २०८३

चल अचल सम्पत्ति जस्तो बहुमूल्य छैन है शुभकामना, व्यक्त गर्दा  आयस्रोत खुलाउन पर्ने,

यो त हरेक को पहुँचमा छ हजुर, एक अर्कालाई निस्वार्थ र निःशुल्क आदानप्रदान गर्न मिल्ने,

 

शुभकामना हरेक पर्व र उत्सवमा दिइन्छ, तैपनि नयाँ वर्षको रौनक छुट्टै किन हुने ?

नयाँ वर्षमा पात्रो वा क्यालेन्डर फेर्दा, दुई चार दिन भए पनि मनमा अर्कै उमङ्ग मिल्ने,

थाहै नदिई उमेर,समय र जवानी  पानी जस्तै कल कल बगेको पत्तै नहुने,

कहाँ लेखेको छ र हजुर, नयाँ वर्षको आगमन सँगै कर्म र भाग्य आफै परिवर्तन हुने,

 

अतीतका वर्षले असल,गलत, कमजोरी र सुधार गर्नु पर्ने, हिसाब किताबको भूमिका खेल्ने,

अब त केही सुधार गर्छु भन्दा, विगतका भन्दा प्रश्न पत्र र पात्रहरू  झनै अनौठो भेटिने,

आवश्यक नपरी सल्लाह,सुझाव र परामर्श दिने मित्रहरू,समाजमा हजारौँ भेटिने, 

जब परिश्रम गरी उन्नति र प्रगति पथमा अग्रसर हुँदा,त्यहीँ मित्रहरू विफल बनाउन अहोरात्र खटिने, 

 

निराशाको डँडेलो लागेको बेलामा, आशाको सानो दियोले,मजबुत भएको भरोसा दिने,

जीवनमा सधैँ सत्कर्म गर्छु भन्दा आँखामा लोभ र मनमा पाप, अचानक आफैँ प्रकट हुने,

जे गरे पनि गाह्रो छ है,मानिसहरू लाई थोरै हुँदा निम्न वर्गीय र अकुत भए ठग भन्ने,

आजकाल त,यसो सम्झिदा साह्रै पिर लाग्छ,बाँकी जीवन कसरी सुरक्षित अवतरण गर्ने,

 

कलियुग र एआई को युग हो यो, को छ र मानवताको पक्षमा वकालत गर्ने,

संस्कार र संस्कृति यस्तो बसाल्यौँ कि,ठुलाको चाकडी र भुईँ मानिस लाई गुलाम बनाउने, 

केही जनता,नेता र व्यापारी मात्र धनी भई देश गरिब हुँदा,विश्व मञ्चमा नमिठो आत्मग्लानि हुने,

निःशुल्क दिन मिल्छ,नयाँ वर्षको शुभकामना,सम्पूर्ण मानिसहरूमा तन, मन, धन र बचनमा पवित्रता प्राप्ति होस् भनी प्रार्थना गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरुषोत्तम लोहनी
पुरुषोत्तम लोहनी
लेखकबाट थप