मकवानपुरमा आजदेखि घरमै पासपोर्ट
सारांश
- मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राहदानी सेवाग्राहीको घरमै पुर्याउने सेवा सुरु गरेको छ।
- पहिलो चरणमा हेटौँडा उपमहानगरपालिकाका सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न थालेका छन्।
- यस सेवाले राहदानी लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै समय र खर्चको बचत गरेको छ।
मकवानपुर । आजदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घर–घरमै राहदानी पुर्याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो ।
नेपाल सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
पहिलो चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट सेवा प्रवाह सुरु गरिएको प्रशासनले जनाएको छ । घरमै पासपोर्ट पुग्न थालेपछि सेवाग्राहीहरू अचम्मित हुनुका साथै उत्साहित समेत बनेका छन् । राहदानी लिन सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । यसबाट समय, खर्च र झन्झट कम भई राज्यको सेवा दैलोमै पुगेको अनुभूति भएको उनीहरूको भनाई छ ।
सेवाको सुरुवातका रूपमा हुलाक कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४, कपुर कम्प्लेक्स नजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेर राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हल्कारा, जिल्ला हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी मानन्धरको घरमै पुगेका थिए ।
घरमै राहदानी पाउँदा खुसी व्यक्त गर्दै मानन्धरले सरकारको यो कदम स्वागतयोग्य भएको बताए । ‘बल्ल सरकारले राम्रो कामको सुरुवात गर्यो । यस्तै सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ ।’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणका लागि बुधबार हुलाक कार्यालयलाई ५० वटा राहदानी उपलब्ध गराएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेका अनुसार ती सबै राहदानी आजै सेवाग्राहीको घर–घरमा पुर्याउने तयारी गरिएको छ ।
हुलाक कार्यालयका प्रमुख लामिछानेका अनुसार उपमहानगरका नजिकका वडामा सोही दिन राहदानी पुर्याइनेछ भने टाढाका स्थानमा अधिकतम भोलिपल्ट बेलुकासम्म वितरण गरिनेछ । हाल स्रोतसाधन र सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि आवश्यक जनशक्ति र साधन उपलब्ध भएपछि विस्तार गरिने योजना रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राहदानी तयार भएपछि फेरि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न यो सेवा सुरु गरिएको हो । सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी गरेको उनले बताए।
प्रारम्भिक चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मात्र सेवा सञ्चालन गरिनेछ । हालसम्म तयार भइसकेका, तर लिन नआएका करिब ५०० राहदानी पहिलो चरणमा हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याउने योजना प्रशासनको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण