१० विषयगत संसदीय समितिका सभापति निर्विरोध
सारांश
- प्रतिनिधि सभाका १० वटा विषयगत संसदीय समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्।
- रास्वपाले ९ र नेपाली कांग्रेसले १ समिति सभापतिमा उम्मेदवारी दिएपछि उनीहरू निर्विरोध बनेका हुन्।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध हुने भएका छन् । समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् ।
समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । त्यो समयमा १० समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन् ।
प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते (भोलि)का लागि तोकेका थिए ।
सबै समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले भोलि बस्ने समितिका बैठकले निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी हुने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सहज बहुमत छ । उसका १८२ सांसद छन् र सबै समितिमा उसका बहुमत सांसद् छन् ।
रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधि सभाका ९ र संयुक्त १ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने र सार्वजनिक लेखका समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।
रास्वपाबाट निर्विरोध भएका समिति सभापतिहरू
कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा निर्विरोध भएकी समीक्षा बाँस्कोटालाई उम्मेदवार बनायो । समानुपातिक प्रणालीबाट सांसद भएकी उनी विवेकशील साझाबाट प्रतिनिधि सभा निर्वाचनको केही समय अगाडिमात्रै रास्वपामा प्रवेश गरेकी थिइन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्विरोध भएका अशोककुमार चौधरी सुनसरी–३ बाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्यचौधरी २०७९ सालमा समानुपातिक सांसद थिए ।
पूर्वाधार विकास समिति सभापतिमा निर्विरोध भएका आशिष गजुरेल सिन्धुली–२ बाट निर्वाचित सांसद हुन् । उनी पूर्वाधारविद्समेत हुन् ।
महिला तथा सामाजिक मामिला समितिको सभापतिमा निर्विरोध भएकी आकृति अवस्थी डडेलधुरा अमरगढीकी हुन् । जेनजी आन्दोलनका घाइते मुकेशकी दिदी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध भएका हरि ढकाल चितवन–१ बाट सांसदमा निर्वाचित भएका थिए । संसदीय सुनुवाइ विशेष समितिमा निर्विरोध भएका बोधनारायण श्रेष्ठ धादिङ–२ बाट निर्वाचित सांसद हुन् । यो संयुक्त समिति हो ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निर्विरोध भएका रहबर अन्सारी बारा–४ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा निर्विरोध भएकी सुम्निमा उदास पनि समानुपातिकतर्फबाट सांसद छानिएकी थिइन् ।
अर्थ समिति सभापतिमा निर्विरोध भएका कृष्णहरि बुढाथोकी रामेछापबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
कांग्रेसका खड्का सार्वजनिक लेखा समितिमा निर्विरोध
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भरतबहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनलाई रास्वपाले सहयोग गर्ने निर्णय गरेको थियो।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो।
संयुक्त समिति निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण