मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

फिल्म क्षेत्रमा आउँदै छ ३ अर्ब लगानी, ५ लाखदेखि १० करोडसम्मका फिल्म

शुक्रबार, ०४ वैशाख २०८३, ०८ : ००
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपालमा विक्रम संवत् २०८२ का लागि करिब ३ अर्ब रुपैयाँ लगानीमा २३० वटा फिल्म निर्माण हुने घोषणा गरिएको छ।
  • चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यस वर्ष न्यूनतम ५ लाखदेखि १० करोड रुपैयाँसम्मको लगानीमा फिल्महरू दर्ता भएका छन्।
  • दर्ता भएकामध्ये ६० देखि ७० प्रतिशत फिल्म मात्रै निर्माण भएर प्रदर्शनमा आउने बोर्डको अनुमान छ।

काठमाडौँ । नेपाली फिल्म निर्माणमा निर्माताहरूले आगामी वर्ष करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । विक्रम संवत् २०८२ (वैशाखदेखि चैत्रसम्म) का लागि चलचित्र विकास बोर्डमा दर्ता भएका फिल्महरूको सूचीले यो तथ्य देखाएको हो ।

नेपालमा फिल्म निर्माण गर्नुअघि चलचित्र विकास बोर्डबाट लागत घोषणासहित अनिवार्य रूपमा अनुमति लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार वर्ष २०८२ का लागि २३० वटा फिल्मले निर्माण अनुमति लिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यी फिल्महरूमा कुल २ अर्ब ८९ करोड ३० लाख रुपैयाँभन्दा बढी लगानी घोषणा गरिएको छ । यो रकम विगतका वर्षहरूको तुलनामा बढी हो, गत वर्ष करिब २ अर्बको लगानी घोषणा भएको थियो ।

  • ५ लाखदेखि १० करोडसम्मका फिल्म

नेपाली फिल्म बजारमा हाल दुई धारका निर्माता सक्रिय देखिन्छन् । एकातिर सामान्य बजेटमा कथा प्रस्तुत गर्न खोज्नेहरू छन् भने अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी ठुलो बजेटमा फिल्म बनाउनेहरूको जमात छ । नेपालमा फिल्म निर्माणका लागि लगानीको कुनै निश्चित मापदण्ड भने तोकिएको छैन ।

बोर्डबाट निर्माण इजाजत लिएका २३० फिल्महरू एकै प्रकृतिका छैनन् । तीमध्ये धेरैजसो नेपाली भाषाका फिचर फिल्म भए पनि केही गुरुङ, नेपाल भाषा, राजवंशी, थारु, तामाङलगायत विभिन्न मातृभाषाका फिल्म पनि छन् । तथ्याङ्कअनुसार यस वर्ष न्यूनतम ५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्मका फिल्म दर्ता भएका छन् ।

सबैभन्दा धेरै, १० करोड लगानी घोषणा गरिएको फिल्म ‘माइती’ हो । सिनेमा आर्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन् भने निर्देशन सुयोग गुरुङले गर्नेछन् । कलाकारमा हालसम्म सुपुष्पा भट्टको नाम मात्र उल्लेख छ ।

त्यसैगरी सबैभन्दा कम अर्थात् ५ लाख लगानीमा दुईवटा फिल्म निर्माण हुने भएका छन्, ‘सागर विरला’ र ‘अल्पविराम’ । ‘सागर विरला’ राजवंशी भाषामा एसफोरजी फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो ।

सन्तबहादुर लिम्बू निर्माता र नरेन्द्र लाओती निर्देशक रहेको फिल्ममा सन्तबहादुर लिम्बू, राधा राजवंशी र सम्झना राजवंशीले अभिनय गर्नेछन् । अर्को फिल्म ‘अल्पविराम’ भने नेपाली भाषामै बन्न लागेको हो । ब्रोर्डकास्टिङ मिडिया हाउस प्रालिको ब्यानरमा बन्ने यस फिल्मका निर्माता अनिल खाती र निर्देशक विजयकृष्ण श्रेष्ठ हुन् । फिल्ममा रिया पुन र विजयकृष्ण श्रेष्ठले अभिनय गर्ने बताइएको छ ।

  • करोडदेखि करोडसम्मका फिल्मको लेखाजोखा

फिल्म निर्माणमा लगानी जति बढ्छ, जोखिम पनि उत्तिकै थपिन्छ । यद्यपि ठुलो लगानी गर्न निर्माताहरू हच्किएका देखिँदैनन् । १ करोडदेखि ३ करोडसम्म निर्माण लागत घोषणा गर्ने फिल्मको संख्या १०१ छ, जसमा १ करोड लागतका २१ वटा, १ करोडभन्दा माथि २ करोडसम्मका ६२ वटा र २ करोड लागतका १८ वटा फिल्म छन् । कस्तुरी, कस्यप, पाङ्ग्रे, दुई किनारा, जेनेरेसन, गुड लक भैरै, पाण्डेको वान डे, एक दुई तीन, क्याप्टेन कालिका, बाक्स, शुभ विवाह लगायतका फिल्म यो सूचीमा पर्छन् ।

त्यस्तै २ देखि ३ करोडसम्म लगानी घोषणा गर्ने फिल्म ३४ वटा छन्, जसमा ‘जङ्गबहादुर’, ‘कामिनो’, ‘कहाँ भेटिएला’, ‘झिङ्गेदाउ–२’, ‘छल कपट’, ‘ईंटा भट्टा’ आदि पर्छन् । त्यस्तै, ३ देखि ४ करोडसम्मका ७ वटा फिल्म दर्ता भएका छन्, जसमा ‘एक्का तीन’, ‘बैरीप्रिया’, ‘पारि बुटवल’, ‘जहाजैमा’, ‘कोलाहल’ लगायत छन् ।

५ करोडभन्दा माथि लगानी हुने एउटा मात्र फिल्म ‘तथास्तु’ दर्ता भएको छ, जसको लगानी ५ करोड ४० लाख घोषणा गरिएको छ ।

  • घोषणा भएका सबै फिल्म बन्छन् त ?

विगतमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिने फिल्मको संख्या वार्षिक १५० को हाराहारीमा हुन्थ्यो, तर तीमध्ये ६० देखि ७० वटा मात्रै निर्माण भएर प्रदर्शनमा आउँथे । यस वर्ष निर्माण इजाजत लिनेको संख्या २३० पुगे पनि सबै फिल्म निर्माण हुनेमा भने शंका छ ।

चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीका अनुसार निर्माण इजाजत लिनेमध्ये ६० देखि ७० प्रतिशत फिल्म मात्रै निर्माण हुने गरेका छन् । बाँकी फिल्महरू विभिन्न कारणले बिचमै रोकिन्छन् ।

सुवेदी भन्छन्, ‘कतिपयले फिल्मको नाम ओगट्न मात्र दर्ता गर्छन् । कोही सुरुमा उत्साह बोकेर आउँछन्, तर पछि आर्थिक व्यवस्थापन गर्न नसकेर छायाङ्कनमै जाँदैनन् । अहिले बजारमा आर्थिक मन्दी पनि छ, व्यवस्थापन अस्तव्यस्त छ, त्यसैले धेरैका सपना कागजमै सीमित हुन्छन् ।’

मिडियामा चर्चा पाउनकै लागि बिनातयारी दर्ता गर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ छ । सुवेदीले केही व्यक्तिहरू राम्रो नाम दर्ता गरेर महँगोमा बेच्ने धन्दामा समेत लागेको र उनीहरूले एकैपटक धेरै नाम दर्ता गराउने गरेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप