सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समिति सभापति

सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध, यस्तो छ उनको राजनीतिक यात्रा

शुक्रबार, ०४ वैशाख २०८३, १३ : ४८
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सांसद भरत खड्का सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
  • सत्तापक्ष र विपक्षको समर्थनमा खड्काको मात्र उम्मेदवारी परेपछि उनी सभापतिमा चुनिएका हुन्।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन् । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए । बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो ।

शुक्रबार बसेको समिति बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका सदस्य सांसद योगेश गौचन थकालीले रातोपाटीलाई जानकारी दिए ।  

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सघाउने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको समितिमा बहुमत रहेको र विपक्षी दलहरूको समर्थन लेखा समिति सभापतिमा कांग्रेसलाई रहेकाले उनी निर्विरोध भएका हुन् । 

डोटीबाट प्रत्यक्ष निर्वाचित खड्का पुराना राजनीतिज्ञ हुन् । 

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा २०१४ सालमा जन्मिएका भरतबहादुर खड्का  २०३२ सालमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीति सुरु गरेका हुन् । 

२०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा प्रचार गरेका खड्का २०३९ सालको गाउँ पञ्चायत चुनावबाट २३ वर्षकै उमेरमा साबिक खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए ।  २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति भएका खड्का बहुदलपछि कांग्रेसको राजनीतिमा आए । २०४९ सालमा खड्का जिल्ला विकास समिति डोटीको उपसभापतिमा निर्वाचित भए । 

२०५४ सालमा खड्का जिल्ला विकास समिति डोटीको सभापतिमा निर्वाचित भए । २०६२/०६३ सालको जनआन्दोलनपछिको गणतन्त्रात्मक व्यवस्थामा पनि खड्का शक्तिमै रहे । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खड्का समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिए । २०७४ मा भएको निर्वाचनमा उनी डोटी–१ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए । खड्काले तत्कालीन बाम गठबन्धनका उम्मेदवार चक्रबहादुर मल्ललाई ६१४ मतले हराएका थिए । खड्काले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मत ल्याए । 

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका खड्कालाई सभापति गगन थापाले उम्मेदवार बनाएर डोटी पठाए । उनले निर्वाचन जितेर सांसद बने । खड्का १४ हजार  ८ सय ९७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका दीपक बहादुर धामीले १४ हजार १ सय १० मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप