सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए

सोमबार, ०८ असार २०८३, २० : ३१
सोमबार, ०८ असार २०८३

सारांश

  • दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म देशभरबाट १३ लाख ५१ हजार १६७ वटा व्यावसायिक प्रतिष्ठान तथा एकाइहरूको विवरण सङ्कलन भएको छ ।
  • यो सङ्ख्या अघिल्लो गणनाको तुलनामा झण्डै सवा चार लाखले बढेको छ, जसले आर्थिक तथा व्यावसायिक गतिविधिमा उल्लेख्य वृद्धि देखाएको छ ।
  • यस गणनाबाट प्राप्त तथ्याङ्कले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमान, राष्ट्रिय लेखाको आधार वर्ष परिमार्जन, नीति निर्माण र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ । हालसम्म देशभरबाट साढे १३ लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठान तथा एकाइहरूको विवरण सङ्कलन भएको छ । 'दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२' अन्तर्गत यस्तो तथ्यांक स‌कलन भएको हो । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालय पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो । 

गणना अन्तिम चरणमा भए पनि अझै संकलन रहेकोले यो संख्या अझै थपिने कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कागजी प्रश्नावली र विद्युतीय दुवै माध्यमबाट गरी हालसम्म कुल १३ लाख ५१ हजार १६७ वटा व्यवसायको तथ्याङ्क सङ्कलन गरिएको हो, जसमध्ये १३ लाख ४४ हजार ५०० वटा विवरण कागजी प्रश्नावलीमार्फत र ६ हजार ६६७ वटा विवरण ई–सेन्ससमार्फत प्राप्त भएका छन्।

तथ्याङ्क अघिल्लो गणनाको तुलनामा यसपटक आर्थिक तथा व्यावसायिक गतिविधिमा उल्लेख्य वृद्धि भएको देखाएको छ । यसअघि २०७५ सालमा सम्पन्न पहिलो आर्थिक गणनामा कुल ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानको मात्र विवरण सङ्कलन भएको थियो । यसपटक झण्डै सवा चार लाखले यस्तो संख्या बढेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने मूल नाराका साथ यो अभियान सञ्चालन गरिरहेको छ । नेपालको संविधान, तथ्याङ्क ऐन २०७९ लगायतका कानुनी व्यवस्थामा टेकेर २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म सञ्चालन हुने गरी जिल्लास्तरमा कार्यालय नै स्थापना गरेर गणना कार्य भइरहेको छ ।

यस गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ–संस्थाको सङ्ख्या, रोजगारी र उत्पादनको वास्तविक अवस्था चित्रण गर्नेछ ।

यसबाट प्राप्त तथ्याङ्कले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई थप विश्वसनीय बनाउन र राष्ट्रिय लेखाको आधार वर्ष परिमार्जन गर्न मद्दत पुग्नेछ। साथै, सरकारका नीति तथा विकास लक्ष्यको मूल्याङ्कन गर्न, लगानी प्रवर्द्धन गर्न र दीर्घकालीन आर्थिक योजना निर्माण गर्न यो तथ्याङ्क कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

यस बृहत् राष्ट्रिय अभियानका लागि देशभर ३ हजार ९०७ जना गणक, ५२६ जना सुपरीवेक्षक, ५०४ जना जिल्लास्तरीय व्यवस्थापक र ५३ जना केन्द्रस्तरीय व्यवस्थापक खटिएका छन् । गणनालाई सफल बनाउन अर्थ, गृहलगायतका सङ्घीय मन्त्रालयदेखि प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह र वडास्तरसम्मका संयन्त्रहरूले समन्वय र सहजीकरण गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप