सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु

आइतबार, ०६ वैशाख २०८३, २० : ०३
आइतबार, ०६ वैशाख २०८३

काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टाभित्र ९ जनाको मृत्यु भएको छ। सल्यान, बर्दिया, झापा, बैतडी र धनुषामा भएका यी दुर्घटनाले धेरै परिवारलाई शोकमा डुबाएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित सडकमा शनिबार साँझ एउटा जिप अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। थाराबाट कालिमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०२७१ नम्बरको जिप सडकबाट तल खसेको हो। दुर्घटनामा परी बनगाड कुपिण्डे–८ का ३० वर्षीय मन बहादुर थापा, ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्ण बहादुर पुनले ज्यान गुमाएका छन्। 

गम्भीर घाइते भएका उनीहरूमध्ये मन बहादुरको सुर्खेतस्थित मेहलकुना अस्पतालमा र अन्य ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चालकसहित २ जनाको नेपालगंजस्थित न्यूरो अस्पताल र अन्य ६ जनाको नर्सिङहोममा उपचार भइरहेको छ।

बर्दियाको गुलरिया नगरपालिका–७ मा आइतबार बिहान कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको बिएए ०३०५ नम्बरको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय भुमीराज लामिछाने र ५ वर्षीय बालक रियान्स खरेल छन्। 

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल बर्दिया र वृद्ध लामिछानेको नेपालगंजमा उपचारका क्रममा ज्यान गएको हो। ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको उपचार भइरहेको छ भने प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।

यसैगरी झापाको गौरादह नगरपालिका–१ सितापुरीचोकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दमक–९ का २७ वर्षीय पदम बहादुर मगरको मृत्यु भएको छ। दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.न.१–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। 

गम्भीर घाइते मगरको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

बैतडीमा पनि ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। सिगास गाउँपालिका–८ चौखानास्थित सडकमा लुपुरबाट देउलेख बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा सोही ठाउँका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै धनुषाको कमला नगरपालिका–७ सिघियामा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक २१ वर्षीय आकाश यादवको मृत्यु भएको छ। सिग्याही टोलबाट पुरानो कमला पुलतर्फ जाँदै गरेको स.१ त ५१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। 

दुर्घटनाका यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप