शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्रीले चीनबारे के बाेलेका थिए ?

सोमबार, ०७ वैशाख २०८३, ११ : ५०
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर नेपाल भ्रमणमा रहेका छन् ।
  • कपुरले नेपाल र बङ्गलादेश जस्ता देशहरू चीनको ऋण-जालको कूटनीतिबाट जोगिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
  • उनले दक्षिण एसियामा कुनै पनि एकल शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन् ।

काठमाडौँ । अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेश मन्त्री एस.पावल कपुर अहिले नेपाल भ्रमणमा रहेका छन् । उनले आफ्नो भेटघाट सुरु गरेका छन् ।  उनले आज अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमलगायत दूतावासका अधिकारीहरूसँग छलफल गरेका छन् ।  

उनले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम तय भएको छ ।  नेपालमा चुनाव सुरु हुनुअघि गत फरबरीमा कपुरले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने हाउस फरेन अफेयर्स उपसमितिमा  बङ्गलादेश र नेपालको आन्दोलन बारे जानकारी गराएका थिए । 

बङ्गलादेशमा पनि आन्दोलनको एक वर्षपछि तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ । जेनजी आन्दोलनपछि नेपालमा चुनाव हुन गइरहेको र चुनावबाट जो आए पनि त्यो सरकारसँग अमेरिकाले सहकार्य गर्ने अभिव्यक्ति उनले दिएका थिए ।

कपुरले भनेका थिए– ‘नेपालको सन्दर्भमा, हामी त्यहाँ सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनेमा विश्वस्त छौँ र जो विजयी भए पनि हामी उनीहरूसँग मिलेर काम गर्न तयार छौँ ।’ 

‘बङ्गलादेश र नेपालमा युवाहरूको नेतृत्वमा आन्दोलन सम्पन्न भएर नयाँ सरकार बनेको हो । यो परिवर्तनको सङ्केत हो’ उपसमिति बैठकमा उनले भनेका थिए । बैठकमा दुई विशाल देश भारत र चीनको बिचमा रहेको नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा रहेको कुरा पनि उनले राखेका थिए । उनले भनेका थिए, ‘उनीहरूलाई ऋण–जालको कूटनीतिबाट जोगाउनुपर्छ ।’

कपुरले दक्षिण एसियामा कुनै पनि एकल शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको धारणा पनि बैठकमा राखेको सञ्चार मध्यमहरूले जनाएका छन् । उनले बङ्गलादेश, नेपाल, माल्दिभ्स, श्रीलङ्का र भुटानमाथि चिनियाँ दबाब रहेको धारणा समेत बैठकमा राखेका थिए । साथै चीनले दिँदै आएको ऋणबारे पनि कपुरले चिन्ता व्यक्त गरेका थिए । 

बीआरआइमार्फत चीनले आफ्नो सुरक्षा स्वार्थ अगाडि बढाएको, साना राष्ट्रहरूलाई ऋणको जालमा फसाउने काम गरेको टिप्पणी उनले बैठकमा गरेको भारतीय न्युज एजेन्सी आईएएनएसले जनाएको छ । 

उनले बैठकमा दक्षिण एसियामा चीन वा अरू कुनै देशको एकल दबदबा नहोस् भन्दै त्यसलाई रोक्नु अमेरिकाको कर्तव्य रहेको धारणा समेत राखेका थिए । यो क्षेत्रमा अमेरिकाले आफ्नो सम्बन्ध विस्तार गर्नुका साथै व्यापारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा उनले राखेका थिए । 

उपसमितिको बैठक लगत्तै मन्त्री कपुरले बङ्गलादेशको भ्रमण गरेका थिए । जेनजी आन्दोलन पछिको सरकार गठन लगत्तै मन्त्री कपुरले नेपाल भ्रमण गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप