च्याटबोटले दिएको स्वास्थ्य सल्लाहमा विश्वास गर्नुहुन्छ ?
सारांश
- मानिसहरू स्वास्थ्य समस्याको समाधान खोज्न कृत्रिम बौद्धिकता अर्थात् एआई च्याटबोटको प्रयोग गरिरहेका छन् ।
- अनुसन्धानका अनुसार च्याटबोटले दिने स्वास्थ्य सल्लाहहरू सधैँ सही हुँदैनन् र यसले गलत जानकारी पनि दिन सक्छ ।
- विशेषज्ञहरूले एआई च्याटबोटलाई चिकित्सकीय सल्लाहको विकल्पका रूपमा नभई सूचनाको स्रोतका रूपमा मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
काठमाडौँ । म्यानचेस्टरकी एबी पछिल्लो एक वर्षदेखि आफ्नो स्वास्थ्यसम्बन्धी चिन्तासँग जुध्न एउटा अनौठो सहारा लिइरहेकी छिन्, कृत्रिम बौद्धिकता अर्थात् एआई च्याटबोट ।
डाक्टर भेट्न समय लाग्ने, अपोइन्टमेन्ट पाउन गाह्रो हुने अवस्थामा उनलाई सधैँ उपलब्ध रहने यो डिजिटल सहायक सहज विकल्प जस्तो लाग्छ । “योसँग कुरा गर्दा डाक्टरसँग छलफल गरिरहेजस्तो लाग्छ,” उनी भन्छिन् “समस्या सँगै समाधान खोजेको जस्तो अनुभव हुन्छ,”।
एबीजस्ता प्रयोगकर्ताका लागि च्याटबोटप्रतिको आकर्षण स्पष्ट छ । इन्टरनेटमा सामान्यतः खोज गर्दा प्रायः सबैभन्दा गम्भीर रोगहरूको सम्भावना देखिन्छ । यसले डर झन् बढाउँछ । तर च्याटबोटले व्यक्तिगत लक्षणअनुसार सन्तुलित उत्तर दिने प्रयास गर्छ ।
उनको अनुभवमा यसले कहिलेकाहीँ निकै उपयोगी काम पनि गरेको हुन्छ । एक पटक उनलाई मूत्रनलीको सङ्क्रमण भएको शङ्का लाग्दा च्याटबोटले फार्मेसीमा जान सुझाव दियो । त्यहाँ पुगेपछि उनलाई एन्टिबायोटिक दिइयो र समस्या समाधान भयो।
“यसले मलाई सही ठाउँमा पुर्यायो,” उनी भन्छिन् “मलाई लागेन कि मैले अनावश्यक रूपमा स्वास्थ्य सेवाको समय लिएको छु,” । तर, सबै अनुभव यतिकै सकारात्मक छैनन् । स्वास्थ्य सुझावका लागि एआई च्याटबोटको प्रयोगको राम्रो र नराम्रो दुवै पक्ष छन्।
जनवरीमा हाइकिङका क्रममा लडेर एबीको ढाडमा गम्भीर चोट लाग्यो । पीडा पेटसम्म फैलिन थालेपछि उनले च्याटबोटसँग सल्लाह मागिन् । उत्तर आयो—उनको कुनै अङ्ग फुटेको हुन सक्छ र तुरुन्तै आपतकालीन कक्ष जानुपर्छ । एबी अस्पताल पुगिन्। तर तीन घण्टापछि पीडा कम हुँदै गयो र आफू गम्भीर अवस्थामा नरहेको महसुस भएपछि घर फर्किइन् । “त्यो स्पष्ट रूपमा गलत थियो,” उनी भन्छिन् । उनको अनुभवले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ–के हामी एआई च्याटबोटहरूमा स्वास्थ्य सल्लाहका लागि भरोसा गर्न सक्छौँ ?
बेलायतका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर सर क्रिस व्हिटीका अनुसार अहिलेको अवस्था “जटिल” छ । मानिसहरूले च्याटबोट प्रयोग गरिरहेका छन् । तर त्यसले दिने उत्तरहरू “पर्याप्त राम्रो छैन,” । यी उत्तरहरू प्रायः आत्मविश्वासका साथ गलत हुने उनले चेतावनी दिएका छन्।
अक्सफोर्ड विश्वविद्यालयको ‘रिजनिङ विथ मेशिन्स’ प्रयोगशालाले गरेको अध्ययनले च्याटबोटको क्षमता र कमजोरी दुवै उजागर गरेको छ । जब चिकित्सकहरूले तयार पारेका पूर्ण विवरण भएका केसहरू च्याटबोटलाई दिइयो, तिनीहरूले ९५ प्रतिशतसम्म सही उत्तर दिए । अनुसन्धानकर्ता प्रोफेसर एडम महदीका अनुसार, “त्यो लगभग पूर्ण थियो,” ।
तर, वास्तविक जीवनमा चित्र फरक देखियो । १ हजार ३०० सहभागीलाई एउटै केस दिएर च्याटबोटसँग कुराकानी गर्दै निदान निकाल्न भन्दा सटीकता घटेर मात्र ३५ प्रतिशतमा झर्यो । यसको अर्थ, दुई तिहाइ अवस्थामा एआईले गलत सल्लाह दिएको थियो।
“मानिसहरूले कुरा गदा लक्षणहरू बिस्तारै बताउँछन्, केही कुरा भन्न छुटाउँछन्, वा भन्नु पर्ने कुरा पनि भन्न सक्दैनन्,” महदी भन्छन् “यही कारणले समस्या उत्पन्न हुन्छ,” ।
एउटा उदाहरणमा, मस्तिष्कमा हुने घातक रक्तस्राव (सबअराक्नोइड हेमरेज)का लक्षणहरू फरक तरिकाले प्रस्तुत गर्दा च्याटबोटले फरक सल्लाह दिएको थियो । कसैले “भयानक टाउको दुखाइ” भनेपछि सामान्य माइग्रेनको सल्लाह आयो । तर “अचानक अत्यन्तै गम्भीर टाउको दुखाइ” भनिँदा तुरुन्तै अस्पताल जान समेत भनियो । शब्दको सानो फरकले पनि जीवन मरणको निर्णयमा असर पार्न सक्ने यसले देखाउँछ ।
अझ भरपर्दो छ त इन्टरनेट सर्च ?
परम्परागत इन्टरनेट सर्च गर्नेहरू प्रायः आधिकारिक स्वास्थ्य वेबसाइटहरूमा पुगेर बढी राम्रो जानकारी पाएको अनुसन्धानले देखाएको छ । ग्लासगोकी डाक्टर मार्गरेट म्याककार्टनीका अनुसार च्याटबोट र इन्टरनेट सर्चबिच महत्त्वपूर्ण मनोवैज्ञानिक अन्तर छ ।
च्याटबोटले दिएको उत्तर व्यक्तिगत हुने अनि उपर्युक्त प्रयोगकर्ताका लागि बनाइएको जस्तो लाग्ने भएकोले त्यसले मानिसलाई बढी विश्वास गर्न प्रेरित गर्ने उनी भन्छिन्।
क्यालिफोर्नियास्थित लुन्डक्विस्ट बायोमेडिकल इनोभेसन संस्थाले गरेको अर्काे अध्ययनले च्याटबोटहरूले गलत सूचना पनि दिन सक्ने देखाएको छ । क्यान्सर, खोप, पोषणजस्ता विषयमा सोधिएका प्रश्नहरूमा आधाभन्दा बढी उत्तर समस्याग्रस्त पाइयो।
उदाहरणका लागि, “क्यान्सर निको पार्ने वैकल्पिक उपचार के हुन् ?” भन्ने प्रश्नमा एक च्याटबोटले प्राकृतिक उपचार सिफारिस गरेको थियो–जसको वैज्ञानिक आधार छैन । अनुसन्धानकर्ता डा. निकोलस टिलरका अनुसार, समस्या च्याटबोटको डिजाइनमै छ । “यी प्रणालीहरू आत्मविश्वासका साथ उत्तर दिन बनाइएका छन्,” उनी भन्छन् । त्यसले प्रयोगकर्तालाई झूटो विश्वास दिन सक्ने उनी भन्छन् ।
च्याटबोट विकास गर्ने कम्पनीहरूले भने प्रविधि निरन्तर सुधार भइरहेको बताउँछन् । उनीहरू चिकित्सकहरूसँग मिलेर परीक्षण र परिमार्जन गरिरहेको दाबी गर्छन्।
तर च्याटबोटलाई चिकित्सकीय सल्लाहको विकल्पको रूपमा नभएर जानकारी र शिक्षाका लागि प्रयोग गर्नुपर्ने उनी भन्छिन् । एबी अहिले पनि च्याटबोट प्रयोग गर्छिन् । तर उनी अब धेरै सचेत छिन् । “यसले भनेको कुरा पूर्ण रूपमा सही हुन्छ भन्ने होइन,” उनी भन्छिन् । सबै कुरा ‘पिन्च अफ साल्ट’का साथ लिनुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण