मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एउटा पालिकालाई दुई वटा बनाउन माग गर्दै सरोकार समिति गठन

सोमबार, ०७ वैशाख २०८३, १८ : ४२
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • कास्कीको मादी गाउँपालिकाका बासिन्दाले प्रशासनिक सुगमताका लागि पालिकालाई फुटाएर दुई वटा बनाउन माग गरेका छन्।
  • पालिकाको केन्द्र टाढा हुँदा स्थानीयले सास्ती पाएको भन्दै वडा नम्बर ८ देखि १२ सम्मका प्रतिनिधिहरूले सरोकार समिति गठन गरेका छन्।
  • समितिले भौगोलिक जटिलतालाई मध्यनजर गर्दै स्थानीय सरकार सञ्चालन ऐन बमोजिम पुनर्संरचनाका लागि सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकाका पूर्वी वडाका नागरिकहरूले पालिकालाई फुटाएर २ वटा बनाउन माग गरेका छन् । प्रशासनिक सुगमताका लागि गाउँपालिकाको पुनर्संरचना गर्न माग गरेका हुन् । 

गाउँपालिकाको केन्द्र टाढा हुँदा सामान्य कामका लागि पनि २ देखि ३ दिनसम्म धाउनुपर्ने बाध्यता रहेको भन्दै स्थानीयले गाउँपालिकालाई टुक्राएर नयाँ बनाउन दबाब समिति गठन गरेका छन् । 

मादी गाउँपालिकाका वडा नम्बर ८, ९, १०, ११ र १२ का राजनीतिक प्रतिनिधि, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको भेला बसेरै पालिका फुटाउनुपर्ने निर्णय गरेका हुन् । उक्त अभियानका संयोजक ओमप्रकाश गुरुङले मादी गाउँपालिकाको भौगोलिक अवस्था निकै जटिल रहेकोले छुट्याएर २ वटा बनाउँदा सबैलाई सहज हुने बताए ।

‘अहिलेको मादी गाउँपालिका पर्वत जिल्ला भन्दा पनि ठुलो छ । यति ठुलो भूगोल हुँदा नागरिकले सास्ती पाएका छन्,’ उनले भने, ‘सेवा लिनका लागि केन्द्रसम्म पुग्न २–३ दिनको समय लाग्छ, जुन न्यायोचित छैन ।’ उनी सोही पालिकाका जनप्रतिनिधि समेत हुन् । गुरुङका अनुसार हालको संरचनालाई ५ वटा वडा र ७ वटा वडा गरी दुई भागमा विभाजन गर्न प्रस्ताव गरिएको छ । जसमा वडा ८, ९, १०, ११ र १२ लाई समेटेर नयाँ संरचना बनाउनुपर्ने माग छ । यसका साथै भौगोलिक निकटताका आधारमा पोखरा महानगरपालिकाको वडा नम्बर २८ को माझठाना क्षेत्रलाई पनि यसैमा समेट्न सकिने सम्भावनाबारे छलफल भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्राचार र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधानलाई टेकेर यो माग अघि सारिएको भेलाले जनाएको छ । विशेष गरी मादीको पूर्वी भेगका नागरिकलाई हालको प्रशासनिक केन्द्र पायक नपर्ने र सेवा लिन असहज भएको स्थानीयको गुनासो छ ।

 मागलाई व्यवस्थित रूपमा सरकारसम्म पुर्‍याउन भेलाले सरोकार समिति र सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त समितिले आवश्यक कागजातहरू तयार गरी सङ्घीय मामिला मन्त्रालय र अन्य सम्बन्धित निकायहरूमा पुनर्संरचनाको निवेदन पेस गर्ने निर्णय गरेको छ। 

समितिले सोमबार (आजै) जिल्ला समन्वय समिति मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । समितिले देश–विदेशमा रहेका मादीबासीहरूलाई यो अभियानमा ऐक्यबद्धता जनाउन र हस्ताक्षर अभियानमार्फत सहयोग गर्न समेत अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप