आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सस्तोमा थाइल्याण्ड घुमाइदिने भन्दै लाखौँ ठगी

सोमबार, ०७ वैशाख २०८३, १८ : ४९
सोमबार, ०७ वैशाख २०८३

काठमाडौँ । सामाजिक सञ्जालमा आकर्षक वैदेशिक भ्रमणको विज्ञापन राखेर सर्वसाधारणलाई ठगी गर्ने एक युवक काठमाडौँबाट पक्राउ परेका छन् ।

पेप्सिकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रा.लि.का सञ्चालक निर्दोष सापकोटालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । 

इलामको सूर्योदय नगरपालिका वडा नं. १२ घर भई हाल पेप्सिकोला बस्ने २३ वर्षीय सापकोटाले फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्म प्रयोग गरी ठगी धन्दा चलाउँदै आएका थिए । 

सापकोटाले आफ्नो ट्राभल्सको पेजमार्फत थाइल्याण्ड भ्रमणको आकर्षक प्याकेज सार्वजनिक गरी सर्वसाधारणलाई लोभ्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उनले थाइल्याण्ड जानका लागि भिसा, हवाई टिकट, होटल बुकिङ र गाइडको समेत सुविधा उपलब्ध गराउने भन्दै एक हप्ताको प्याकेज बनाएर विज्ञापन गर्ने गरेका थिए ।

भ्रमणमा जान इच्छुक व्यक्तिहरूलाई स्काई वाल्क टुर्स एण्ड ट्राभल्सको नाममा रकम जम्मा गर्न लगाई पैसा हात परेपछि विभिन्न बहाना बनाएर झुलाउने र सम्पर्कविहीन हुने उनको शैली रहेको पाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटाले थाइल्याण्ड पठाउने बहानामा आफैँले नक्कली हवाई टिकट र नक्कली भिसा बनाएर मानिसहरूलाई झुक्यानमा पार्ने गरेको रहस्य खुलेको छ । 

हालसम्म उनले २६ जना व्यक्तिबाट कुल १६ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रमाण फेला परेको छ। पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँको पेप्सिकोलाबाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप