आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती

आइतबार, ०७ असार २०८३, ०४ : २०
आइतबार, ०७ असार २०८३

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उनकी दुई पत्नी सोही आश्रममा बस्छन् ।

दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो । दानबाट बनेको आश्रममा असहायका लागि सुविधाजनक आवास गृह छ । त्यहाँ १९ वर्षका युवादेखि ९९ वर्षसम्म पाकासम्मले आश्रय पाएका छन् ।

आश्रमका लागि रु १० करोडभन्दा बढी मूल्य पर्ने दुई बिघा पाँच कट्ठा जग्गा रामबहादुर प्रधान, उनकी पत्नी लक्ष्मी र पूर्णमायाले दान गरेका हुन् । दाता दम्पतीका सन्तान छैनन् । प्रधान दम्पतीले आफ्नो नाममा अलिकति सम्पत्तिसमेत बाँकी नराखी आश्रमलाई सर्वस्व दान गरेका हुन् । जग्गा र घर दुवै दान गरेर आफू आश्रममै बस्न सहमत हुने प्रधान दम्पतीजस्तो दाताको उदाहरण अन्यत्र पाउन मुस्किल हुने आश्रमका अभिभावक एवं साबिक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् ।

दानवीर रामबहादुर अहिले ८२ वर्षको भए भने उनका पत्नीहरू लक्ष्मी ७८ वर्ष र पूर्णमाया ६१ वर्षको छन् । आश्रम परिसरकै एउटा छेउमा प्रधान दम्पतीका लागि टिनको छानो, इँटाको गारो, बिजुली र खानेपानीको सुविधा भएको भुइँतले एउटा सानो घर आश्रमले निर्माण गरिदिएको छ । दाता दम्पतीको आजीवन भरण पोषणको दायित्व आश्रमले लिएको मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले बताए। अभिभावकका रूपमा प्रधान दम्पतीलाई आश्रमले संरक्षण, औषधोपचार र हेरचाह गर्दै आएको छ ।

विसं २०३२ मा दोलखा जिल्लाबाट प्रधान परिवार झापाको मेचीनगर–४ बाहुनडाँगीमा बसाइँ सर्ने क्रममा यहाँ आइपुगेको हो । दुई बिघा पाँच कट्ठा जग्गा खरिद गरेर रामबहादुरले घर बनाएका थिए । दुवै पत्नीबाट सन्तान नभएपछि पारिवारिक सहमतिमा सबै जग्गा र घर मानव सेवा आश्रमलाई दान दिएको दाता रामबहादुर प्रधानले बताए ।

सन्तान नभएपछि रामबहादुर र उहाँका दुवै पत्नीलाई बुढेसकालमा कसले रेखदेख गर्ला र यत्रो सम्पत्ति कसले संरक्षण गर्ला भन्ने चिन्ताले सताउन थालेको बेला स्थानीय व्यवसायी मोहन कटुवालले दाता खोजिरहेको मानव सेवा आश्रमका प्रतिनिधिसँग भेट गराइदिएका थिए । मानव सेवा आश्रमको उद्देश्य राम्रो लागेपछि प्रधान दम्पती सर्वस्व दान गर्न सहमत भएका थिए ।

“सन्तान नभएर के भयो र ?” जग्गादाता रामबहादुर प्रधान भन्छन्, “घरबारविहीन भएर अलपत्र परेका थुप्रै सन्तानका बीचमा हाँसीखुसी रमाउन पाइरहेका छौँ । आखिर यही आश्रमले हामीलाई आनन्दपूर्वक पालिरहेको छ । भएको सबै सम्पत्ति आश्रमलाई दिनुपर्दा कुनै दुःख छैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप