मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अरेन्ज क्यापमा क्लासेनकै वर्चस्व, पर्पल क्यापमा कम्बोज अगाडि

मङ्गलबार, ०८ वैशाख २०८३, ०९ : ५३
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • मुम्बई इन्डियन्सका तिलक वर्माले आईपीएल २०२६ मा सिजनको तेस्रो शतक प्रहार गरेका छन्।
  • अरेन्ज क्यापको दौडमा हेनरिक क्लासेन २८३ रनका साथ शीर्ष स्थानमा रहेका छन्।
  • पर्पल क्यापको प्रतिस्पर्धामा १३ विकेटसहित अंशुल कम्बोज अग्रस्थानमा रहेका छन्।

नयाँ दिल्ली । मुम्बई इन्डियन्सका ब्याटर तिलक वर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सिजनको तेस्रो शतक प्रहार गरेका छन्। सोमबार राति गुजरात टाइटन्सविरुद्धको खेलमा मुम्बईलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तिलक यो सिजन शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका हुन्। 

यसअघि सञ्जु सामसन र क्विन्टन डी ककले मात्र यो उपलब्धी हासिल गरेका थिए। यद्यपि, शतक प्रहार गरे पनि तिलक अरेन्ज क्यापको दौडमा भने निकै पछाडि रहेका छन्। उनको खातामा हालसम्म १४४ रन मात्र छ, जबकि शीर्ष स्थानमा रहेका ब्याटरले २८३ रन बनाइसकेका छन्।

सोमबारको खेलपछि सर्वाधिक रन बनाउने ब्याटरको सूची अर्थात् अरेन्ज क्याप तालिकामा हेनरिक क्लासेनको अग्रता कायम छ। सनराइजर्स हैदरावादका क्लासेन २८३ रनसहित शीर्ष स्थानमा छन्। 

गुजरातका कप्तान शुभमन गिलले मुम्बईविरुद्ध १४ रन मात्र बनाउन सके पनि उनी २६५ रनसहित दोस्रो स्थानमा रहँदै क्लासेनलाई पछ्याइरहेका छन्। त्यस्तै, तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहली छन् भने राजस्थान रोयल्सका वैभव सूर्यवंशी चौथो र बेंगलुरुका रजत पाटीदार पाँचौँ स्थानमा रहेका छन्।

अरेन्ज क्यापको शीर्ष १० भित्र पञ्जाब किंग्सका कुपर कोनोली र राजस्थानका यशस्वी जयसवाल समान २२३ रनसहित छैटौँ र सातौँ स्थानमा छन्। त्यसपछिका स्थानहरूमा क्रमशः हैदरावादका इशान किशन, पञ्जाबका प्रियान्श आर्य र प्रभसिमरन सिंह रहेका छन्। 

बलिङतर्फ अर्थात् पर्पल क्यापको दौडमा चेन्नाई सुपर किंग्सका अंशुल कम्बोज १३ विकेटसहित शीर्ष स्थानमा सुरक्षित छन्। उनलाई गुजरातका प्रसिद्ध कृष्णले १२ विकेटका साथ कडा टक्कर दिइरहेका छन्। 

सोमबार मुम्बईविरुद्ध ३३ रन खर्चेर ३ विकेट लिएका गुजरातका कागिसो रबाडाले पनि आफ्नो विकेट संख्या १० पुर्‍याएका छन्। रबाडासँगै बेंगलुरुका भुवनेश्वर कुमार र राजस्थानका रवि बिश्नोई पनि समान १० विकेटका साथ शीर्ष १० को प्रतिस्पर्धामा उत्रिएका छन्। 

लखनउ सुपर जाइन्ट्सका प्रिन्स यादव पनि सुरुवाती तीनभित्रै अटाउन सफल भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप