सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने

मङ्गलबार, ०८ वैशाख २०८३, १९ : ०१
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको वृद्धि गरिएको भाडा विद्युतीय सवारीमा लागू नहुने स्पष्ट पारेको छ।
  • विद्युतीय सवारीका चालकले बढी भाडा लिएको गुनासो आएपछि विभागले पुरानै भाडादर कायम राख्न निर्देशन दिएको छ।
  • निर्देशन पालना नगर्ने यातायात व्यवसायीलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

काठमाडौँ । यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारी साधनको भाडा विद्युतीय सवारीको हकमा लागू नहुने स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै डिजेल इन्जिन प्रयोग हुने सवारी साधनको मात्र भाडा वृद्धि गरिएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिएको थियो । तर, उक्त वृद्धि केवल डिजेलबाट चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको हकमा मात्र भएको विभागले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागू नहुने व्यहोरा अनुरोध गर्दछौँ । विद्युतीय सवारीमा साविककै भाडादर कायम रहेको छ ।’

पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा यातायात सेवा प्रदायकले बढेको भाडा असुल गरिरहेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो प्राप्त भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो ।

विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट प्रदान गर्न निर्देशन दिएको छ । यदि विभागको यस निर्देशन विपरीत बढी भाडा लिएको वा नियम पालना नगरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

673478054_1649928646313974_6965477686910709651_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप