मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेनीमा करदाता सेवा सुरु

मङ्गलबार, ०८ वैशाख २०८३, २३ : ०२
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • बेनी नगरपालिकामा करदाता सेवा सुरु भयो, जसले करसम्बन्धी काम सहज बनाउनेछ।
  • सेवा सुरु भएपछि सेवाग्राहीलाई बागलुङ जानुपर्ने झन्झट हट्नेछ र समयको बचत हुनेछ।
  • स्थानीय सरकारलाई बलियो बनाउन र सुशासन कायम गर्न यो सेवा प्रभावकारी हुनेछ।

म्याग्दी । बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक मंगलबारदेखि करदाता सेवा सुरु भएको छ । बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्नेसम्बन्धी सेवा सुरु भएको हो ।

यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राहीहरू आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए । करदातासम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालबिच समझदारी पत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुआत गरिएको हो । सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो ।

सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सिलवालले बताए ।

उनका अनुसार कर कार्यालय बागलुङको कार्यक्षेत्र भएका जिल्लाहरू बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका स्थानीय तहहरूमध्ये बागलुङको गलकोट नगरपालिका, पर्वतको पैँयु गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाबाट सेवा सुरु भएको छ । अन्य जिल्लाका पालिकाहरूमा पनि बिस्तारै सेवा विस्तार गरिने योजना रहेको सिलवालले बताए ।

बेनी नगरपालिकामा करदाता सेवा प्रदान गर्न नगरका राजस्व शाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप