सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रगढी महिला गोल्डकपः एपीएफ क्वाटरफाइनलमा

बुधबार, ०९ वैशाख २०८३, ०० : ३८
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • एपीएफले ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबलाई ६-० गोलले हरायो।
  • रश्मीकुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन्।
  • एपीएफले अब क्वाटरफाइनलमा सङ्कटा फुटबल क्लबसँग खेल्नेछ।

झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै एपीएफले सहज जित निकालेको हो । एपीएफको जितमा रश्मीकुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् भने रेनुका नगरकोटी र अनिता केसीले एक–एक गोल गरिन् । खेलको २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै थप पाँच गोल गरेको थियो ।

दोस्रो हाफको ४१औँ मिनेटमा घिसिङले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको एक मिनेटपछि रेनुका नगरकोटीले गोल गर्दै अग्रता फराकिलो पारिन् । ५२औँ मिनेटमा घिसिङले ह्याट्रिक पूरा गरिन् भने ५४औँ मिनेटमा अनिता केसीले अर्को गोल थपिन् । ५६ औँ मिनेटमा घिसिङले व्यक्तिगत चौथो गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाइन् ।

पद्मा स्पोर्टिङ क्लबले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा सान्त्वना गोलबाट समेत वञ्चित रह्यो । खेलको ‘प्लेयर अफ द म्याच’ रश्मीकुमारी घिसिङ घोषित भइन् । उनले रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा एपीएफले सङ्कटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार हुने क्वाटरफाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप