चिकित्सकको अनुमतिसँगै स्टार्क दिल्ली क्यापिटल्ससँग जोडिँदै
सारांश
- चिकित्सकको अनुमति पाएसँगै अस्ट्रेलियाली बलर मिचेल स्टार्क आईपीएल खेल्न दिल्ली क्यापिटल्ससँग जोडिने भएका छन्।
- स्टार्क मे १ मा राजस्थान रोयल्स विरुद्ध हुने खेल अगाडि नै टोलीमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
- ढाडको चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका कप्तान प्याट कमिन्स पनि राजस्थान विरुद्धको खेलबाट मैदान फर्किने तयारीमा छन्।
काठमाडौँ । विश्व क्रिकेटका घातक बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि तयार भएका छन् ।
काँध र कुहिनोको चोटका कारण मैदान बाहिर रहेका ३६ वर्षीय स्टार्कलाई चिकित्सकहरूले यात्राका लागि अनुमति दिएसँगै उनी दिल्ली क्यापिटल्सबाट खेल्न भारत आउने निश्चित भएको हो ।
मे १ मा राजस्थान रोयल्स विरुद्ध हुने खेलअघि नै उनी टोलीमा उपलब्ध हुने अपेक्षा गरिएको छ । गत जनवरीदेखि मैदान बाहिर रहेका स्टार्कले एसेज शृङ्खलामा ऐतिहासिक प्रदर्शन गर्दै ५ टेस्टमा ३१ विकेट लिएका थिए ।
अत्यधिक कार्यभारका बिच सिड्नी सिक्सर्सबाट बिग बास लिग (बीबीएल) खेल्ने क्रममा क्याच लिने प्रयास गर्दा उनी घाइते हुन पुगेका थिए । फेब्रुअरीमा आराम गरेर पुनः प्रशिक्षणमा फर्कँदा दुखाइ महसुस भएपछि उनको आईपीएल आगमनमा ढिलाइ भएको थियो ।
आफ्नो अनुपस्थितिबारे सामाजिक सञ्जालमा फैलिएका ‘गलत सूचना’ प्रति उनले केही समयअघि आक्रोश समेत पोखेका थिए। सिड्नीमा एक हप्तादेखि दुखाइ बिना नै बलिङ गरिरहेका स्टार्क शुक्रबार भारत उड्ने तालिका छ ।
यता सनराइजर्स हैदराबादका लागि पनि सुखद खबर छ । अस्ट्रेलियाली टेस्ट तथा एकदिवसीय कप्तान प्याट कमिन्स शनिबार राजस्थान रोयल्स विरुद्धकै खेलमार्फत मैदान फर्कने तयारीमा छन् । ढाडको चोटका कारण सन् २०२५ को जुलाईदेखि क्रिकेटबाट टाढा रहेका कमिन्सले लामो समयपछि प्रतिस्पर्धात्मक खेल खेल्न लागेका हुन् ।
स्टार्क, कमिन्स र जोस हेजलवुडजस्ता मुख्य बलरहरू पूर्ण फिट हुनु क्रिकेट अस्ट्रेलियाका लागि ठुलो राहतको विषय बनेको छ। आगामी १८ महिना अस्ट्रेलियाका लागि निकै व्यस्त र चुनौतीपूर्ण रहनेछ ।
सन् २०२६ को अगस्टदेखि २०२७ को अगस्टसम्म अस्ट्रेलियाले २० वटा टेस्ट खेल्ने तालिका छ भने त्यसलगत्तै एकदिवसीय विश्वकप आयोजना हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण