विश्वकपमा इरानको स्थान इटालीलाई दिने अमेरिकी प्रस्ताव फिफाद्वारा अस्वीकार
काठमाडौँ । आगामी जुन महिनादेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकप फुटबलमा इरानको सहभागितालाई लिएर नयाँ कूटनीतिक विवाद सतहमा आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत पाओलो जाम्पोलीले युद्धको चपेटामा परेको इरानलाई हटाएर इटालीलाई विश्वकपमा समावेश गर्न प्रस्ताव गरे पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले त्यसलाई अस्वीकार गरेको हो।
अमेरिका र इजरायलसँगको जारी तनावका कारण इरानको सहभागितामा संशय उत्पन्न भइरहेका बेला यस्तो प्रस्ताव आएको हो। विशेष दूत जाम्पोलीले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै आफूले राष्ट्रपति ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई इरानको साटो इटालीलाई विश्वकपमा ल्याउन सुझाव दिएको पुष्टि गरेका छन्।
लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको चार पटकको च्याम्पियन इटालीलाई प्रतिष्ठाको आधारमा समावेश गरिनुपर्ने उनको तर्क छ। तर, फिफाले आधिकारिक रूपमा यसमा टिप्पणी नगरे पनि अध्यक्ष इन्फान्टिनोले अघिल्लो हप्ता दिएको ‘इरानी टोली पक्कै आउनेछ’ भन्ने बयानलाई नै आफ्नो अडानको रूपमा प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो प्रस्ताव केवल खेलकुदमा मात्र सीमित छैन। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पोप लियो चौधौँप्रति ट्रम्पले गरेको टिप्पणीको आलोचना गरेपछि बिग्रिएको सम्बन्ध सुधार्न जाम्पोलीले यो योजना अघि सारेका हुन्।
यद्यपि, इन्फान्टिनोले भने वासिङ्टनमा बोल्दै इरानले छनोट चरण पार गरेर आएको र खेलकुदलाई राजनीतिभन्दा बाहिर राख्नुपर्नेमा जोड दिएका छन्। उनले इरान एक उत्कृष्ट टोली भएको र आफ्ना जनताको प्रतिनिधित्व गर्न उनीहरू विश्वकप खेल्न इच्छुक रहेको बताएका छन्।
इरानले यसअघि सुरक्षाको कारण देखाउँदै मेक्सिकोमा आफ्ना खेलहरू सार्न फिफासँग आग्रह गरेको थियो। तर, फिफाले निर्धारित तालिका अनुसार नै अमेरिकामै खेलहरू हुने स्पष्ट पारेको छ।
इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले पनि इरान विश्वकपका लागि पूर्ण रूपमा तयार रहेको बताएकी छिन्। इरानले जुन १५ र २१ मा लस एन्जलसमा क्रमशः न्युजिल्यान्ड र बेल्जियमको सामना गर्ने तालिका छ भने जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्नेछ।
फिफाको नियमावली अनुसार कुनै पनि टोली बाहिरिएको खण्डमा अर्को टोली प्रतिस्थापन गर्ने अन्तिम अधिकार फिफासँगै सुरक्षित रहन्छ। तर, फिफाले हालको परिस्थितिमा इरानलाई हटाएर इटालीलाई ल्याउने कुनै मनसाय देखाएको छैन।
यसअघि मार्च महिनामा इरानले सुरक्षा चिन्ताको कारण देखाउँदै विश्वकपबाट नाम फिर्ता लिने संकेत गरे पनि अहिले सरकार र फुटबल संघ सहभागिताका लागि सकारात्मक देखिएका छन्। राष्ट्रपति ट्रम्पले पनि इरानलाई विश्वकपमा स्वागत छ भन्दै आएका छन्, तर उनीहरूले आफ्नै सुरक्षाको ख्याल गर्नुपर्ने आशय व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण