आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बार्सिलोनालाई ठुलो झट्का : चोटका कारण यामलले सिजनका बाँकी खेल गुमाउने

शुक्रबार, ११ वैशाख २०८३, ०६ : ५५
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • स्पेनिस युवा स्टार लामिन यामलले चोटका कारण बार्सिलोनाको यो सिजनका बाँकी खेलहरू गुमाउने भएका छन्।
  • सेल्टा भिगोविरुद्धको खेलमा ह्यामस्ट्रिङमा गम्भीर चोट लागेपछि यामल मैदान बाहिर रहन बाध्य भएका हुन्।
  • क्लबले उपचार प्रक्रिया सुरु गरिसकेको र उनी जुन महिनामा हुने विश्वकपसम्म निको हुने अपेक्षा गरिएको छ।

बार्सिलोना । स्पेनिस युवा स्टार लामिन यामलले चोटका कारण बार्सिलोनाको यो सिजनका बाँकी सबै खेलहरू गुमाउने भएका छन्। गत बुधबार सेल्टा भिगोविरुद्धको १–० को जितका क्रममा १८ वर्षीय यामलको देब्रे खुट्टाको ह्यामस्ट्रिङमा गम्भीर चोट लागेको हो।

खेलको ४० औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए लगत्तै उनले बेन्चतर्फ इशारा गर्दै मैदानमा थचक्क बसेका थिए। पीडाले छटपटाउँदै देब्रे खुट्टा समातेका यामललाई मेडिकल टोलीले सहारा दिएर मैदानबाहिर पुर्‍याएको थियो।

बार्सिलोनाले बिहीबार यामलको चोटको अवस्था सार्वजनिक गर्दै उनी अब सिजनका बाँकी खेलमा मैदान उत्रिन नसक्ने पुष्टि गरेको छ। क्लबका अनुसार उनलाई निको हुन केही समय लाग्ने भए पनि आगामी जुनमा हुने विश्वकपसम्म उनी पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ।

क्लबले हाल उनलाई परम्परागत उपचार पद्धतिमा राखेको जनाएको छ। आफू मैदान बाहिर रहनुपर्ने खबरले निकै मर्माहत भएको बताउँदै यामलले सामाजिक सञ्जालमा आफ्ना सहकर्मीहरूलाई मैदान बाहिरबाटै समर्थन गर्ने र आगामी सिजन अझ बलियो भएर फर्कने उल्लेख गरेका छन्।

ला लिगाको साविक विजेता बार्सिलोना हाल अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको चिरप्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ९ अंकले अगाडि रहेको बार्सिलोनाले मे १० मा घरेलु मैदानमा मड्रिडको सामना गर्दैछ।

यामलको अनुपस्थिति बार्सिलोनाका लागि मुख्य टाउको दुखाइ बने पनि विश्वकप अगाडि उनी ठिक हुने खबरले स्पेनी फुटबल समर्थकहरूलाई भने केही राहत दिएको छ। विश्वकपको समूह ‘एच’ मा रहेको स्पेनले जुन १५ मा केप भर्डसँग खेल्दै आफ्नो अभियानको सुरुवात गर्ने तालिका छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप