छवि बदल्दै सुहाना
सारांश
- अभिनेत्री सुहाना थापा 'परालको आगो' फिल्मबाट आफ्नो 'लभर गर्ल'को छवि परिवर्तन गर्दै ग्रामीण परिवेशको पात्रका रूपमा प्रस्तुत हुँदैछिन्।
- सुहानाले यस फिल्मको 'गौँथली' चरित्रलाई जीवन्त बनाउन झन्डै एक वर्षको तयारी र गाउँले जीवनशैलीमा घुलमिल हुन निकै मेहनत गरेकी छिन्।
- मनोविज्ञानमा स्नातकोत्तर पूरा गरेकी सुहाना अब आफूलाई केवल अभिनेत्री नभई एक सचेत कलाकारका रूपमा स्थापित गर्न चाहन्छिन्।
काठमाडौँ । अभिनेत्री सुहाना थापाको फिल्म क्षेत्रमा ‘लभर गर्ल’को छवि छ । डेब्यु फिल्म ‘ए मेरो हजुर ३’बाट उनले यो छवि बनाएकी हुन् ।
त्यसपछिको फिल्म ‘ए मेरो हजर ४’मा पनि उनी त्यस्तै भूमिकामा देखा परिन् । अहिले भने उनी आफ्नो छवि परिवर्तन गर्दैछिन् ।
शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’बाट । फिल्ममा उनले ग्रामीण परिवेशको पीडित तर दह्रो चरित्र ‘गौँथली’को भूमिका निर्वाह गरेकी छन् ।
‘परालको आगो’ गुरुप्रसाद मैनालीको चर्चित नेपाली साहित्य कृति हो । १९९० (सन् १९३०)को दशकमा लेखिएको यो एउटा यस्तो कथा हो, जसले नेपाली ग्रामीण समाजको दाम्पत्य जीवन र झगडा देखाइएको छ ।
त्यो समयमा लखिएको कथाको मुख्य पात्र ‘गौँथली’लाई वर्तमान समयमा पर्दामा जीवित गराउनु निकै कठिन थियो । ग्ल्यामरस भूमिकाबाट सीधा ग्रामीण परिवेशको पीडित, दह्रो चरित्रमा उत्रिनु उनका लागि अर्को चुनौती थियो ।
‘गौँथली’ एउटा डिप्ली साइकोलोजिकल (गहिरो मनोवैज्ञानिक) महिला हो,’ सुहाना भन्छिन्, ‘१९९० को दशकमा गुरुप्रसाद मैनालीले जुन नारी संवेदनालाई समात्नुभएको थियो, त्यो आज पनि समाजमा उत्तिकै सान्दर्भिक छ ।’

चरित्रलाई बुझ्न र आफूमा ढाल्न झन्डै एक वर्षको समय आफूले खर्चिएको उनले सुनाइन् । ‘मेरो बुझाइमा गौँथली केवल एउटा पात्र होइन, उनी समाजमा दबिएर रहेका र भित्रभित्रै सङ्घर्ष गरिरहेका हजारौँ महिलाहरूको प्रतिनिधि हुन्,’ उनको बुझाइ छ ।
‘परालको आगो’मार्फत सुहाना दुई वर्षको ग्यापपछि पर्दामा देखिँदै छिन् । यसबिच पर्दामा छाउँदा दर्शकका लागि केही नयाँ र फरक कुरा लिएर आउनुपर्छ भन्ने उनको सोच थियो । त्यो सोच ‘परालको आगो’ले पूरा गरिदिन्छ भन्नेमा उनी आशावादी छिन् ।
‘फिल्म आफैमा एउटा ठुलो जिम्मेवारी बोकेको कथामा छ । यो ऐतिहासिक साहित्यिक कृतिमा आधारित भएकाले यसमा मैले निकै सकारात्मक र जिम्मेवार भएर काम गरेकी छु,’ उनी थप्छिन्, ‘फिल्म रिलिज हुँदै गर्दा अलिअलि उत्साह, अलिअलि खुसी दुवै छ ।’
सुहाना दुई वर्ष रजतपटबाट त्यसै टाढा रहेकी थिइनन्, यो ग्याप हुनुको मुख्य कारण पढाइ थियो । भर्खरै मनोविज्ञानमा स्नातकोत्तर सकाएकी उनलाई आमा झरनाले पहिले अध्ययन सकाउन सुझाएकी थिइन् । ‘मम्मी बाबा (निर्माता सुनिल कुमार थापा)को इच्छा थियो । पहिले पढाइ सकाऊ, त्यसपछि मात्र करिअरमा पूर्ण रूपले लागूँ,’ उनले भनिन्, ‘शिक्षाले एउटा छुट्टै दृष्टिकोण दिने रहेछ, जसले अभिनयलाई बुझ्न झन् मद्दत गर्छ भनेर उहाँहरूले भन्नुभयो ।’ आफू अहिले पनि अमेरिकाको अनलाइन सेसनहरू लिने र ३ बजे बिहानै उठेर पढ्ने गरेको उनले सुनाइन् ।
लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहानाको अपोजिटमा प्रकाश सपुत छन् । यो फिल्ममा उनले सौगात मल्लसँग पनि काम गर्ने अवसर प्राप्त गरिन् ।
सुहानाले ‘परालको आगो’ कथा फिल्मअघि पढेको भने थिइनन् । माध्यमिक शिक्षा पाठ्यक्रममा समावेश यो कथा नेपालका प्राइभेट बोर्डिङ स्कुलमा नभएका कारण आफू त्यसबाट वञ्चित हुनुपरेको उनको गुनासो छ । यस्तो राम्रो कथा पहिले पढ्न नपाए पनि अहिले अभिनय गर्न पाउनु आफ्नो लागि ठुलो उपलब्धि मान्छिन् उनी ।
सहरको सुविधासम्पन्न परिवारमा हुर्किएकी सुहानालाई गाउँले जीवनको खासै अनुभव छैन, उनको जीवनशैली र गौँथलीको जीवनशैलीबिच ठुलो खाडल छ ।
‘मलाई बाह्य रूपमा गाउँले देखिन चुनौती थियो,’ उनी ती दिन सम्झिन्छिन्, ‘सुटिङ सुरु हुनुभन्दा झन्डै २०–२५ दिन अगाडि नै गाउँको परिवेशमा घुलमिल हुन, गाउँको भाषा सिक्न, त्यहाँकै लुगा लगाउन र गाउँका महिलाहरूको व्यवहार नियाल्न पुगेँ,’ सुटिङको एक प्रसङ्ग उनी सुनाउँछिन्, ‘सुरुमा मलाई डोको बोक्न मान्छे चाहिन्थ्यो, तर सुटिङको अन्तिम दिनतिर म आफैँ डोको बोकेर टेक लिन सक्ने भएँ । त्यो मेरो लागि एउटा ठुलो उपलब्धि थियो ।’
सुहानाका लागि ‘परालको आगो’को अर्को चुनौती होम प्रोडक्सन बाहिरको पहिलो प्रोजेक्ट हो । यसअघि दुवै फिल्म गरेकी सुहानाको विषयमा धेरैलाई लाग्न सक्छ– घरको फिल्मभन्दा बाहिर काम गर्दा दबाब बढी हुन्छ । तर सुहानाले यसलाई फरक रूपमा अनुभव गरिन् । ‘फिल्म युनिट राम्रो भएकाले बाहिर काम गर्दा पनि मलाई आफ्नै परिवारसँग काम गरेजस्तो लाग्यो, कतै पनि बिरानो महसुस भएन,’ उनले खुसी साटिन् ।
लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहानाको अपोजिटमा प्रकाश सपुत छन् । यो फिल्ममा उनले सौगात मल्लसँग पनि काम गर्ने अवसर प्राप्त गरिन् । दुवै अभिनेतासँग काम गर्न निकै सजिलो र सिक्ने पाएको उनी बताउँछिन् ।

आजको युगमा जहाँ डिभोर्सका घटनाहरू सामान्य बन्दै गएका छन्, त्यहाँ ‘परालको आगो’ जस्तो पुरानो कथा कत्तिको सान्दर्भिक छ त ? यो प्रश्नमा सुहानाको आफ्नै तर्क छ । उनी भन्छिन्, ‘हो, डिभोर्स रेट बढेको होला, तर अझै पनि हाम्रो समाजको ठुलो हिस्सामा ‘गौँथली’हरू छन् । सहरमा होस् वा गाउँमा, कैयौँ महिला अझै पनि श्रीमान्को हिंसा र अपमान खपेर बसिरहेका छन् । उनीहरूका लागि यो फिल्म एउटा ‘एक्सपोजर थेरापी’जस्तै हुनेछ ।’ फिल्मले कुनै कृत्रिम सन्देश दिनुभन्दा पनि समाजको यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गरेको उनको दाबी छ ।
सुहानाले यो फिल्मबाट पनि व्यावसायिक अपेक्षा गरेकी छन् । कुनै पनि कलाकारका लागि फिल्म चल्नु र आफ्नो अभिनयको प्रशंसा हुनु दुवै महत्त्वपूर्ण हुने उनको धारणा छ । यो फिल्मको हकमा भने उनले समीक्षात्मक सफलता अलि बढी आश गरेकी छन् ।
‘ए मेरो हजुरजस्तो फिल्म व्यावसायिक रूपमा सफल हुनुपर्छ भन्ने लाग्छ, तर परालको आगोले चाहिँ समीक्षकहरूको मन जितोस् भन्ने मेरो चाहना छ,’ उनी थप्छिन्, ‘फिल्मले नाफा त कमाओस् नै, तर दर्शकले यसलाई एउटा बौद्धिक फिल्मका रूपमा सम्झिउन् भन्ने म चाहन्छु ।’
सुरुका दिनदेखि नै उनलाई विरासत धान्ने ठुलो दबाब थियो, त्यसैले पहिलो फिल्म ‘ए मेरो हजुर ३’ गर्दा उनी निकै डराएकी थिइन् । तर अहिले दुई वर्षको अन्तरालपछि पनि देखिँदा उनमा झनै आत्मविश्वास छ । ‘मास्टर्स सकेर शैक्षिक रूपमा पनि परिपक्व भएकी छु । अब केवल अभिनेत्री होइन, एउटा सचेत कलाकारका रूपमा आफूलाई चिनाउन चाहन्छु,’ उनले कारण खोलिन् ।
पढाइका कारण केही समय ग्याप भए पनि अब उनी लगातार फिल्ममा देखिने योजनामा छन् । ‘परालको आगो’पछि उनले ‘योद्धा’नामक फिल्म गरेकी छन् । जसमा उनले गम्भीर र हिंसाको पीडा खेपेकी महिलाको भूमिका निर्वाह गरेकी छन् । त्यसैले अबको फिल्ममा उनी फेरि एक पटक ‘लभर गर्ल’को भूमिकामा देखिन चाहन्छिन् । उनी हाँस्दै भन्छिन्, ‘अब मलाई फेरि ए मेरो हजुरकै जस्तो रमाइलो भूमिकामा फर्किन मन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण